समाजवादको नयाँ झण्डा फहराएरै छाड्छौँ : अध्यक्ष प्रचण्ड

डिसी नेपाल
२२ भदौ २०७६ ९:०६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट समाजवादको नयाँ झण्डा फहराएरै छाडिने दृढता व्यक्त गरेका छन् । अध्यक्ष दाहालले भने, “नेपालबाट समाजवादको नयाँ अध्याय शुरु भएरै छाड्ने छ । हामी कुनै पनि हालतमा केही न केही नयाँ मोडल स्थापित गरेरै छाड्नेछौँ। त्यसमा कुनै पनि तलमाथि हुने छैन।”

उनले सङ्घ, प्रदेश र स्थानीय तहमा समेत नेकपाको ठूलो जनमतसहितको सरकारले केही गर्न सकेन भनेर निराश नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै भने, “म सबैलाई आग्रह गर्न चाहन्छु । एक डेढ वर्षमा केही भएन भनेर कुनै चिन्तित हुनु पर्दैन । यत्रो विशाल जनमत भएको पार्टीले नेपाली जनताको अपेक्षाअनुसार नै काम गर्छ । जनताको चाहनालार्ई सम्बोधन गर्दै समाजवादको नयाँ आधार स्थापित गरेरै छाड्छ।”

विश्वका विभिन्न देशमा प्रयोग भएको समाजवादको अन्ध नक्कल गरेर कही पनि नपुग्ने भन्दै उनले नेपालको सापेक्षतामा मौलिक ढङ्गको समाजवादको झण्डा स्थापित गरेरै छाडिने उनको जोड थियो। नेकपाका नेता डिपी ढकालद्वारा लिखित ‘पूँजीवादी र समाजवादी अर्थ राजनीतिक विकासक्रम’ नामक पुस्तकको सार्वजनिक गर्नुहुँदै अध्यक्ष दाहालले नेपालमा कस्तो ढाँचाको समाजवाद स्थापना गर्ने भन्नेबारेमा आफूहरु सबै अग्निपरीक्षामा रहेको बताए ।

आफूले हिम्मत गरेर नै पार्टी एकतालाई अगाडि बढाएको उल्लेख गर्दै उनले समाजवादलाई समेत लागू गरेरै छाडिने प्रतिबद्धता व्यक्त गरे । विश्वका सबैखाले अनुभवलाई केन्द्रमा राखेर नेपालको आफ्नै मौलिकतामा समाजवादको जग तयार पार्न आफूहरु लागेको र विशाल कार्यकर्ताको पङ्क्तिले बहस र छलफल गरेर त्यसलाई थप समृद्ध पार्ने उनको भनाइ थियो ।

अध्यक्ष दाहालले आगामी दशक समाजवादको दशक हुने भएकाले त्यसलाई सफल बनाउन थप एकता, थप सुदृढ पहल जरुरी रहेको स्पष्ट पारे । उनले कुनै पनि दायाँबायाँ नगरी नेपाली जनतालाई साथमा लिएर समाजवादको नयाँ यात्रामा निस्कनसमेत नेपाली जनता, पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

उनले समाजवादको झण्डका कुनै पनि हालतमा झुक्न नदिने उल्लेख गर्दै भने, “हिजो देखेको सपना तथा हामीले भन्दै आएको वैज्ञानिक समाजवादको झण्डा कुनै पनि हालतमा भुक्न दिइँदैन बरु थप सुदृढ बनाइन्छ।” कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको आफ्नै मौलिक खालको समाजवादी अवधारणका लागि सबैको सार्थक प्रयोग गर्नुपर्नेमा जोड दिए ।

उनले समाजवादी आन्दोलनलाई नयाँ ढङ्गले अगाडि बढाउन नीति, कार्यक्रम र योजनासमेत सोहीअनुसारको तयार पार्नुपर्नेमा जोड दिए । नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले दलाल पूँजीवादी चरित्र अंगाल्ने कि समाजवादी चरित्र अंगाल्ने भन्नेमा नै दुविधा जस्तो देखिएका कारण जनतामा अन्योलता बढेको बताए ।

प्रजातन्त्र, लोकतन्त्रको नाममा हुने चुनाव पद्दतिमा नै कही न कतै समस्या रहेको भन्दै उनले त्यसले क्रान्तिका पक्षमा भन्दा पनि दलाल पूँजीवादको पक्षमा पृष्ठपोषण गरेकाले निर्वाचन प्रणाली नै बदल्नुपर्ने आवश्यकता औँल्याए । वाम विश्लेषक हरि रोकाले कम्युनिस्ट सरकारले जनताका न्यूनतम आवश्यकता पूरा गर्नुपर्नेमा जोड दिए।

ठूलाठूला सपनाभन्दा पनि साना सामान कामबाट जनताकोे विश्वास जित्न उनले नेकपा र वर्तमान सरकारलाई आग्रह गरे। कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख प्रा डा कुसुम शाक्य र समाजशास्त्र विभागका प्राध्यापक युवराज लुइँटेलले ढकालको पुस्तककाबारेमा समीक्षा गरेका थिए । विश्व अर्थतन्त्र, समाजवाद, पूँजीवाद र नेपालको अर्थप्रणालीको साङ्गोपाङ्गो विषय समेटिएको उक्त पुस्तकलाई जागरण बुक हाउसले प्रकाशनमा ल्याएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *