जुम्लामा स्याउ टिप्न भ्याइनभ्याइ
सिञ्जा। कनकासुन्दरी गाउँपालिकाकी लिपु खत्रीलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ। चन्दननाथ–१० की माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिएका छन्।
उनीहरू दुवैको बारीमा करीब १५० स्याउका बोट छन्। उनीहरू मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ। भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो। अधिकांश किसान बिहान सबेरैदेखि राति अबेरसम्म स्याउबारीमै व्यस्त देखिने गरेका छन्।
स्याउ टिप्न शुरु भएसँगै व्यापारी स्याउ बगैँचामै आएर खरीद गर्ने क्रम बढेको छ । स्याउ खरीद गर्न नेपालगञ्ज, सुर्खेत, काठमाडौँलगायत स्थानका व्यापारी जुम्ला आएका छन्। भदौको दोस्रो सातादेखि स्याउ टिप्न र ढुवानी गर्न स्थानीय तहले अनुमति दिए पनि केही किसानले पहिले नै बगैँचा खाली गरिसकेका छन्। ढिलो टिपे स्याउ बिक्री नहुने समस्याले धमाधम बगैँचा खाली हुन थालेका हुन्।
यस वर्ष जुम्लामा छ हजार १०० मेट्रिकटन स्याउ फल्ने अनुमान कृषि ज्ञान केन्द्र जुम्लाको छ। जिल्लाको स्याउ उत्पादनबारे प्राविधिकले तथ्याङ्क सङ्कलन गरिहेको कृषि ज्ञान केन्द्रका अर्थविज्ञ बालकराम देवकोटाले बताए।
उनका अनुसार गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन हुने क्षेत्र बढेकाले उत्पादन पनि बढेको अनुमान गरिएको छ। देवकोटाले स्याउको बजार वर्षेनी बढिरहेको बताउनुभयो । केही वर्षअघिसम्म स्याउ बिक्री गर्न खलङ्गा बजारमा लैजानुपर्ने बाध्यता थियो। यस वर्ष व्यापारी बगैँचामै पुगेर धमाधम स्याउ खरीद गरिरहेका छन्।
आठ वर्षअघि साविक जिल्ला विकास समितिको १५औँ जिल्ला परिषद्ले जुम्लालाई प्राङ्गारिक जिल्ला घोषणा गरेको थियो। जुम्लाले विसं २०६६ मा नेपाल प्रङ्गारिक प्रमाणीकरण मान्यता पाएपछि स्याउ जिल्लाबाहिर जाने क्रम बढेको हो। स्याउको बजार जुम्लामा भन्दा पनि जिल्ला बाहिर भएकाले ढुवानीमा समस्या हुने गरेको स्याउ व्यापारीले बताउने गरेका छन्। जुम्लाको स्याउको माग काठमाडौँलगायत ठूला शहरमा बढी छ।
स्तरीय कार्टुन नहुँदा स्याउ प्याकेजिङमा समस्या भएको कृषि ज्ञान केन्द्रका अर्थविज्ञ देवकोटाको भनाइ छ। जिल्लामा स्याउ भण्डारणको व्यवस्थासमेत नहुँदा किसान समस्यामा परेका छन् ।
केही किसानले आफैँ स्याउ जिल्लाबाहिर बिक्रीका लागि लैजाने गरेका छन्। उनका अनुसार बजारको मागभन्दा धेरै स्याउ एकै पटक जाने भएकाले राम्रो भाउ नपाएको उनको भनाइ छ। केन्द्रका अनुसार जुम्लामा तीन हजार १०० हेक्टरमा स्याउखेती गरिएकामा ८०० हेक्टरमा मात्रै स्याउ फलेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment