अस्पतालमा अत्यधिक चाप बढेपछि उपचारै नगराई फर्किनथाले बिरामी

डिसी नेपाल
२५ भदौ २०७६ ९:४५

लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट बिरामी फर्किन थालेका छन् । अस्पतालका सबै बेड बिरामीले भरिएपछि उपचारका लागि आएका बिरामी फर्किएर अन्यत्र जान बाध्य भएका हुन् । सरकारी अस्पतालमा डेङ्गु र भाइरल ज्वरोका बिरामीको चाप बढेपछि बिरामी महङ्गो शुल्क तिरेर निजी अस्पताल र क्लिनिकमा जान बाध्य छन् ।

दम बढेपछि मङ्गलबार लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आएकी मुर्गीया निवासी भीमकला भण्डारी बेड नभएपछि फर्किईन् । “अस्पतालमा ठाउँ छैन भन्छन्, सबै ज्वरो र डेङ्गुका बिरामी छन् रे”, ह्विलचियरमा छोरासँग अस्पताल आउनुभएकी भण्डारीले भने बेड अभाव भएपछि कतिपय बिरामीको भुइँमै राखेर उपचार भइएको छ। कपिलवस्तुको महाराजगञ्जबाट नवजात शिशुको उपचारका लागि आउनुभएकी एक दिनकी सुत्केरीले समेत भुइँमै बसेर शिशुको उपचार गराईरहेका छन्।

“राति बच्चा जन्मिएको हो, मुखबाट आवाज ननिस्किएपछि जचाउन यहाँ ल्याएका हौँ, तर अझै चिकित्सक आएका छैनन्, हामीलाई यही बस्न भनिएको छ”, सुत्केरी आस्मा खातुनले भने । भाइरल ज्वरो र डेङ्गुको सङ्क्रमण बढेपछि अस्पतालको आकस्मिक कक्षमा रहेका सबै बेड बिरामीले भरिएका छन्। ठाउँ अभाव भएपछि आकस्मिक कक्षमा रहेका २४ वटै बेडमा दुईदेखि तीनसम्म बिरामी राखेर उपचार गर्ने काम भइरहेको छ।

एउटै बेडमा तीनसम्म बस्नु पर्दा समस्या भएको बिरामीको गुनासो छ । “राम्रोसँग सुत्न मिल्दैन, शरीर दुखेर अडिन सकेको छैन, महिला भएको बेडमा कसरी सुत्नु” डेङ्गुको उपचारका लागि अस्पतालमा भर्ना हुनुभएका बुटवल हाटबजारका रोशन कुमारले भने । ठाउँको अभावले एउटै बेडमा महिला र पुरुष राख्दा झनै समस्या भएको छ । “ज्वरोले शरीर दुखेर बस्न मिलेको छैन, सुत्नलाई ठाउँ पुग्दैन”, अस्पतालमा उपचारका लागि भर्ना हुनुभएकी अर्घाखाँची नरपानीकी अम्बिका पाण्डेले दुखेसो गरिन् ।

अस्पतालमा दैनिक एक हजार १०० बिरामीले सेवा लिँदै आएका छन् । आकस्मिक कक्षमा मात्रै दैनिक २०० को उपचार हुने गरेको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा कृष्ण खनालले जानकारी दिए । “अस्पतालमा बिरामीको चाप हुँदा एउटै बेडमा धेरै बिरामी राखेर उपचार गर्न बाध्य छौँ”, डा खनालले भने, “अहिले भाइरल ज्वरोको सङ्क्रमण बढी हुँदा अस्पताललाई बिरामी थेग्न समस्या भएको छ।”

भदौको शुरुआतदेखि जिल्लामा डेङ्गु र भाइरल ज्वरोको प्रकोप बढेपछि लुम्बिनी प्रादेशिक मात्र नभई जिल्लाका सबै अस्पतालमा बिरामीको चाप छ।पछिल्लो एक हप्तामा डेङ्गुको सङ्क्रमण बढेपछि अस्पतालमा बिरामीको चाप झनै बढेको छ। बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालसहित बुटवल हस्पिटल प्रालि, गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, क्रिमसन अस्पताल मणिग्राम तथा भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेजमा बिरामीको चाप बढेको छ।

“अस्पतालमा बिरामीको चाप बढी छ, दैनिक ३० देखि ४० भाइरल ज्वरोका बिरामी आउँछन्”, मेडिकल कलेज भैरहवाका प्रबन्धक कमल शर्माले भने । बुटवलका अन्य निजी अस्पतालमा पनि भाइरल ज्वरोका बिरामीहरुको चाप छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *