कश्मीर मामिलामा नेपालको भूमिका खोज्दै पाकिस्तान

डिसी नेपाल
६ भदौ २०७६ २१:५२

काठमाडौं । कश्मीर मामिलामा भारतीय कदमबारे दुई हप्तानसम्म चुप रहेको नेपालले भारतीय विदेशमन्त्री एस जयशंकरको काठमाडौं भ्रमणको अघिल्लो दिन पहिलो पटक औपचारिक रुपमा मुख खोल्यो।

लामो समय चुप रहेको नेपाल भारतीय विदेशमन्त्री आउनुभन्दा केही पहिलामात्र बोलेपछि कश्मीर मामिलाको अर्को पक्ष पाकिस्तान नेपालको भूमिकाबारे स्पष्ट हुन खोजेको देखिएको छ । भारतीय विदेशमन्त्रीले यही भदौंको पहिलो हप्ता काठमाडौं भ्रमण गरेर कश्मीर मामिलाबारे भारतीय पक्ष राखेपछि पाकिस्तानले पनि सक्रियता बढाएको छ।

शुक्रबार पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेशी र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच फोन वार्ता भएको छ । सो क्रममा पाकिस्तानी विदेशमन्त्री शाहले भारतले जम्मू कश्मीरको विशेषाधिकार खारेज गरेपछि त्यहाँको अवस्था र पाकिस्तानको पक्षबारे जानकारी गराएका थिए। उनले कश्मीरबारे सार्क मुलुकको अध्यक्षको हैसियतले नेपालको भूमिका अपेक्षा गरिएकोसमेत बताएको उच्च परराष्ट्र स्रोतले जानकारी दिएको छ ।

फोन वार्ताबारे जानकारी दिँदै पाकिस्तानी विदेशमन्त्रालयले शुक्रबार साँझ विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘परराष्ट्रमन्त्रीले नेपाली समकक्षीलाई जम्मू–कश्मीरको विवादास्पद स्थितिलाई फेर्न भारतले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको प्रस्तावहरूको विपरीत गरेको गैरकानुनी र एकपक्षीय कार्यहरूका बारेमा जानकारी दिए। उनले जम्मू–कश्मीरका बारेमा भारतको कदमले यो क्षेत्रकै शान्ति र सुरक्षाका गम्भीर खतरा निम्त्याएको बताए।’

भारतले गएको अगस्ट ५ मा जम्मू कश्मीरको विशेषाधिकार खारेज गरेको थियो। पाकिस्तानले भारतको सो कदमको विरोध गर्दै कश्मीर मामिलालाई अन्तर्राष्ट्रियकरण गरिरहेको छ। भारतीय कदमपछि पाकिस्तानी विदेशमन्त्री कुरेशीले चीन भ्रमण गरेका थिए। उनी चीनबाट फर्केपछि भारतीय विदेशमन्त्री एस जयशंकर बेइजिङ् पुगेका थिए। जयशंकर काठमाडौंबाट फर्केपछि कुरेशीले काठमाडौंस्थित आफ्ना समकक्षी ज्ञवालीसँग फोन वार्ता गरेका हुन्।

नेपालले पाकिस्तानलाई कश्मीरबारे आफ्नो पहिलो धाराणा नै दोहोर्याएको छ। नेपालले कश्मीर मामिललाई ‘नजिकबाट हेरिरहेको’ जनाउँदै ‘दुई देशले वार्ताबाट समस्याको समधान’ खोज्नुपर्ने बताएको छ। नेपालले दक्षिण एशियामा शान्तिका लागि दुई देशले मिलेर काम गर्नुपर्नेसमेत बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *