निर्वाचनपूर्व इजरायली प्रधानमन्त्री नेतन्याहुले रूस भ्रमण गर्ने

डिसी नेपाल
२५ भदौ २०७६ ५:२३

जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आगामी साता रूसको भ्रमण गर्ने भएको उनको कार्यालयले मङ्गलबार जनाएको छ । नेतन्याहुको रूस भ्रमण सेप्टेम्बर १७ मा हुने निर्वाचनमा आफ्नो नेतृत्वका लागि रूसी समर्थन लिन हुन लागेको इजरायली विश्लेषकहरूले बताएका छन् ।

नेतन्याहु रूसको सोचीतर्फ आगामी बिहीबार जाने कार्यक्रम तय भएको र त्यहाँ उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेने अपेक्षा गरिएको छ । निर्वाचन आउन केही हप्ता बाँकी रहँदा रूस भ्रमण गरेर आफ्नो पक्षमा निर्वाचन परिणाम ल्याउने उद्देश्यसहित त्यसतर्फ जान लागेको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन्।

निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने र अर्को पटकसमेत इजरायललाई नेतृत्व गर्ने सोचमा रहेका नेतन्याहुले इजरायली इतिहासमा सवैभन्दा लामो समय प्रधानमन्त्रीका रूपमा काम गरिसकेका छन् ।

उनले आफ्ना प्रतिस्पर्धी राष्ट्रवादी इजरायल बेटेनु पार्टीका अभिडोर लिवरम्यानको प्रभाव क्षेत्र रहेको मानिने पूर्व सोभियत संघबाट इजरायल आई बसोबास गरेका मतदातालाई प्रभावित पार्न रूसको भ्रमण गर्न लागेको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन्।

नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति पुटिन साथै विश्व नेताहरूसँग आफ्नो असल सम्बन्ध रहेको र इजरायललाई आफ्नो आवश्यकता पुष्टि गर्ने दाउका रूपमा विश्लेषकहरूले हेरेका छन्।

प्रधानमन्त्री नेतन्याहुले रूसी राष्ट्रपतिसँग सिरियामा इरानका गतिविधिबारे छलफल गर्ने र इजरायल तथा रूसबीचको सम्बन्ध विस्तारका लागि हुने बताएका उनको कार्यालयले जनाएको छ।

इजरायलले इरानी हेजवुल्ला समूहलाई लक्षित गरी सिरियामा सयौँ हवाई आक्रमण गरिसकेको र सिरियामा इरानी उपस्थितिविरूद्ध सङ्घर्षरत रहेको बताउँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *