जापानमा दोस्रो ‘सूर्य इन्टरनेशनल अवार्ड’ हुँदै, यी १२ विधा समेटिने

डिसी नेपाल
२५ भदौ २०७६ १२:४८

काठमाडौं। जापानको टोकियोमा हुने ‘सूर्य इन्टरनेशनल अवार्ड’को दोस्रो शृंखलाको घोषणा गरिएको छ।

मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच अवार्ड आयोजक कम्पनी सूर्य कर्पोरेशन लिमिटेडका अध्यक्ष बासुदेव लामिछानेले दोस्रो शृंखला आउँदो नोभेम्बरमा हुने घोषणा गरेका हुन्। अभिनय, गायन, नृत्य र हास्यविधामा रहेर अवार्ड आयोजना गरिने र अघिल्लो वर्षभन्दा झनै भब्य बनाउने उनले बताए।

घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्ले, अभिनेता भुवन केसी, अभिनेत्री गौरी मल्ल, गायक रामकृष्ण ढकाल, अभिनेत्री श्वेता खड्का, गायक हेमन्त शर्मा, अभिनेत्री सरिता लामिछाने, निर्देशक ऋषि लामिछाने, गायक कमल खत्री, अभिनेता प्रशान्त ताम्राकार, गायक युवराज चौलागाईं, गायिका मिलन अमात्य र एञ्जिला रेग्मी, गायक हेमन मोक्तान , निर्माता अमृत घोले लामा लगायतको उपस्थिति रहेको थियो।

आउँदो नोभेम्बर २४ मा टोकियोमा अवार्ड हुने मंगलबारको कार्यक्रममा जानकारी गराइयो। यसपटक ६ चलचित्र र ६ संगीतका विधालाई समेटिएको छ। केही दिनमा नोमिनेशन सार्वजनिक गरिनेछ र नोमिनेशनमा परेकालाई आयोजककै ब्यस्थापनमा टोकियो लगिने कार्यक्रममा जानकारी गराइयो।

अवार्ड अगाडी साताब्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरिने छ। जसमा स्थानीय मिडियाकर्मीसंगको भेटघाट, चलचित्र र पर्यटन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रमहरु रहनेछन्। नेपाली चलचित्र क्षेत्रलाई नै फाइदा पुर्याउने उद्धेश्यले अवार्ड आयोजना गर्न लगिएको हो।

अवार्डमा गतवर्ष अर्थात २०७५ साल बैशाख १ देखि चैत्र ३० गतेसम्म सार्वजनिक भएका चलचित्र तथा गीतसंगीतले सहभागिता जनाउन पाउनेछन्। पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन्।

अवार्ड समारोहमा दुई दशक लामो चलचित्र यात्रा तय गरेका एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड, एक दशक लामो चलचित्रयात्रा तय गरेका चलचित्रकर्मीलाई चलचित्रकर्मी सम्मान, एक पत्रकारलाई चलचित्र पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ। परेका आवेदनको आधारमा छनौट समितिले टप ३ को नोमिनेशन सार्वजनिक गर्नेछ।

कार्यक्रमको अफिसियल एमसीको रुपमा नरेश भट्टराई रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *