टानमा बढ्यो चुनाबी सरगर्मी, नेतृत्व लिन दर्जनबढीको दौड

डिसी नेपाल
६ भदौ २०७६ २१:१८

काठमाडौं । ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) को साधारणसभाको मिति नजिकिँदै गर्दा अध्यक्ष पदको लागि मात्रै दर्जनबढी आकांक्षी देखिएका छन्।

निर्वाचनका लागि ३ वटा प्यानलबाट १३ जना आकांक्षी देखिएका छन्। जसमध्ये अध्यक्ष पदका लागि नेकपा निकटमात्रै ९ जना, नेपाली काँग्रेस निकट ३ जना र शेर्पा ट्रेकिङ व्यवसायीबाट १ जना गरि १३ जना आकांक्षी देखिएको टानका सदस्य गोपाल श्रेष्ठले बताए।

अध्यक्ष पदका लागि नेकपा निकट हरि धरेल, नामानिवा शेर्पा, तेज बहादुर गुरुङ, पूर्णचन्द भूषाल, भानु ढकाल, कुमार थापा ‘अञ्जन’, मुक्ति पाण्डे र गणेश सिम्खडा आकांक्षी छन्।

त्यस्तै नेपाली काँग्रेस निकट खुम सुवेदी, मोहन लम्साल, संगम शेर्पा र शेर्पा ट्रेकिङ्ग व्यवसायीबाट कामिरिङ्जी शेर्पाले अध्यक्ष पदको लागि चुनाब लड्ने भनिरहेका छन्।

यहि भदौ २० गते हुने साधारण सभाबाट टानले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष र नौ सदस्य गरी १७ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने भएको छ।

एक हजार सात सय ७९ साधारण सदस्य रहेको टानमा गएको आर्थिक वर्षमा मात्रै १ सय ३० जना नयाँ सदस्यहरु थपिएका छन्। टानका सदस्य श्रेष्ठले भने, ‘गत वर्षमा मात्रै १ सय ३० जना सदस्यहरु थपिएका छन्। मतदानका लागि सदस्यता लिएको ६ महिना पुगेको हुनुपर्ने हुँदा कुल सदस्यमध्ये केही सदस्यहरु मतदानको लागि कम हुन सक्छन्।’

१३ गते साँझ ५ बजेसम्म सदस्यता नवीकरण लागि खुला गरिएकोमा शुक्रबारसम्म मात्रै १२ सय भन्दाबढीले सदस्यता नवीकरण गरिसकेका छन्। बाँकी नविकरण गर्न छुटेका सदस्यहरुलाई पनि समयमै नविकरण गर्न टानले अनुरोध गरेको छ।

९ जना सदस्यको उम्मेदवारीका लागि टानले अन्तिम दरखास्त मिति भदौ १६ गते २ बजे सम्मलाई तोकेको छ। साथै दरखास्त दस्तुर पनि तोकेको छ। जसमा अध्यक्ष पदको लागि ६० हजार, अन्य पदाधिकारीका लागि ४० हजार र सदस्यहरुका २५ हजार उम्मेदवारी दरखास्त शुल्क तोकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *