भारतको ‘चन्द्रयान’ चन्द्रमामा ल्याण्ड गर्ने बेला यस्ता गडबडी भएका थिए

डिसी नेपाल
२४ भदौ २०७६ १६:४८

बैंगलुरु। भारतको अहिलेसम्मकै सबैभन्दा महत्वाकांक्षी अन्तरिक्ष अभियान ‘चन्द्रयान-२’ असफल भएको छ । मिशन असफल भएसँगै यस विषयमा धेरैले भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)सँग यस विषयमा धेरै जिज्ञासा राखेका छन् । ४८ दिनसम्म सबै कुरा सोचेजस्तै भइरहेका बेला अन्तिम १५ मिनेटमा के भयो ? भन्ने विषयमा धेरैको चासो छ । इसरोले यो १५ मिनेटको समयलाई निकै संवेदनशील बताएको थियो ।

इसरोले दिएको जानकारीअनुसार बिक्रम ल्याण्डरले योजनाअनुसार शनिबार राती ८ बजे चन्द्रमामा सफ्ट ल्याण्डिङको प्रयास सुरु गरेको थियो । त्यसपछिको १० मिनेटमा उसले पहिलो चरण पूरा गर्यो । त्यतिबेलासम्म ल्याण्डर ३० किलोमिटरको उचाइबाट ७.४ किलोमिटरको उचाइमा पुग्यो । इसरोले यसको लागि जुन ट्रेजेक्टरी (बाटो) तय गरेको थियो,ल्याण्डर बिल्कुल त्यही बाटोमा गएको थियो । त्यसपछिको ३८ सेकेण्डमा ल्याण्डर ५ किलोमिटरको उचाइमा पुग्नुपर्ने थियो ।

यस बीचमा बिक्रम ल्याण्डरको फाइन ब्रेकिङ पनि सुरु भयो । केही सेकेण्डको लागि ल्याण्डर पूरै उल्टो भयो । यतिबेला थस्टर इन्जिन चालु थिए त्यसैले तल जाने उसको गति घट्नुपर्नेमा झनै बढ्यो । अर्को चरणमा ल्याण्डरले ५ किलोमिटरको उचाइबाट ४०० मिटरको उचाइमा पुग्नुपर्ने थियो । तर, यतिबेला केही पनि ठिक भएन र ल्याण्डर निर्धारित बाटोबाट हट्यो । इरोका प्रमुख के सिवनले घोषणा गरे कि २.१ किलोमिटरको उचाइसम्म ल्याण्डरको प्रदर्शन सही थियो त्यसपछि ग्राउण्ड स्टेशनबाट सम्पर्क विच्छेद भयो । डाटाको विश्लेषण जारी छ र यस विषयमा थप जानकारी खोजिँदैछ ।

३३५ मिटरको उचाइमा पुगेको अन्तिम टेलिमेट्री डाटा प्राप्त भएको थियो । ल्याण्डरको होरीजोंटल गति ४८.१ मिटर प्रतिसेकेण्ड थियो । यो गति शून्य हुनुपर्ने थियो । भर्टिकल गति ५९ मिटर प्रतिसेकेण्ड थियो । यो गति र चन्द्रमाको गुरुत्वाकर्षण शक्तिको आधारमा ल्याण्डर चन्द्रमाको सतहमा जोडले पछारिएको सम्भावना भएको इसरोले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *