गौ हत्या प्रकरण : प्रहरी निरीक्षकसहित २ जना पक्राउ

डिसी नेपाल
२० भदौ २०७६ २०:०३

काठमाडौं। सुर्खेतमा भएको गौहत्या प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । सुर्खेत प्रहरीले गौहत्याको घटनामा संलग्न रहेको भन्दै प्रहरी निरीक्षक सहित दुईजनालाई पक्राउ गरेको हो । बाँके प्रहरीको सहयोगमा उनीहरुलाई नेपालगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विक्की भनिने सत्रिप्तसिंह श्रेष्ठलाई पक्राउ गरिएको हो । उनीहरु दुबैलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ।

यही भदौ १२ गते नेपालगञ्ज उपमहानगरले दैलेख लैजाने भन्दै पठाइएका दुई सय ९१ वटा गाई–गोरु सुर्खेतको कटकुवामा छोडिएका थिए। सो प्रकरणमा हालसम्म ४० वटा गाई मरेका छन् । यस्तै दर्जनौं गाई–गोरु घाइते भएका थिए । सोही घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका बोगटीको नेतृत्वमा नेपालगञ्ज नगर प्रहरीको टोलीले आठ वटा ट्रकमा छाडा गाई सुर्खेतमा ल्याएर अलपत्र छाडेको प्रहरीको भनाइ छ । यस्तै गाई ढुवानीमा संलग्न रहेको भन्दै चितवन ट्रान्सपोर्टका सञ्चालक श्रेष्ठलाई पक्राउ गरिएको हो ।

उनीहरु दुबैमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गौहत्या प्रकरणमा यसअघि सातजना पक्राउ परिसकेका छन् । गाई लोड गरिएका पाँचवटा ट्रक र तिनका चालक र सहचालक गरी सातजनालाई यसअघि नै पक्राउ गरिएको थियो ।

अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको देखिएकाले प्रहरी निरीक्षक बोगटी र ट्रान्सपोर्टका सञ्चालक श्रेष्ठलाई नेपालगञ्जबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यस्तै गौहत्याको घटनामा छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन टोलीले दैलेख र सुर्खेतमा पनि स्थलगत अध्ययन गरेको छ ।

छानबिन टोलीले सुर्खेतमा गाई मरेको स्थान र दैलेखमा जिल्ला समन्वय समिति, नारायण नगरपालिका र अन्य सरोकारवालासँग पनि छलफल गरेको हो । यो घटनाको छानबिनका लागि मात्र तीन वटा समिति गठन भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय र यो घटनामा मुछिएको नेपालगञ्ज उपमहानगरपालिकाले पनि छुट्टाछुट्टै छानबिन समिति गठन गरेका हुन् । यी समितिहरुले पनि काम गरिरहेका छन् ।

यसअघि नेपालगञ्ज उपमहानगरले रातारात दैलेख लैजान लागिएका गाई सुर्खेतमा अलपत्र छाडिएपछि दैलेखका स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले आफूहरुले गाई नमगाएको बताइसकेका छन् ।

तर जिल्ला समन्वय समितिले रातारात नक्कली पत्र तयार पारेर गाई आफूले मगाएको दाबी गरेपछि घटना थप रहस्यमय बन्दैगएको छ । यस विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । सुर्खेतमा अलपत्र छाडिएका करिब दुई सय गाई नेपालगञ्ज नै फिर्ता गरिसकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *