वनस्पति विषयलाई विद्यालय तहदेखिकै पाठ्यक्रममा समावेश गर्नुपर्छः पूर्वमन्त्री शाह

डिसी नेपाल
२१ भदौ २०७६ २१:३१

काठमाडौं। पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले वनस्पति विषयलाई सरकारले विद्यालयको प्राथमिक तहदेखिकै पाठ्यक्रममै समावेश गराउन सक्यो भने वनस्पति क्षेत्रको विकासमा कोसेढुंगा सावित हुने र यसबाट देशको अर्थतन्त्रमै मनग्गे सहयोग पुग्ने बताएका छन्। प्रथम बोटनिष्ट प्रयाग राज पाण्डे फाउण्डेशनको दोस्रो साधारण सभामा बोल्दै मन्त्री शाहले सो कुरा बताएका हुन्।

शाहले देशमा वनस्पति सम्बन्धमा ठोस नीति नभएका कारण नेपालबाट वर्षेनी विभिन्न जातका जडिबुटी विदेश निर्यात भएको र विदेशबाट प्रशोधन गरी तिनै जडिबुटी नेपालले खरीद गर्ने परिपाटी देशकै अर्थतन्त्रका लागि घातकसिद्ध भएको समेत संकेत गरे। उनले वनस्पति क्षेत्रमात्र होइन, बहुआयामिक विज्ञानका विद्यार्थीहरुलाई यस क्षेत्रतिर आकृष्ट गर्ने, बोटनि ओलम्पियाज बनाउने, औषधीय गुण भएका बोट विरुवाहरु पहिल्याउने र लोप हुन नदिने कार्यमा फाउण्डेशनको ध्यानाकर्षण समेत गराए।

वनस्पति क्षेत्रका धरोहर एवं फाउण्डेशनको शतवार्षिकी कार्यक्रमका अध्यक्ष डा. तीर्थबहादुर श्रेष्ठले प्रयागराज पाण्डे वनस्पति विभागका महानिर्देशक हुँदा उनको पहलमा स्थापित रोयल ड्रग एण्ड रिसर्च लेवोरेटरिज प्रा।लि।ले पहिलो पटक उत्पादन गरेको एलोपेथिक औषधि सिटामोल ट्यावलेट बजारमा निकै लोकप्रिय भएकोमा स्व। पाण्डेको वनस्पति क्षेत्रप्रतिको झुकाव गहन भएको स्मरण गरे।

संस्थाका सल्लाहकार कृषिविद् भोलामान सिंह बस्नेत र लक्ष्य सिंहले स्व. पाण्डेले नेपाल सरकारको वनस्पति विभाग खोल्नुु मात्र भएन, वनस्पति क्षेत्रको विकासमा मनग्गे गति दिनुभए पनि ती हराउन थालेकोमा यससम्बन्धी पुस्तकहरु प्रकाशन तथा प्रदर्शनीहरु आयोजना गरी उनको कृतिहरुको संरक्षणका साथै प्रेससम्मेलन गरी सर्वसाधारणलाई जानकारी गराइनु पर्ने बताए।

फाउण्डेशनका महासचिव हरिशंकर सैंजूले एक वर्षको अवधिमा फाउण्डेशनले गरेका विभिन्न कार्यक्रम एवं गतिविधि र डा.महेन्द्रनाथ सुवेदीले प्रस्तुत गरेको लेखापरीक्षण प्रतिवेदन पारित गरियो।

फाउण्डेशनका अध्यक्ष बिमल राज पाण्डेले फाउण्डेशनले रोड म्याप तयार गरी अगाडि बढ्ने उद्धेश्य राखेको चर्चा गर्दै देश एवं विदेशका विभिन्न संस्थाहरुसंग वैज्ञानिक सम्बन्ध विस्तार गरी वनस्पति क्षेत्रको विकासबाट नै देश विकास संभव छ भन्ने चरितार्थ गराउन सक्नु परेको बताए।

फाउण्डेशनका संस्थापक अध्यक्ष मधुसुदन बिष्टले नयाँ पुस्तालाई विज्ञान, प्रविधि र वनस्पतिसंग आवद्ध गरी विभिन्न सिर्जनशील कार्यहरु अघि बढाउन फाउण्डेशनको गतिविधिहरु लक्षित हुने स्पष्ट पार्दै विभिन्न सरकारी एवं गैरसरकारी निकायहरुसंग सम्बन्ध विस्तार गर्न प्रयासहरु भैरहेको र अन्तराष्ट्रिय संघसंस्थाहरुसंग कसरी सम्बन्ध विस्तार गर्ने भन्ने बारे छलफल भैरहेको बताए।

सो अवसरमा फाउण्डेशनले चीनको चेंगदु इन्ष्टिच्यूट अफ बायोलोजीबाट वनस्पतिशास्त्रमा टेक्सोनोमी विषयमा हालै विद्यावारिधि गर्ने राष्ट्रिय वनस्पति उद्यान गोदावरीमा कार्यरत उद्यान अधिकृत डा.मित्र पाठकलाई सम्मान समेत गरिएको छ।

विमलराज पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

साधारण सभाले बिमलराज पाण्डेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यकारिणी समिति चयन गरेको छ। समितिको सहअध्यक्षमा डा.महेशकुमार अधिकारी, प्रथम, द्धितीय र तृतीय उपाध्यक्षहरुमा क्रमशः पुष्पमान अमात्य, धर्मात्मलाल श्रीवास्तव र हरिकृष्ण सैंजू छन् भने महासचिवमा महेन्द्रनाथ सुवेदी र सचिवमा नरेन्द्रकुमार भुसाल चयन भएका छन्। कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः उषा बाबा जोशी र लक्ष्मी पराजुली चयन भएका छन्।

यसैगरी पाँचजना सदस्यहरुमा स्वयम्भुरत्न तुलाधार, शान्ता उपाध्याय, लोकनाथ प्रसाद पाठक, नविन कुमार श्रेष्ठ र अर्जुन बिष्ट रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *