थाईल्यान्डको बौद्ध मन्दिरबाट उद्धार गरिएका ८६ वटा बाघको मृत्यु

काठमाडौँ । थाईल्यान्डको एउटा विवादास्पद बौद्ध पर्यटकीय केन्द्रबाट उद्धार गरिएका एक सय ४७ बाघमध्ये आधाभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। टाइगर टेम्पल भनिने उक्त स्थानबाट सन् २०१६ मा उद्धार गरिएका ८६ वटा बाघको मृत्यु भएको हो। थाईल्यान्डको वन्यजन्तु निकुञ्ज हेर्ने निकायले धेरै बाघको मृत्यु भाइरसका कारण भएको र बसाइसराइले निम्त्याउने तनावका कारण बाघहरू दुर्बल भएको उल्लेख गरेको छ।

अधिकारीहरूले बाघको प्रजननसँग जोडिएका आनुवंशिक कारणले पनि ती संरक्षित जीवको मृत्यु भएको दाबी गरेका छन्। तर संरक्षणकर्ताहरूले ती बाघलाई सुरक्षित स्थानमा राखिएको थियो कि थिएन भनेर प्रश्न गरिरहेका छन्। दुर्व्यवहार गरेको, तिनको तस्करी गरेको वा गैरकानुनी प्रजनन गराएको आरोप अस्वीकार गरेका छन्। सन् २०१६ देखि उक्त मन्दिर परिसर सर्वसाधारणका लागि बन्द गरिएको छ र यसबारे धेरै मुद्दा चलिरहेका छन्।

बाघलाई के भयो ?

सन् २०१६ मा प्रहरीले छापा मारेपछि बाघहरूलाई राचाबुरी प्रान्तमा रहेका दुईवटा प्रजनन केन्द्रमा सारिएको थियो। त्यत्तिकै छोड्दा जीवित रहने सम्भावना न्यून हुने ठानेर बाघलाई त्यहाँ राखिएको विश्वास गरिन्छ। तर अहिले १४७ मध्ये ६१ वटा बाघ मात्रै जीवित छन्। थाई अधिकारीहरूले सीडीभी भनिने केनाइन डिस्टेम्पर भाइरसका कारण केही बाघ बिरामी परेको बताएका छन्।

धेरैलाई सास फेर्न अनि खान अप्ठेरो भएको थियो। यो समस्याका भएका धेरै बाघको अन्ततः मृत्यु भयो। रोएटर्स समाचारसंस्थासँग कुरा गर्दै टाइगर टेम्पलका संरक्षक अथिथत श्रीमानीले प्रजननका कारण बाघको मृत्यु भएको अस्वीकार गरे। उनले सरकारले आरोप प्रत्यारोपको खेल खेलिरहेको बताए।

वाइल्डलाइफ फ्रेन्ड्स फाउन्डेशन थाईल्यान्डका एड्विन विकले बीबीसीसँग कुरा गर्दै बाघहरूलाई सानो पिँजडा खाँदिएकाले रोग फैलिएको बताए। उचित आहारा र पोषण, सफा पानी र हिँडडुल गर्न मिल्ने फराकिलो क्षेत्र उपलब्ध गराउँदा उनले केनाइन डिस्टेम्पर निको पार्न सकिने उनले बताए। तर सरकारले सीमित बजेट उपलब्ध गराएको त्यो सम्भव नभएको उनको भनाइ छ। उनले अधिकारीहरूले बाहिरबाट सहयोग माग्नुपर्नेमा सबै काम आफैँ गर्ने अड्डी लिएको पनि उल्लेख गरे।

दुईवटा सरकारी केन्द्रहरूमा यतिका सङ्ख्यामा बाघहरूको मृत्यु भएपछि यसले बन्धक बनाइएका बाघको व्यवस्थापनसम्बन्धी चुनौतीलाई बाहिर ल्याएको छ। थाईल्यान्डमा मात्रै नभई छिमेकी लाओस र चीनमा पनि यस्तो चुनौती देखिन्छ। थाईल्यान्ड र लाओस दुवैले बाघ प्रजनन गराउने केन्द्रमा बन्धक बनाएर राखिएका बाघको सङ्ख्या घटाउने वाचा गरेको भए पनि तिनको सङ्ख्या बढ्दै गएको छ।

अहिले थाईल्यान्डमा त्यसरी राखिएका बाघको सङ्ख्या लगभग दुई हजार छ। धेरैलाई सरकारी स्तरमा नभई निजी स्तरमा राखिएको छ। त्यसरी नियन्त्रणमा राखिएका बाघहरू नाफा कमाउने माध्यम पनि हुन्। उनीहरू चिनियाँ पर्यटकमाझ लोकप्रिय छन्। थाईल्यान्ड भ्रमण गर्ने पर्यटकमध्ये झन्डै एकतिहाइ चिनियाँ छन्। बाघहरूले सजिलै प्रजनन गर्छन्।

बाघका अङ्गको तस्करी हुन्छ भन्ने आशङ्का छ। दक्षिणपूर्वी एशियामा घट्दै गएको भए पनि जङ्गली बाघको अवैध सिकार हुने गरेको छ। वन्यजन्तु संरक्षण अभियानकर्ताहरूले थाईल्यान्डका सरकारी निकायहरूले निजी रूपमा राखिएका बाघहरूलाई जिम्मा लिन थाल्नुपर्ने र त्यसका लागि थप रकम जुटाउनुपर्ने बताउने गरेका छन्। उनीहरूले बाघ उद्योगलाई कडा नियमन गर्नुपर्नेमा जोड दिएका छन्।

टाइगर टेम्पल के हो ?

बौद्ध भिक्षुहरूले ब्याङ्ककको पश्चिममा सञ्चालन गर्दै आएको उक्त पर्यटकीय केन्द्र कञ्चनाबुरी राज्यमा छ। एकदमै लोकप्रिय रहेको बेला त्यहाँ प्रवेश गर्ने पर्यटकले ६०० भाट शुल्क तिर्नुपर्थ्यो र उनीहरुले बाघलाई खाना खुवाउन वा बाघसँग तस्बिर लिन थप शुल्क तिर्नुपर्थ्यो। न्याश्नल जियोग्राफिकको एउटा समाचारमा भिक्षुहरूले बाघ प्रजनन गराएर नाफा कमाउने उद्देश्य राखेको आरोप लगाइएको थियो। वाइल्डलाइफ फ्रेन्ड्स फाउन्डेशन थाईल्यान्डले पनि बाघको तस्करी गरिएको प्रमाण रहेको आरोप लगाए पनि ठोस उदाहरण भने प्रस्तुत गरेको छैन।

सन् २०१४ को डिसेम्बरमा त्यहाँबाट तीनवटा तन्नेरी बाघ बेपत्ता भएपछि सरकारको ध्यानाकर्षण गराइएको थियो। ती बाघमा माइक्रोचिप राखिएको थियो। नियन्त्रणमा राखिएका सङ्कटापन्न वन्यजन्तुमा त्यस्तो चिप राखेर उनीहरूको निगरानी गर्नुपर्ने प्रावधान थाईल्यान्डमा छ। त्यसपछि त्यहाँका पशुचिकित्सकहरूले राजीनामा दिए र ती बाघहरूमा माइक्रोचिप निष्क्रिय पारिएको जनाए। सन् २०१६ मा प्रहरीले छापा मार्दा टाइगर टेम्पलको भान्सामा रहेको फ्रिजरमा ४० वटा बाघका डमरु मृतावस्थामा फेला परेका थिए। बीबीसी

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position