भृकुटीमण्डप पसल भाडा प्रकरण : परिषद्लाई डेढ करोड घाटा

डिसी नेपाल
११ भदौ २०७६ ६:३२

काठमाडौँ । भृकुटीमण्डपभित्र रहेको फनपार्कसँगै जोडिएको खाली जग्गामा राखिएका पसलहरू छानबिनमा तानिने डरका कारण हटाउन लगाएको पाइएको छ।

ती पसलहरू बिनाप्रतिस्पर्धा राख्न दिइएकाले अनुसन्धानको घेरामा पर्ने डरले हटाउन लागिएको हो। फनपार्क र ल्यामःपुचःलाई भाडामा दिइएको भन्दा बाहेकको करिब तीन रोपनी क्षेत्रमा फैलिएको जग्गामा बिनाप्रतिस्पर्धा टहरो बनाई पसल राख्न लगाइएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघमा भृकुटीमण्डप हाताभित्रको ६० रोपनी जग्गा फनपार्कलाई भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत गई अनियमितता गरेको भन्दै पूर्वसमाज कल्याणमन्त्री बद्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो।

विशेष अदालतमा मुद्दा दायर भएसँगै बिनाप्रतिस्पर्धा भाडामा दिइएको उक्त पसल बन्द गराइएको थियो। केही महिनादेखि ती पसलहरू केही हटाइए भने केहीमा जस्ताले बारेर राखिएको छ। ती पसल कसले बन्द गराएको हो भन्ने विषय अहिलेसम्म खुलेको छैन। ती पसल अनुसन्धानको घेरामा पर्ने डरले हटाउन लगाइएको समाज कल्याण परिषद् स्रोतले जनाएको छ। ती पसलहरू भृकुटीमण्डपको मुख्य प्रदर्शनी हलपट्टिको ढोकातिर निस्कने बाटोभरि थिए।

ती पसलहरू वर्षौंदेखि त्यहाँ सञ्चालित थिए। ती पसलबाट परिषद्लाई भाडासमेत नतिरेको परिषद् स्रोतले बताएको छ। ती पसलहरूको भाडा परिषद्को भृकुटीमण्डप सञ्चालन कार्यालयले उठाउनुपथ्र्यो तर त्यसो हुन सकेन।

ती पसल ५ वर्षदेखि सञ्चालनमा रहेको परिषद् स्रोतले जनाएको छ। परिषद्ले एउटा पसलबाट मात्रै औसतमा महिनाको १४ हजार भाडा उठाउँदा १६ पसलको महिनामा २ लाख २४ हजार रुपियाँ आम्दानी गथ्र्यो। एक वर्षमा ती पसलबाट २६ लाख ८८ हजार आम्दानी हुन्थ्यो।

यस्तै पाँच वर्षमा ती पसलबाट परिषद्ले १ करोड ३४ लाख ४० रुपियाँ आम्दानी गर्न सक्थ्यो। अर्थात् पाँच वर्षसम्म ती पसलबाट आम्दानी गर्न नसक्दा परिषद्लाई १ करोड ३४ लाख ४० हजार घाटा पुगेको छ।

नेपाल समाचारपत्र




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *