तीजको त्यो एउटा गीत, जसले तीन दशकदेखि एकछत्र लोकप्रियता जमाईरहेको छ
-तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा देखिएको रौनक ।
काठमाडौं। हरेक वर्ष तीजमा सयौं गीत सार्वजनिक हुन्छन्। तर, एउटा सदावहार गीत छ जुन हरेक वर्ष तीजमा गुञ्जिरहेको हुन्छ।
आजपनि धेरै ठाउँमा गुञ्जिरहेको होला, ‘तीजको लहर आयो बरिलै…’। यो गीत नसुन्ने सायदै होलान, तीजमा यो गीतमा ननाच्ने सायदै होलान्। हरेक तीजको बेला घन्किने गीतमध्ये सबैको मुखमा झुन्डिने यही हो। हरेक वर्ष तीजमा आउने नयाँ गीतलाई उछिनेर ३२ वर्ष अघिदेखिआफ्नो एकछत्र लोकप्रियता जमाउँदै आएको छ, यो गीतले।
यो गीत चलचित्र ‘कन्यादान’को हो। त्यति पुरानो भएपनि हरेक वर्ष तीजमा यो गीत गुञ्जिन्छ। चेतन कार्कीको शब्द, मनोहरि सिंहको संगीत रहेको गीतमा दीपा झा, पूर्णिमा श्रेष्ठ र उनको टिमको स्वर छ। भिडियोमा चलचित्रका मुख्य पात्र गीतमा सुभद्रा अधिकारी, गौरी मल्ल तथा वसुन्धरा भुषालले नाचेका छन्।
अभिनेत्री गौरी मल्ललाई लाग्छ, गीत चल्नुको पछाडी सरल भाका र विवाहित महिलाको मन बोल्ने शब्द, मौलिकतामा मिठास मिसिएकोले हो। डिसी नेपालसँग गौरी भन्छिन्, –‘त्यसयता हजारौं गीतहरु आए। तर हामी त्यही गीत गुनगुनाउँन रुचाउँछौं। किनकी त्यसको पछाडि गीतको भाका र मुखमै झुण्डिने शब्दहरु हुन्।’
गीतको शुरुमा तीज आएको जनाउँदै संगीहरुलाई स्वर मिलाएर गाउन र नाच्न आग्रह गरिएको छ।
नौडाँडा काटेर गएका चेलीहरु भाग्यले भेट भएको, अर्को वर्ष भेट होला नहोला थाहा नभएकोले घरायसी जीवनमा करकरे सासू, नन्द, आमाजुले दिएका दुःख बिर्सेर नाच्न आग्रह गर्दै श्रीमानको दीर्घायुको कामना गरिएको छ।
गीतमा नृत्य गरेकी शुभद्रा अधिकारीको यसै वर्ष निधन भयो। गौरी हरेक वर्ष तीजमा गुञ्जिने यही गीतले उहाँलाई सम्झाईरहने बताउँछिन्। लोकप्रियताकै कारण पाँच वर्ष अगाडि ‘तीजको लहर आयो बरिलै…’ को रिमिक्ससमेत बनेको छ। जसमा अभिनेत्री करिष्मा मानन्धर, बसुन्धरा भुषाल, शुभद्रा अधिकारी र सुप्रिया थापाले कर्मर मर्काएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment