अरिङ्गालको परिकार ग्राहकको रोजाइमा

डिसी नेपाल
२० भदौ २०७६ १३:३३

गलेश्वर। जङ्गलका रुखको टुप्पामा गोला बनाउने अरिङ्गालको मीठो परिकार म्याग्दीमा आउने होटलका ग्राहकको रोजाईमा परेको छ। मानिसलाई चिल्यो भने ज्यानैसमेत जान सक्ने विषालु अरङ्गिलको गोला काटेर त्यसमा रहेका लार्भालाई तेलमा मसला हालेर भुटेर स्वादिलो परिकार बनाउन थालेपछि म्याग्दीका होटलमा यसको माग ह्वात्तै बढेको छ।

म्याग्दीको बेनी नगरपालिकामा सञ्चालित होटलमा अरिङ्गालको परिकारको माग बढेको छ। जङ्गलमा पाइने अरिङ्गालको माग बढेसँगै व्यापार पनि बढेको व्यवसायी बताउँछन्। गत वर्ष अरिङ्गालको ‘फ्राई’ बिक्री गरेर चार लाख आम्दानी गरेकी बेनी नगरपालिकाका सिर्जना भट्टचन अहिले पनि अरिङ्गालको परिकार बनाउन व्यस्त देखिन्छिन्।

मौसम शुरु भएसँगै उनको होटलमा अरिङ्गालको परिकारका पारखी आउन शुरु गरेका छन्। तीन दशकदेखि होटल व्यवसाय गर्दै आएकी भट्टचनले अरिङ्गालको परिकार बिक्री गर्न थालेदेखि आम्दानी पनि बढेको छ। उनले अरिङ्गालको गोलो खरीद गरी परिकार बनाएर बिक्री गर्दै आएकी छन्।

अहिले यो परिकार प्रतिप्लेट ६०० मा बिक्री हुने गरेको छ। अरिङ्गालको परिकार निकै स्वादिलो हुने भएकाले पनि ग्राहक खोजीखोजी खान आउने गरेका छन्। त्यसैले दैनिक १० देखि १५ प्लेटसम्म बिक्री हुने गरेको छ।

अरिङ्गाल पोलेर बिक्री गर्न थालिएसँगै गाउँका केही युवाको पनि आम्दानी बढेको छ, तर युवाले भिरमहजस्तै अरिङ्गाल पोल्न सरकारले लाइसेन्स दिनुपर्ने बताउँछन्। सामुदायिक तथा वन जङ्गलमा बिना अनुमति अरिङ्गाल पोल्ने कामका बारेमा कानूनमा प्रष्ट नहुँदा स्थानीय सरकारको पनि चासो पुगेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *