दैलेखमा मगाइएकै थिएन गाई

डिसी नेपाल
१५ भदौ २०७६ ६:४५

दैलेख । सुर्खेतमा भीरबाट खसालिएका गाई दैलेखमा कसैले पनि नमगाएको खुलेको छ। नेपालगन्ज उपमहानगरपालिकाले छाडा चौपाया दैलेखका स्थानीयले मगाएको भन्दै नियनन्त्रणमा लिएर बिहीबार त्यसतर्फ पठाएको थियो। आठ वटा ट्रकमा लोड गरेर लगिएका तीन सय गाईगोरुमध्ये केहीलाई सुर्खेतमा भीरबाट खसालिएको थियो भने केही बेवारिसे छाडिएका थिए।

नेपालगन्ज उपमहानगरपालिकाले ती गाईगोरु दैलेखको धार्मिक स्थल श्रीस्थान मन्दिर क्षेत्रमा लैजान बाँके प्रशासनसँग अनुमति लिएको थियो। प्रशासनको त्यही अनुमतिपत्रका आधारमा गाईगोरु वीरेन्द्रनगरसम्म ल्याइएको थियो।

ती गाई आफूहरूले नमगाएको दैलेखका जनप्रतिनिधि र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले जनाएका छन्। नेपालगन्जबाट पठाइएका गाईगोरु जिल्लामा कसैले पनि किनेको वा मगाएको नपाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले पुष्टि गरे। मन्दिरका महन्तले पनि नेपालगन्जबाट गाईगोरु नमगाएको जनाएका छन्।

दैलेखमा कसैले पनि गाईगोरु नमगाएको भनेपछि घटना थप रहस्यमय बनेको छ। श्रीस्थान मन्दिर व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष केशवराज थापाले आफूहरूले गाई नमगाएको बताए। ‘यहाँ एउटा गाई बाँध्ये ठाउँसमेत छैन’, उनले भने, ‘यहाँ पर्याप्त जंगल छ। त्यतिधेरै गाईगोरु कसले पठायो, हामीलाई जानकारी छैन। यहाँ त कसैले पनि मगाएको थिएन।’

उपमहानगरले बदनाम गरेको उनको भनाइ छ। यस्तै दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले जिल्लाका कुनै पनि स्थानीय तहले गाई नमगाएको बताए। नेपालगन्जबाट रातारात गाई जबरजस्ती श्रीस्थान ल्याएर छोड्न खोजिएको उनको आरोप छ। ‘गाईगोरु दैलेख ल्याउनेबारे कसैले पनि जानकारी वा समन्वय गरेका थिएनन्’ प्रमुख जिल्ला अधिकारी कट्टेलले भने, ‘जिल्लामा कसैले पनि गाई मगाएको देखिएन। कसैले किनेको जानकारी पनि हामीसँग छैन।’

श्रीस्थान मन्दिरका महन्त गोकर्णनाथ योगीले आफूहरूले गाई नमगाएको भन्दै पवित्र क्षेत्रको बदनाम गर्न खोजिएको बताए। यस्तै भैरवी गाउँपालिकाले पनि गाई नमगाइएको स्पष्ट पारेको छ।

यो समाचार आजको अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *