भारतको कश्मीरमा पर्ने यो गाउँमा किन जाँदैनन् भारतीय सुरक्षाकर्मी?

नयाँ दिल्ली (बीबीसी) । गत हप्ता एकाबिहानै जम्मू–कश्मीरको गुलजारबादस्थित वालिनाड पुग्दा हाम्रो भेट सडक किनारमा कुराकानी गरिरहेका केही स्थानीय मानिसहरूसँग भयो। भारतको केन्द्र सरकारले जम्मू–कश्मीरलाई विशेषाधिकार प्रदान गरेको अनुच्छेद ३७० संविधानबाट हटाएपछि प्राकृतिक रूपमा निकै सुन्दर यो गाउँमा एकजना पनि सुरक्षाकर्मी देखिएका छैनन्।

तर त्रासको वातावरणले यो सुन्दर गाउँमा मानिसहरू रमाउन सकिरहेका छैनन्। गाउँलेहरूको समूहसँग भेट्नुअघि मैले दुई महिलालाई गाउँको तल्लो भागतर्फ गइरहेको देखेँ। कुराकानी गर्दा उनीहरूले यातायातको सुविधा नभएकाले पैदल गइरहेको बताए।

गुलजारबादको वालिनाड कुलगाम जिल्लाको पर्ने एउटा सानो गाउँ हो। त्यो पहाडी गाउँमा हरियाली र प्राकृतिक सौन्दर्य छ। यो गाउँ श्रीनगरबाट १३० किलोमिटर टाढा पर्छ। केन्द्र सरकारको निर्णयपछि पनि जम्मू–कश्मीरका अन्य भागको तुलनामा यहाँ निकै शान्ति छ।

घरभित्रै सीमित

अहिले यो मनोरम गाउँका बासिन्दाहरूको मनमा केही त्रास र असहज बनाउने मौनता छ। त्रासकै कारण तीन हप्तादेखि यहाँका मानिस गाउँभन्दा बाहिर गएका छैनन्।

यो गाउँमा ५० भन्दा बढी परिवार बस्छन्। अधिकांश घर माटो र काठले बनेका छन्। निकै कम मानिसका घर पक्की छन्।

सबै परिवार वलिनाडमा आठ महिना मात्र बस्छन्। अन्य समय उनीहरूले पक्की घर रहेको नजिकैको गुलजारबादमा बिताउँछन्। तीन किलोमिटर टाढाको त्यो गुलजारबाद गाउँमा झन्डै तीन सय घर छन्। यहाँका अधिकांश मानिस खेती र मजदुरी गर्छन्। जाडो याममा उनीहरू कमाउन पन्जाबतिर जान्छन्।

इलाकामा तनाव

श्रीनगरबाट तीनवटा जिल्ला पार गरेर म गुलजारबाद पुगेँ। तीनवटै जिल्लामा अधिकांश पसल बन्द थिए। केही ठाउँमा सुरक्षाकर्मीले गर्दैथिए। दमहाल–हन्जीपोरा जिल्लाको अन्तिम खण्ड पार गरेपछि मैले एउटा पनि सुरक्षाकर्मी सडकमा देखिनँ।

भारतको संसद्‍ले अगस्ट ५ तारिखमा कश्मीरलाई दिएको विशेष राज्यको मान्यता अन्त्य गरिदिएयता यो इलाकामा तनाव बढेको छ। सञ्चारसम्पर्क अवरुद्ध छ। कर्फ्यू लगाइएको छ। प्रतिबन्ध छ। पसल र व्यापारिक क्षेत्रसँगै शैक्षिक संस्था पनि बन्द छन्।

जम्मू–कश्मीरबाट लद्दाख छुट्ट्याइएको छ। कश्मीर मुस्लिमबहुल क्षेत्र हो। विशेष मान्यता अन्त्य गर्नुअघि सरकारले कश्मीरमा थप सैनिक परिचालन गरेको थियो।

बन्द बजार
गाउँमा त्रासको वातावरण मात्र छैन यातायातका सबै साधन पनि बन्द छन्। आवश्यक उपभोग्य सामग्रीको अभाव हुँदैछ। त्यसबाट मानिस चिन्तित छन्। दुई सन्तानकी आमा ३० वर्षीया हलीमाले बजार बन्द भएकाले डाक्टरले सुझाएअनुसार आफ्नी छोरीलाई दूध खुवाउन नपाएको बताइन्।

बत्ती नभएको माटोले बनेको घरमा बसेकी उनले बीबीसीसँग भनिन्, ‘मसँग भएका दूधका प्याकेट केही दिनअघि सिद्धियो। डाक्टरले उसलाई प्याकेटको दूध खुवाउन भनेका छन्। म कहाँ जाऊँ?’ ती बालिकाका ७० वर्षीय हजुरबुवा अब्दुल राशिद डारले पनि बजार बन्द भएकाले आफूहरूले उसलाई आवश्यक प्याकेटको दूध नपाएको बताए।

कश्मीरको अवस्था सामान्य?
मोहम्मद अशरफ यति डराएका छन् कि उनी गाउँबाट बाहिर जाने आँट गर्न सकेका छैनन्। सामानको मूल्यवृद्धिले पनि उनलाई पिरोलेको छ। कश्मीर बन्द भएकाले सामानको मूल्य बढेको उनले सुनाए।

उनी भन्छन्, ‘बीस दिनअघि एक क्विन्टल चामल २२ सयमा किन्थ्यौँ, त्यसको मूल्य अहिले तीन हजारदेखि ३२ सयसम्म पुगेको छ।’ त्यहाँका युवाहरू पनि डरले गर्दा अन्य इलाकातर्फ जान नसकेको उनको भनाइ छ।

‘उनीहरूमा गाउँभन्दा बाहिर गए आफूलाई गिरफ्तार गरिने डर छ,’ अशरफ भन्छन्, ‘प्रधानमन्त्री मोदीे कश्मीरको स्थिति सामान्य रहेको बताउँछन्। तर त्यो पूर्ण रूपमा आधारहीन हो। जे भनिँदैछ त्यो झुटो हो।’

जनजीवन कष्टकर

उनका अनुसार सरकारले भने जस्तो शैक्षिक संस्था खुला रहेको भन्ने कुरा पनि गलत हो। सञ्चारमाध्यममा आएका समाचार पनि गलत हुन्। केही दिनअघि उनका एक छिमेकी काठ काट्दै गर्दा घाइते भए। तर उनलाई उपचारको निम्ति अस्पताल पनि लग्न नसकेको उनको भनाइ छ।

उनले भने, ‘चार दिनपछि बल्लबल्ल एउटा मेडिकलमा उनको उपचार गरियो। यदि कोही राति बिरामी भयो भने हामीले अस्पताल लग्न सक्ने अवस्था पनि छैन। हाम्रा मन्त्री कहाँ गए पत्तो छैन।’ उनीहरू जीवत छन्, मारिए वा जेलमा छन् भन्नेबारे केही थाहा नपाएको बरु हल्ला सुन्ने गरेको अशरफ बताउँछन्।

फुर्सदमा गाउँ

पूरै गाउँमा खबर थाहा पाउने एक मात्र माध्यम रेडियो हो। विशेषाधिकार अन्त्य भएको खबर अन्त्य गरिएको समाचार रेडियोमा सुनेको बताउने एक कृषक मोहम्मद अमीन डार भन्छन्, ‘पत्रिका आउँदैन, हामी टीभी हेर्दैनौँ।’

उनी पनि गाउँबाट बाहिर निस्किँदैनन्। उनी भन्छन्, ‘हामी निकै डराएका छौँ। यहाँ सुरक्षाकर्मी आउँदैनन्, तर अन्य इलाकामा उनीहरूको उपस्थिति छ।’
उनले जबाफ दिए, ‘त्यसै बसिरहन्छु, आवतजावत गर्ने मानिसहरू हेरेर बस्छु। एउटा पनि स्कूल खुलेको छैन। तपाईँ आफैँ गएर हेर्न सक्नुहुन्छ।’

साठी वर्षीया हनीफा बानोले सवारीसाधन नचलेकाले आफ्नी गर्भवती छोरीलाई अस्पताल वा स्वास्थ्य केन्द्र लग्न नपाएको दुखेसो सुनाइन्। उनका अनुसार कैयौँ व्यक्तिलाई गरेको भए पनि कसैले पनि गाडीमा लग्न मानेनन्।

उनले भनिन्, ‘सबैले अस्पताल जाने वातावरण नभएको भन्दै जानै मानेनन्। मैले के गर्न सक्थेँ? तर अल्लाहको कृपाले छोरीले सामान्य रूपमा सन्तान जन्माइन्।’ विशेषाधिकार अन्त्य गरिनुअघि सार्वजनिक सवारीसाधन चलेका थिए तर त्यसपछि सबै बन्द छन्।

रित्तिँदै पसल

गाउँको अर्को भागमा म पुगेँ। एउटा पसल खुला थियो। मानिसहरू सामान किन्न पुगेका थिए। पसल चलाइरहेका एजाज अहमदले आपत्कालीन अवस्थाको निम्ति केही बेरको निम्ति मात्र पसल खोलेको बताए।

विगत २० दिनमा केही पटक मात्र उनले पसल खोलेका छन्। बजारबाट आवश्यक सामान ल्याउन नपाएको उनले सुनाए।उनले भने, ‘बजार जान कठिन छ। सवारीसाधन चल्दैनन्। दुई पटक बजार गएर केही सामान जेनतेन लिएर आएँ। सामान सकिँदै गएको छ।’ सरदर दैनिक दुईतीन सय रुपैयाँ कमाउने गरेको तर अहिले ग्राहक पनि आउन‍ छाडेको उनले बताए।

गाउँमा एउटा औषधि पसल छ। त्यसको हालत पनि उस्तै छ। नाम खुलाउन नचाहने उक्त पसलका सञ्चालकले भने, ‘मोज्दात घटेको छ। फोन र सवारीसाधन बन्द हुनाले औषधि मगाउन पनि समस्या छ।’ उनले नजिकको गाउँबाट दूधको प्याकेट मगाएको तर आफूले दिन नसकेको एउटा उदाहरण पनि सुनाए। उनले भने, ‘मलाई निकै नराम्रो लाग्यो, तर के गर्न सक्थेँ र? मसँग थिएन।’

गुलाम रोसूल ८० वर्षका भए। उनी विशेषाधिकार अन्त्यलाई कश्मीरमाथिको आक्रमणको रूपमा लिएका छन्। उनलाई समाचारमाध्यमले दिने सूचनाप्रति पनि विश्वास छैन।

गाउँ बाहिरको अवस्था खराब रहेको उनको ठम्याइ छ। भन्छन्, ‘हरेक ठाउँमा सुरक्षाकर्मी तैनाथ छन्। कसैलाई पनि बाहिर निस्किन दिइएको छैन। युवालाई गिरफ्तार गरिएको छ।’ उनले आफू तीन हप्तादेखि गाउँबाहिर नगएको बताए। भन्छन्, ‘हामीलाई डर छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो