‘भद्रगोल’ टिमले माग्यो दर्शकसंग सुझाव : यो अवस्थामा हामी के गरौं ?

डिसी नेपाल
१२ भदौ २०७६ १७:५८

काठमाडौं। लोकप्रिय हाँस्य सिरियल ‘भद्रगोल’को अहिले प्रशारण रोकिएको छ। नयाँ आर्थिक वर्ष शुरु भएसँगै साउनदेखि ‘भद्रगोल’को प्रशारण रोकिएको हो।

अहिले मात्र होइन् विगतमा पनि बेलाबेलामा सिरियलको नियमित प्रशारण रोकिँदै आएको थियो। यसपटक भने लामो समय सिरियल रोकियो।
आखिर किन रोकियो ‘भद्रगोल’? अब कहिलेबाट आउँछ ?दर्शकमा चासो छ।

कहिलेबाट आउँछ रोकिएको ‘भद्रगोल’ ?

‘भद्रगोल’ सिरियल रोकिएको लामो समय हुँदा पनि तत्काल पुनः सुचारु हुने लक्षण नदेखेपछि निर्माण टिमले फेसबुकमा स्टाटस् नै लेखेर दर्शकसंग सुझाव मागेको छ। भद्रगोल टिमका अधिकाँश कलाकारले फेसबुकमा एउटै स्टाटस लेख्दै सिरियल रोकिनुको कारणसहित अबको यात्राका लागि दर्शकसंग सुझाव माग गरेका छन्।

यस्तो छ स्टाटस्
भद्रगोल रोकिनुको कारणः
‘भद्रगोल’लाई अत्यन्तै माया गरि सल्लाह र सुझाव दिनुहुने देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण आदरणीय नेपाली तथा नेपालीभाषी दाजुभाई, दिदीबहिनीहरुमा सम्मान र नमन ब्यक्त गर्दछौं।

यहाँसम्मको यात्रामा हामीलाई साथ दिनुहुने मिडिया हब प्रा.लि.,नेपाल टेलिभिजन, सम्पूर्ण मिडिया हाउस, शुभचिन्तक, बिज्ञापन दाताहरु, प्राबिधिकहरु, संचारकर्मीहरु, सुबास कार्की ‘बेलासे’सर, शंकर आचार्य ‘बरिस्टे’दाइ लगायत सम्पूर्णहरुप्रती कृतज्ञ छौँ।

बिगत लामो समयदेखि विभिन्न समस्याहरु तथा अवरोधकाबिच पनि आफ्नो कर्मप्रती पूर्ण इमान्दार भएर ‘भद्रगोल’ सिरियलमा काम गरिरहेका थियौं। ‘भद्रगोल’ उत्पादन गर्ने हाम्रो कम्पनी र प्रशारण गराउने एजेन्सी मिडिया हवबिचको सम्झौता २०७६ असार मसान्तबाट सकिएलगत्तै ‘भद्रगोल’लाई निरन्तर सञ्चालनमा ल्याउन हामीले विभिन्न चरणमा छलफल र परामर्शहरु गर्यौ। दुर्भाग्यको कुरो ‘भद्रगोल’को नाम, डिजाइन, लेखन, निर्माण, निर्देशन गर्ने हामी सर्जकहरुसंग ‘भद्रगोल’ नामको अधिकार छैन। एउटा सर्जकले सिर्जना गरेको सम्पूर्ण अधिकार सर्जकमै हुनुपर्छ भनेर हामीले निरन्तर पहल गर्यौ। तर, अधिकार पाउन सकेनौं। एउटा सर्जकको हिसाबले सिर्जना गर्ने मान्छेलाई सबैभन्दा प्यारो आफ्नो सिर्जनानै हुन्छ होला।

‘भद्रगोल’ टेलिसिरियलबाट केही बर्षसम्म पनि पारिश्रमिक समेत नपाउँदा पनि हामी सबै कलाकार देश र जनताको लागि उत्कृष्ट मनोरञ्जनका खुराकहरु पस्कनुपर्छ भन्ने भावले निरन्तर मोटिभेट भई कर्म गरिरहयौं। पारिश्रमिक पाउने निर्णय भइसकेपछी पनि समयमै पारिश्रमिक नपाउने, पारिश्रमिक उठाउनकै लागि टेलिसिरियल रोक्नुपर्ने जस्ता कठिन निर्णयहरु अबलम्बन गर्दापनी दिगो तरिकाले काम गर्ने वातावरण देखिएन। हुन त हामी कलाकारको लागि पैसाभन्दा पनि कला, दर्शकको माया सबैभन्दा ठूलो कुरा हो। तर, हामी कलाकारहरू पनि बाँच्नुपर्छ। यहि देशमा बसेर कलाप्रती पूर्ण रुपमा समर्पित भएर काम गरिरहँदा आफ्नो भविष्यप्रतिको चिन्तापनि थपिदै जादोँरहेछ।

आजको दिनमा न हामीले ‘भद्रगोल’ नाम राखेर टेलिसिरियल निर्माण गर्न सक्छौं, न काम गरिरहेकै संस्थासंग काम गर्ने वातावरण छ। यो अवस्थामा हाम्रो टिमले के गर्दा ठिक हुन्छ? भगवानरुपी दर्शकहरुको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *