सुरु भयो इन्द्रजात्रा, वसन्तपुरमा यसरी ठड्याइयो लिङ्गो (फोटोफिचर)

डिसी नेपाल
२४ भदौ २०७६ ११:५०

काठमाडौँ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा मंगलबारबाट शुरु भएको छ।

इन्द्रजात्राको अवसरमा वसन्तपुरमा इन्द्रको मूर्तिस्वरुप लिङ्गो ठड्याइएको छ। लिङ्गोलाई विहान ९ बजेर १७ मिनेटको साइतमा उठाइएको थियो।

देवराज इन्द्रकी आमा बसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइउँदा फूल खोज्दै जाने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यले पारिजात फूल टिप्दै गरेका बेला पक्राउ गरेको किंवदन्ती छ।

जयन्तलाई छुटाउन देवता र दैत्यबीच सङ्ग्राम भई देवताको जित भएको खुशीयालीमा इन्द्रजात्रा मनाउँदै आएको मानिन्छ। इन्द्रजात्राको मुख्य दिन यही भदौ २७ गते दिउँसो ४ः०० बजे श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा शुरु हुन्छ।

त्यसदिन राष्ट्रपति विद्यादेवी भण्डारीले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गरी दान दक्षिणापछि रथयात्रा शुरु गर्न अनुरोध गर्ने परम्परा छ। त्यस दिन तल्लो टोलमा कुमारी यात्रा गराइनेछ।

भदौ २८ गते शनिबार माथिल्लो टोलमा रथयात्रा हुनेछ। भदौ ३१ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा गराइने संस्थानले जनाएको छ। त्यसै दिन राति करीब ८ः०० बजे जीवित देवी कुमारीसँग राष्ट्रपति भण्डारीले टीका प्रसाद ग्रहण गर्नेछिन्। टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले खड्ग साट्ने परम्परा छ। आगामी असोज १ गते बिहान ५ः३५ बजे लिङ्गो ढाल्ने (इन्द्रध्वज पातन) साइत दिइएको समितिले जनाएको छ।

लिङ्गो ढालेपछि वसन्तपुरबाट तानेर टेकुदोभान लगी वाग्मतीमा सेलाइनेछ। यसरी असोज १ गते तीन हप्ता लामो इन्द्रजात्रा समाप्त हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *