थारु बस्तीमा ‘अट्वारी पर्व’को रौनक

डिसी नेपाल
१५ भदौ २०७६ २३:५४

भीमदत्तनगर । थारु समुदायको धार्मिक एवम सांस्कृतिक महत्व बोकेकोे अट्वारी पर्वको रौनकले यहाँका थारु बस्तीलाई छपक्कै छोपेको छ। भाद्र शुक्लपक्षको पहिलो आइतवार अर्थात् श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतबार अट्वारी ब्रत बस्ने परम्परा अनुसार थारु समुदायले अट्वारी पर्व कञ्चनपुरमा धुमधामका साथै मनाइरहेका छन्।

दुई दिनसम्म मनाइने अट्वारी पर्वमा हिन्दू महिलाको महान चाड हरितालिका तीज पछिको शनिबार मध्यरातिमा दर (भिन्सर्या) खाएर थारू समुदायले विधिवत रूपमा यस पर्वलाई मनाउने गर्छन्। अट्वारी पर्वको अवसरमा यहाँका स्थानीय तहले पनि थारु बस्तीमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले अट्वारीका अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ।

द्वापर युगमा पाँच पाण्डव मध्येका माहिला भाइ भीमले थारू समुदायका एक छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरी भीमको नाममा ब्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको बेदकोट नगरपालिका–५ का पूर्व बडघर सीता डगौंराले बताए। यस्तै भीमले थारू राजा दङ्गिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा र ब्रत वस्ने चलन रहिआएको किवदन्ती छ।

पूर्व बडघर डगौंराले युवा पुस्ताले यो पर्वप्रति चासो देखाउन छाडेको बताए। उनले अट्वारीलगायत थारु समुदायको कला, संस्कृति र सम्पदाको संरक्षणका लागि स्थानीय तहदेखि सङ्घीय सरकारले सहयोग गर्नुपर्ने बताए। भीम सुर्खेतको काँक्रेबिहार घुम्न आएका बेला शत्रुबाट राजा दङ्गिशरण चौधरीमाथि आक्रमण भएको भनाइ छ। त्यतिबेला रोटी पकाइरहेका भीमले काम छोडेर भोकभोकै राजा दङ्गिशरणलाई सहयोग गरेका थिए।

दङ्गिशरणले शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि हरेक वर्ष भीमको पूजाआजा गर्ने चलन चलेको थारू समुदायका अगुवा बताउँछन्। अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको दिर्घायुको कामना गर्दै पानीसमेत नपिएर दिनभर निराहर ब्रत बस्ने गर्छन्। परम्परागत रुपमा मनाइँदै आएको यो पर्व आइतबार मनाउने भएकाले ‘अट्वारी’ भन्ने गरिएको थारु अगुवा बताउँछन्।

यो पर्व सोमबारसम्म मनाइन्छ। यहाँको बेदकोट नगरपालिका–५ धरमपुरमा आज अट्वारी मिलन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्द, थारु अगुवा, भलमन्सा लगायतको सहभागिता थियो। नगर प्रमुख चन्दले थारु समुदायको धार्मिक एवम सांस्कृतिक पर्वको संरक्षण र सम्र्वद्धनका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताए। “नगरपालिकाले यहाँका थारु समुदायको हकहित र परम्परागत सम्पदा तथा संस्कृतिको संरक्षणमा सँधै प्राथमिकता दिनेछ”, उनले भने।

यस पर्वमा आज दिनभर ब्रत बसी दाजुभाइले साँझ पूजापाठ गरेर फलफूल र अन्दीको रोटी खाने गर्दछन्। ब्रत बसेकाहरुले फलफुललगायत पकवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग्गै राख्ने चलन छ। त्यसरी छुट्टयाएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने चलन छ। अट्वारीको दोस्रो दिन अर्थात् सोमबार बिहानै पतौलाखरिया, खुर्मा, फुलौरी, भात, गब्दा र तामासहितका तरकारी र सात प्रकारका परिकार तयार गरी ब्रतालुले नुहाइधुवाई गरी पूजापाठ गर्ने गर्छन्।

पूजापाठपछि ब्रतालुले आफ्नो खानाको परिकारबाट आधा भाग दिदीबहिनाका लागि छुट्टयाएपछि भोजन गर्ने चलन छ। सोमबार बिहानको भोजनलाई थारु भाषमा ‘फ्राहार’ भनिन्छ। अघिल्लो दिन (आइतबार) र दोस्रो दिन (सोमबार) ब्रतालु दाजुभाइले आफुले खानु पूर्व दिदीबहिनीको लागि फलफुल तथा खानाका परिकारबाट छुट्टयाएको परिकार विवाहित चेलीवेटीलाई दिन दिने चलन रहेको बेदकोट नगरपालिकाका खुसी चौधरीले बताए। “वर्षभरी माइतीमा आउन नपाएका दिदीबहिनी पर्वको अवसरमा दाजुभाइसँग भलाकुसारी गर्न आइपुग्छन्”, उनले भने, “यो एउटा सद्भाव र एकता कायम गर्ने पर्व पनि हो।”

पाैराणिक ग्रन्थमा राजा दङ्गीशरण चौधरीलाई शत्रुबाट बचाउन पाँच पाण्डव मध्येका भीमले सहायता गरी शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि यो पर्व मनाउँदै आएको बताइन्छ। कञ्चनपुरको बेदकोट, भीमदत्त नगरपालिका, शुक्लाफाँटा, बेलौरी, बेल्डाँडीलगायत क्षेत्रमा छरिएर रहेका थारु समुदायको बस्तीमा घर घरमा अट्वारी मनाइँदैछ।

छोरी/चेलीलाई वर्षभरीको सम्झना स्वरूप पठाउने कोसेलीलाई ‘अग्रासन’ भनिन्छ। अट्वारीमा विवाहित छोरीचेली माइतीले दिने कोसेली (अग्रासन) को प्रतीक्षा गरी बस्छन्। माइतबाट कोसेली आएपछि दाजुभाइ र दिदीबहिनीबीच सुखदुःखका कुरा साँटासाँट गर्ने परम्परा छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *