प्रदेश लोकसेवा आयोग विधेयक पारित

डिसी नेपाल
१० भदौ २०७६ २०:४०

विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभाको आज बसेको बैठकले ‘प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ बहुमतले पारित भएको छ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव पेश गरेका थिए।

मन्त्री कार्कीले विधेयक संवैधानिक आधार र मापदण्डमा आधारित भएर आएको बताए। उनले विधेयकलाई लचिलो र व्यावहारिक बनाउन प्रयास भएको छ भन्दै यसका पदाधिकारीहरु समावेशी आधारमा एक महिलासहित तीन जनाको हुने जानकारी दिए।

प्रदेश लोकसेवा आयोग विधेयक न्याय, प्रशासन तथा विधायन समितिमा व्यापक छलफल गरी प्रतिवेदन समितिका सभापति इन्द्रमणि पराजुलीले सदनमा पेश गरेका थिए।

उनले यो विधेयकको मस्यौदामा सात जना सदस्यले संशोधनका लागि प्रस्ताव दर्ता गराएको जानकारी दिँदै विज्ञ, आन्तरिक मामिला तथा कानूनमन्त्री, कानून सचिवहरुको व्यापक छलफल पछि सो विधेयक आएको बताए।

४० घरपरिवारलाई नागरिकता दिन माग

प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद घिमिरेले चुरेसँग जोडिएको मोरङको उत्तरी क्षेत्रमा बाढी र वर्षात्का कारण बाटोघाटो क्षतिग्रस्त बनेकाले मर्मत सम्भार गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए।

सदस्य गोपालचन्द्र क्षेत्रीले लागुऔषध नियन्त्रणमा प्रदेश सरकारले प्रभावकारी कदम चाल्नु पर्नेमा जोड दिँदै धुलो र धुवाँका कारण विराटनगरको कोशी अस्पताल नजिकका पसलहरुमा पाइने खाद्यान्नको अनुगमन गर्न माग गरे।

अर्का सदस्य जयराम यादवले मोरङको रङ्गेलीस्थित रङ्गेली अस्पताल दिनदिनै जीर्ण बन्दै गएकाले अस्पताललाई तत्काल सुधार गर्न प्रदेश सरकारको ध्यानकर्षण गराए।

सदस्य राधा थापाले झापाको काँकरभिट्टामा पुल बन्दा सरकारले सात धुर जग्गा र रु सात लाख मुआब्जा दिने भने पनि पीडितहरुले सो अनुसार रकम नपाएकामा सरकारको ध्यानाकर्षण गराए।

उनले सो स्थानमा बसोबास गर्ने ४० घरपरिवारलाई तत्काल नेपाली नागरिकता प्रदान गर्न पनि सरकारसँग माग गरे। प्रदेशसभाको अर्को बैठक भदौ ११ गते बुधबार दिउँसो १ बजे बस्नेछ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *