‘सटर स्रोत’को भरमा धार्मिक संस्था

डिसी नेपाल
२३ भदौ २०७६ १२:०७

बाँके । नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर सटर विवादका कारण चर्चामा छ।मन्दिर क्षे त्रमा व्यापारिक प्रयोजनका सटरहरु निर्माण गर्ने वा नगर्ने भन्नेमा विवाद चुलिएको छ। अधिकांशको सुझाव र दबाब मन्दिर परिसरमा सटर नबनाऊँ भन्ने छ । ‘अनि मन्दिर व्यवस्थापन खर्च कसरी चलाउने ?’, बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको अहिलेको तनाव यति मात्रै हो।

बागेश्वरी मन्दिर क्षेत्रको सडक चौडा गर्ने क्रममा पुराना सटरहरु भत्किएपछि नयाँ बनाउने योजना बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले अगाडि सारेको थियो। व्यवस्थापन समितिको यो निर्णय कार्यान्वयन हुन नपाउँदै सटरको विषय सबैको चर्चाको विषय बन्यो। मन्दिर व्यवस्थापन तथा आवश्यक खर्च व्यवस्थापन गर्न सटर भाडाबापत आम्दानी हुने रकम मुख्य हो।

मन्दिर व्यवस्थापनका लागि आवश्यक पर्ने विभिन्न खर्च व्यवस्थापन गर्ने मुख्य आम्दानीको स्रोत सटर भाडाबापतको रकम भएको बागेश्वरी गुठी व्यवस्थापन समितिका अध्यक्ष डा धवलशम्शेर राणाले बताए । आर्थिक स्रोतकै अभावले लामो समयदेखि मन्दिरले विभिन्न शीर्षकको भुक्तानी गर्नुपर्ने रकम बाँकी थियो। डा राणा नेतृत्वको वर्तमान समितिले सटर भाडाबापतको रकम असुली गरी मन्दिरको ऋण तिरिसकेको जनाएको छ।

धेरै मिहिनेत गरेर सटरको भाडा उठाउन सफल भएको जानकारी दिँदै अध्यक्ष डा राणाले विभिन्न स्रोतबाट व्यवस्थापन धान्नुपरेको बताए । पुरानो सटरहरुबाट भाडाबापत मात्रै मासिक रु ६० हजारको हाराहारीमा भाडा उठ्ने गरेको र सो भाडाको रकम मन्दिरको मुख्य आम्दानीको स्रोत भएको समितिको भनाइ छ।

अब नयाँ बन्ने सटरको भाडा दर रु १० हजार कायम गरी सम्झौता भई निर्माणका क्रममा विवाद भएपछि काम रोकिएको छ। “हजार/पाँचसय भाडामा चलेका सटरहरुलाई कम्तीमा रु १० हजार मासिक भाडा सम्झौता गरिएको छ”, गुठीका सचिव गोपाल अधिकारीले भने, “१६ वटा पुरानै व्यवसायीलाई दिने सम्झौता छ, एउटा भने खुला प्रतिस्पर्धामा भएकाले रु ५१ हजारमा गएको छ ।” उनीहरुसँग सटर निर्माणका लागि रु दुई लाखप्रति सटर पेश्कीसमेत लिइएको छ। निर्माणको शुरुमै विवाद उत्पन्न भएपछि काम रोकिएको छ।

बागेश्वरी मन्दिरदेखि करीब ३०० मिटर नजीकै रहेको शिख धर्मावलम्बीहरुकोे आस्था केन्द्र गुरुद्वारा श्री गुरुनानक सिंहसभा पनि नेपालगन्ज क्षेत्रको अर्को धार्मिकस्थलका रूपमा छ। शिख धर्मावलम्बीको मुख्य धार्मिकस्थल गुरुद्वारा व्यवस्थापनको मुख्य आम्दानीको स्रोत पनि सटर भाडा नै हो। “गुरुद्वाराका गेटमा जोडिएका चार वटा सटरबाट आउने भाडा नियमित स्रोत हो”, गुरुद्वारा श्री गुरुनानक सिंहसभा व्यवस्थापन समितिका सचिव अमरजीत सिंहले भने ।

एउटा सटरको मासिक रु आठ हजारका दरले चार वटाको रु ३२ हजार सटरबाट, विभिन्न समुदाय तथा व्यक्तिहरुले गर्ने दानबापत रु २५ हजार गरी मासिक रु ५७ हजार बराबरको रकम आम्दानी हुने गरेको सिंहले बताए । मासिक रु ४२ हजार पुजारी तथा अन्य कर्मचारीको तलब, रु २० हजार विद्युत् महसुल तथा अन्य व्यवस्थापनमा खर्च हुने गरेको बताउँदै सिंहले भने, “खर्च व्यवस्थापनको मुख्य आयस्रोत सटर नै भएका छन्।”

इस्लाम धर्मावलम्बीहरुको सबैभन्दा पुरानो र ठूलो मस्जिदका रूपमा रहेको जामा मस्जिद सटर भाडाबाटै टिकेको छ । इद, बकरइद लगायतका मुख्य पर्वमा सामूहिक प्रार्थना ९नमाज० का लागि विपी चोकस्थित इदगाहमा ठाउँ नपुग्दा सडक पूरै ढाकिएको अवस्था देखिन्छ। तर, नमाजस्थल इदगाहलाई दर्जनौँ सटरले घेरिएरको छ । नेपालगन्जको एकलैनीमा रहको जामा मस्जिद यो क्षेत्रकै पुरानो र इस्लाम धर्मावलम्बीहरुको मुख्य केन्द्रविन्दुका रूपमा रहेको बताइन्छ।

उक्त मस्जिदको नाममा मात्र विभिन्न ठाउँमा गरी ४६ वटा जति सटरहरु रहेका छन् । मस्जिद सञ्चालन तथा व्यवस्थापनका लागि हुने विभिन्न शीर्षकको खर्च रु तीन लाख बराबरको व्यवस्थापन गर्न सटर भाडा नै मुख्य स्रोत हो। “सटर भाडाबापत मात्रै मासिक रु तीन लाखभन्दा बढी आम्दानी हुने गरेको छ”, दारुउल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालन समितिका कोषाध्यक्ष मो। नाफिस अन्सारीले भने।

उनका अनुसार मस्जिदको मुख्य आम्दानीको स्रोत सटर नै हो। धार्मिक कार्यका लागि स्वावलम्बी तरिकाले आम्दानी गर्ने माध्यम सटर बनेकोे भन्दै उहाँले सटरहरु नभएको भए धार्मिक थलो नै लोप हुने अवस्थामा जाने बताए । नेपालगन्जको बिटिएस चोक नजीक रहेको इसाई धर्मावलम्बीहरुको ज्योति निवास चर्च व्यवस्थापन तथा सञ्चालनको पनि आफ्नै तरिका छ।

चर्च व्यवस्थापन तथा सञ्चालनका लागि लाग्ने विभिन्न खर्च हरेक शनिबार हुने सङ्गतिमा भेटीबापत जम्मा हुने रकम नै आम्दानीको स्रोत हो। सङ्गतिमा आउने व्यक्तिहरुले चढाउने भेटीबापत मासिक रु ५० देखि ७० हजारसम्म आम्दानी हुने र सोही बराबर विभिन्न शीर्षकमा खर्च हुने चर्चका वरिष्ठ पास्टर बेन्जामिन श्रेष्ठले बताए।

भेटीबापत जम्मा हुने रकमबाहेक अन्य आम्दानीको स्रोत नभएको उनले बताए । “जातीय संस्थाहरुको आर्थिक सहयोग नै गुम्बा सञ्चालनको स्रोत बनेको छ”, नेपालगन्ज उपमहानगपालिकाका उपप्रमुखसमेत रहेकी जनजाति महासङ्घका पूर्वपदाधिकारी उमा थापामगरले बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र न्युरोडस्थित बौद्ध गुम्बा सञ्चालन स्रोतबारे भने। सभाहलसमेत रहेको गुम्बा परिसरमा गरिने कार्यक्रमबापत प्रदान गरिने रकम सहयोगी बन्ने गरेको उनले बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *