शक्तिशाली सरकार हुँदासमेत मुलुकको अवस्था किन खस्कियो?

डिसी नेपाल
२० भदौ २०७६ ११:५५

लामो समयपछि मुलुकमा राजनीतिक स्थायित्व भएका बेला पनि मुलुकको अवस्था भने दिनानुदिन खस्किँदो छ। यत्रो शक्तिशाली सरकार हुँदासमेत मुलुकको अवस्था यस्तो किन हुन पुग्यो भन्ने प्रश्नको जवाफ सहज छैन। धेरैले प्रधानमन्त्रीको स्वास्थ्यका कारण यस्तो अवस्था आएको पनि भन्छन् भने अर्को थरीले भिजिनरी र मुलुक बनाउन सक्षम नेताको अभावमा यस्तो अवस्था आएको दाबी गर्छन्।

जसले जे दावी गरे पनि कारण फरक होलान् तर मुलुकको स्थिति दिनानुदिन खकिँदै गएको कुरा भने सत्य हो र यसले नागरिकलाई चिन्तित बनाएको छ। मुलुक बिगार्न सबैले जाने, तर मुलुक बनाउने सन्दर्भमा भिजन भएका नेताको अभाव देखिएको छ।

राजनीतिक नेताले काम गर्न नजान्दा, प्रशासनको नेतृत्व गरेका प्रशासकले सहयोग नगरेको देखिने स्थिति छ। कतै नेताले यसरी काम गर्नुपर्छ भन्ने स्पष्ट दृष्टिकोण र रोडम्याप बनाउन नसक्दा कर्मचारी र प्रशासनले चाहेर पनि काम गर्न सकेको छैन भने कतै नेताले चाहँदा चाहँदै पनि कर्मचारीतन्त्रको असहयोगका कारण काम हुन सकेका छैनन्।

राजनीति नेतामा कुनै योजना, दृष्टिकोण र भिजन नै छैन। यसले गर्दा राज्य संचालकले न शान्ति सुरक्षा कायम गर्न सके, न प्रशासनलाई चुस्त दुरुस्त नै राख्दै सुशासन कायम राख्न नै सके।  यो भिजनविहीन नेतृत्वका कारणले आज मुलुक अगाडि बढ्न नसकेको हो।

राजनीतिक नेताले काम गर्न नजान्दा, प्रशासनको नेतृत्व गरेका प्रशासकले सहयोग नगरेको देखिने स्थिति छ। कतै नेताले यसरी काम गर्नुपर्छ भन्ने स्पष्ट दृष्टिकोण र रोडम्याप बनाउन नसक्दा कर्मचारी र प्रशासनले चाहेर पनि काम गर्न सकेको छैन

अर्को कुरा पार्टीभित्र गुट उपगुट, तेरो धार, मेरो धार, नातावाद कृपावाद नै व्याप्त छ जले पार्टीलाई पनि कुनै भिजन बनाएर अगाडि बढ्न दिइरहेको छैन। यता गुटबन्दी मुलुकको समृद्धिका लागि हुने हाेइन यो त आफ्नै लागि हुने हो।

आफ्नो लाभका लागि हुने यता प्रकारका गतिविधिकै कारण भ्रष्टाचार मौलाएको छ। भ्रष्टाचारका बेसिक कुरा यिनै हुन्। यिनै कुराहरुले भ्रष्टाचार जन्माउने हुन्। जसका कारण देश गतिहीन र शून्य अवस्थामा छ। बिग्रिने मात्रै भयो बन्ने अवस्था देखिएन।

यसो भन्दै गर्दा यसको सबैभन्दा बढी भागिदार नेपाली कांग्रेस नै हो कि भन्ने प्रश्न आउँछ। नेपाली कांग्रेसले २०४६ सालदेखि नै आफ्नो पोजिशनलाई बुझेर गुट उपगुटमा नलागेर, दूरदृष्टि अगाडि सारेर संगठित रुपमा मुलुकलाई नेतृत्व दिएर आएको भए आज यो अवस्था आउने थिएन। तर, आज पनि कांग्रेसको दूर्दशा छ।

घरानिया राजनीति एशियामा समाप्त भइसकेको छैन। त्यसो हुनाले विपी पुत्र डा. शशांक कोइराला, गणेशमान पुत्र प्रकाशमान सिंह, महेन्द्र नारायण निधिपुत्र विमलेन्द्र निधि एक ठाउँमा उभिएर हामी पदका लागि होइन, कांग्रेसका लागि भनेर सबैलाई एकजुट हुन आह्वान गरेर अगाडि बढ्ने हो भने जसलाई जे चाहिन्छ, उनीहरुलाई त्यो पद दिने र संगठनको बागडोर आफ्नो हातमा लिएर चलाउने हो र यी तीन जना एक ठाउँमा उभिने हो भने कांग्रेस अगाडि बढ्न सक्छ।

लेखक

यी तीन जना पद र शक्तिका लागि नभएर मुलुक र लोकतन्त्रका लागि एक ठाउँमा उभिने हो भने कांग्रेसले गति लिन्छ। कांग्रेसप्रति जनताको विश्वास जाग्छ।

यो घरानिया राजनीति समाप्त भइनसकेको र त्यसप्रति जनताको विश्वास कायमै रहेको हुनाले एक पटक कांग्रेस यी नेतात्रयकै विचारमा अगाडि बढ्न सक्छ। पार्टी संगठनको सम्पूर्ण बागडोर यी नेतात्रयले आफ्नो हातमा लिने हो भने पार्टी सभापति र प्रधानमन्त्री जसलाई बनाएपनि केही फरक पर्दैन।

यसरी यी तीन जना नेता एक ठाउँमा उभिने हो भने आगामी निर्वाचनमा कांग्रेसले अहिले नेकपाले ल्याएकै जस्तो मत लिएर आउनेमा शंका नगरे हुन्छ। कांग्रेसले हिमाल, पहाड तराइ सबैलाई एक ठाउँमा लिएर जान सक्नुपर्छ। कांग्रेसले संविधानमा आवश्यक परिमार्जन गर्न सक्नुपर्छ।

संचारमाध्यम र लेखकका पुस्तक पढ्दा थाहा हुन्छ, विदेशी खुफिया एजेन्सीले नेपालका स्थायी संरचना भत्कायो। राजसंस्था भत्कायो। सुरक्षा निकायलाई निस्तेज र निकम्मा बनायो। उनीहरुप्रतिको विश्वास जनमानसमा गुमायो। एउटा विदेश लागेर गणतन्त्र ल्यायो अर्को विदेश लागेर धर्म निरपेक्ष राज्य बनायो।

उनीहरुको पैसा र लोभ प्रलोभनमा नेताहरु फसे। नेताहरुमा कुनै जिम्मेवारी वा राष्ट्रिय भावना भएन, मुलुकलाई दिशा दिने भिजन र सोच देखिएन। त्यसको परिणाम आज मियो बिनाको दाँइ जस्तो हुन पुगेको छ। कोही धर्मको नारा लिएर कुदेका छन्, कोही राजसंस्थाको नारा लिएर हिँडेका छन्। कोही गणतन्त्रको नारा लिएर कुदेका छन् भने कोही संघीयता र आत्मनिर्णयको अधिकार चाहियो भनेर हिँडेका छन्।

यी सबै कुराहरु कति दिन व्यहोर्ने? कति दशक राजनीतिक संघर्षमा जनता होमिइरहने? कहिले मुलुकको आर्थिक विकास हुने? अब नेताले विदेशी खुफिया एजेन्सीले हामीलाई फसाएछ भन्ने बुझेपछि आफ्ना विगतका गल्ती कमजोरी किन दोहोरिन दिने? किन फेरि तिनैका पछाडि कुद्ने? यो कुरा अब जनताले बुझ्न र बुझाउन आवश्यक छ।

त्यसैले नेपाली कांग्रेसका घरानिया राजनीतिक पृष्ठभूमिका नेताले एक ठाउँमा बसेर काग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्छ। कांग्रेसमा नेताको कमी छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *