चार बिघा जग्गा दोदा नदीले कटान गरी बगायो
कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका– ४ सिकलपट्टि जाइका किसानको जग्गा दोदा नदीमा आएको बाढीले कटान गरी बगाउन थालेको छ।तीन दिनको अवधिमै नदीमा लगातार आएको बाढीले ४० परिवारको चार बिघा खेती लगाइएको जग्गा कटान गरी बगाएको छ।
नदीको बाढीले मकै र धानबाली रोपेको खेत बगाउन थालेको वडाध्यक्ष बहादुर रानाले बताए । लगातारको वर्षासँगै नदीमा आएको बाढीले जग्गा बगाउन थालेपछि बस्तीसमेत जोखिममा रहेको छ। उनले भने, “तत्काल जग्गा कटानको कार्य नरोकिए बस्तीनै विस्थापनमा पर्छ।”
नदी नियन्त्रणका लागि गाउँपाललिकाले तत्काल अल्पकालीन योजना अगाडि बढाउनुपर्ने स्थानीयवासी लक्ष्मण रानाले बताए । ५०० मिटरको क्षेत्रमा नदीले लगातार जग्गा कटान गरिहेकाले स्थानीय बासिन्दा पानी पर्नासाथ अनिदोमै रात बिताउन थालेका छन्।
नदीले मकै रोपेको १० कठ्ठा जग्गा तीन दिनको अवधिमै बगाएर लगेको स्थानीयवासी मनोज रानाले बताए । उनले भने, “थोरै जग्गा थियो, त्यही पनि नदीले बगाएर बेघर बनाउन थालेको छ । घरनै बगाउने चिन्ता छ ।” गुरुयोजनासहित नदी नियन्त्रणका लागि योजना ल्याई बस्ती विस्थापन हुनबाट जोगाउनुपर्ने स्थानीय बासिन्दाको भनाइ छ।
नदीले जग्गा कटान गरिहेको क्षेत्रको अवलोकनका लागि पुग्नुभएका नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका सभापति टेकराज उप्रेतीले विपद्को जोखिममा परेका बासिन्दासँगै रेडक्रस रहेको बताए । तत्काल गाउँपालिका, प्रदेश र केन्द्र सरकारले जग्गा कटान भइरहेको क्षेत्रमा तारजालीसहितको ढुङ्गाको तटबन्ध बनाउनका लागि पहल गर्नुपर्ने आवश्यकता छ।
स्थानीय तहले जग्गा कटान हुनबाट जोगाउनका लागि प्रयास गर्नुपर्ने उनको भनाइ छ। नदीमा पानीको बहाव उच्च रहेकाले जग्गा कटान जारी छ। वितग पाँच वर्षको अवधिमै यस क्षेत्रका बासिन्दाको २०० बढी बिघा जग्गा नदीले कटान गरी बगरमा परिणत गरिसकेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment