चेकमा लेखेको जीरो दोहोर्याएर पढ्ने हामीले फिल्मको कथा पढ्न भने जाँगर गर्दैनौं : विल्सनबिक्रम राई

डिसी नेपाल
३१ भदौ २०७६ १२:५१

काठमाडौं। चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’बाट आफूलाई धेरै कुराको सिकाई भएको अभिनेता विल्सनब्रिकम राईले बताएका छन्। कुनै पनि कलाकारले चलचित्र खेल्नुअघि कथा राम्रोसंग पढ्नैपर्छ भन्ने सिकाई ‘कबड्डी कबड्डी कबड्डी’ले दिलाएको विल्सनले बताए।

सोमबार राजधानीमा सञ्चारकर्मीसंग कुरा गर्दै विल्सनले भने, –‘अहिलेसम्म मैले कथा राम्रोसंग पढ्दै नपढी, चरित्र बुझ्दै नबुझी ल ठिक छ भन्दै चलचित्र गरिरहेको रहेछु। तर, यस चलचित्रबाट कथा राम्रोसंग पढ्नैपर्ने रहेछ भन्ने सिकेँ। जसले मलाई अगाडिका चलचित्रमा सहज बनाउनेछ।’ उनले अगाडी थपे, –साँच्चै भन्नुपर्दा चेकमा लेखेको जीरो दोहोर्याएर पढ्ने हामीले फिल्मको कथा पढ्न भने जाँगर गर्दैनौं।’ उनले यस चलचित्रले आफूलाई कथामा सिरियल हुन् सिकाएको दोहोर्याए।

‘तक्मेबुढा’को ट्यागबाट चिनिँदै आएका विल्सनले आफूलाई चलचित्रको चरित्रमा ढाल्न निकै चुनौती भएको बताउँछन्। चुनौतीकै कारण उनले सुरुमा आफ्नो सट फेल भएको सुनाए।

सुटिङ अघि वर्कशप भएको थियो। विल्सनले सोँचे वर्कशप गरियो, अब सुटिङ सेटमा पुगेपछि बुझिहाल्छु। तर, भईदियो अर्कै।

उनले भने, –‘पहिलो दिन रोटी खाएको सिनको छायांकन थियो। मैले सट त दिएँ तर निर्देशकले न ओके भन्नुभयो न कट नै । मलाई तनाव भयो । पछि निर्माताले भन्नुभयो, हिरो बनाउन ल्याएको थियौं, कहाँ चंखे बनिरहेको ?’ अनि बल्ल आफू अझैं तक्मेबुढाकै धङधङीमा रहेको भान भयो।’
त्यसपछि नै हो, विल्सनले कथा अध्ययनमा ध्यान दिनुपर्छ भन्ने फिल गरेको।

यसअघिको चलचित्रमा आफू तक्मे बनेर अभिनय गर्दा जसले पनि ठिक छ भनिएकाले यी कुराहरु सिक्न नपाएको विल्सन बताउँछन्। काम भन्दा पारिश्रमिकलाई महत्व दिने समस्या चलचित्र क्षेत्रमा रहेकोले अन्य कलाकारहरुले पनि कथा राम्रोसंग पढनैपर्छ भन्ने कुरा सिक्नु जरुरी रहेको उनले बताए।

आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। चलचित्रमा दयाहाङ राई लिड भूमिकामा छन्। साथमा उपासना सिंह ठकुरी, विल्सन, रिश्मा गुरुङ्ग, कर्मा, बुद्धि तामाङ, विजय वराल लगायतका कलाकारहरुको अभिनय छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *