पुटिन र उनका युक्रेनी समकक्षीबीच वार्ता

डिसी नेपाल
२२ भदौ २०७६ २३:१७

मस्को (रासस/एएफपी)। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार राति नयाँ शान्ति वार्ताका लागि टेलिफोन वार्ता गरेको रूसी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

लामो प्रयासपछि शनिबार दुवै देशका गरी ७० कैदीबन्दीहरूलाई आदानप्रदान गरिएपछि उनीहरूबीच साँझ टेलिफोनमार्फत कुराकानी भएको हो ।

रिहा भएका बन्दीमध्ये २४ जना यूक्रेनी डुङ्गा चालक, यूक्रेनी फिल्म निर्माता ओलेग सेन्टसोभ तथा रूसी–यूक्रेनी पत्रकार किरिलो भाइसिन्स्कीलगायत रहेको यूक्रेनी पक्षले जानकारी गराएको छ भने यूक्रेनले रिहा गरेका रूसी बन्दीहरूबारे जानकारी प्राप्त हुनसकेको छैन ।

यूक्रेनी राष्ट्रपतिको कार्यालयका अनुसार युद्धका क्रममा विभिन्नस्थानबाट नियन्त्रणमा लिइएका बन्दीहरूलाई रिहा गर्ने सहमति कार्यान्वयनको बिषयमा दुवै देशका नेताहरू सन्तुष्ट देखिएका उल्लेख गरेको छ ।

रूसी राष्ट्रपति पुटिन र उनका यूक्रेनी समकक्षी जेलेन्स्कीबीच ‘नोर्मान्डी ढाँचा’ अनुरूप रहेर छलफल गर्न एक शिखर सम्मेलनको आयोजना गर्ने सहमति भएको र वार्तामा फ्रान्स र जर्मनीलाई पनि समावेश गरिने सहमति भएको छ । तर वार्ताका लागि मिति भने निकट भविष्यमा तोकिने बताइएको छ ।

रूस र यूक्रेनबीच कैदीबन्दी आदानप्रदान गर्ने महत्वपूर्ण सहमतिपछि उनीहरूलाई स्वदेश फिर्ता गर्ने प्रक्रियाअन्तर्गत ७० कैदीहरूलाई रूसको राजधानी मस्को र यूक्रेनको राजधानी किभस्थित विमानस्थलमा उनीहरूलाई शनिबार अवतरण गराइएको थियो ।

यूक्रेनी ३५ कैदीबन्दीलाई लिएर गएको रूसको विमानलाई यूक्रेनी विमानस्थलमा ओरालिएका थियो भने त्यति नै रूसी कैदीलाई लिएर गएको विमान रूसको राजधानी मस्कोमा अवतरण गरी कैदीहरूलाई सम्बन्धित देशका अधिकारीको उपस्थितिमा कैदीको आदानप्रदान गरिएको एएफपीले जनाएको छ । दुवै देशका कैदी विमानस्थलमा झरेको दृष्यलाई त्यहाँका टेलिभिजनद्वारा प्रत्यक्ष देखाएका थिए ।

यसैबीच, कैदीहरूको आदानप्रदान गर्ने रूस र यूक्रेनको निर्णयलाई अमेरिका, जर्मनी र फ्रान्सलगायतका विश्वसमुदायले प्रसंशा गरेका छन् । जर्मन चान्सलर एन्गेला मर्केलले उक्त घटनालाई ‘आशाको सङ्केत’ का रूपमा उल्लेख गरेकी छन्। उनले सन् २०१५ मा पेरिस र बर्लिनमा भएका युद्धविराम सम्झौतालाई पूर्ण कार्यान्वयनमा लान आग्रह गरेकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *