एटिएम लुट्ने गिरोहका फरार २ जनाले ३० लाख नेपाली रुपैयाँको डलर साटेको भेटियो !

डिसी नेपाल
१६ भदौ २०७६ १४:१४

काठमाडौँ। काठमाडौँको दरबारमार्गबाट नबिल बैंकको एटीएमबाट रकम निकाल्ने चिनियाँ नागरिकमध्ये भागेका २ जनाबारे प्रहरीले थप प्रमाणहरु फेला पारेको छ । प्रहरीले शनिबार एटीएमबाट रकम निकाल्ने ५ जनालाई पक्राउ गरेको थियो भने सो समूहका अन्य तीन जना भागेका थिए । भागेकामध्ये एक जनालाई प्रहरीले सोमबार विमानस्थलबाट पक्राउ गरेको छ ।

यस्तै भागेकाहरुमध्ये २ जनाले काठमाडौको ठमेलस्थित डेक्सो मनि एक्सचेन्जबाट २९ लाख ९९ हजार रुपैयाँ साटेको तथ्य फेला परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौका डिएसपी होविन्द्र बोगटीका अनुसार अनुसन्धानका क्रममा डेक्सो मनि चेन्जरबाट झण्डै ३२ हजार डलर साटेको भेटिएको हो ।

आठ जनाको समूहमा रहेका चिनियाँ लुटेराहरुमध्ये अहिलेसम्म ६ जनालाई पक्राउ गरिसकेको छ । बाँकी २ जनाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । शनिबार पक्राउ परेकाहरूको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर ८०, चिनियाँ युआन १ हजार १ सय ९१, अमेरिकी डलर ९ हजार १ सय ८, कम्बोडियाको मुद्रा ५ हजार र युरो २ सय ५० बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुबाट नेपालीसहित उक्त विदेशीमुद्राबाहेक नक्कली भिसाकार्ड १ सय ३२ थान, सक्कली भिसाकार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन, ६ वटा मोबाइल, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड १–१ थान समेत बरामद गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *