आलेख : प्रदेश नं ५ नेपाल भ्रमण वर्ष सफल बनाउने अभियानमा

डिसी नेपाल
३१ भदौ २०७६ १६:५७

बुटवल । नेपाल सरकारले आउँदो वर्षलाई नेपाल भ्रमण वर्ष २०२० भनी घोषणा गरेको छ।

भ्रमण वर्षको भब्य आयोजना गरी देशमा २० लाख बाह्य पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको छ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को मूल राष्ट्रिय सङ्कल्पलाई सार्थक बनाउन नेपाल भ्रमण वर्ष सहयोगी र सार्थक अभियान बन्ने अपेक्षा सरकारको छ।

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर नेपाल सरकारले देशैभर कार्यक्रम सञ्चालन गर्नेछ। यसै अनुरुप प्रदेश नं ५ सरकारले पनि प्रदेशमा रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी प्रतिफलमुखी क्रियाकलापमा स्थानीय नागरिकलाई समेत जोडेर भ्रमण वर्ष कार्यक्रम सञ्चालन गर्ने तयारीमा लागेको छ।

प्रदेश नं ५ सरकारले २०७६ साललाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरी आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधिहरु सञ्चालन गर्दैआएको छ। लुम्बिनी भ्रमण वर्षको घोषणा नेपाल भ्रमण वर्षको मूल उद्देश्यमा सहयोग पुर्याउने नै हो।

नेपाल भ्रमण वर्ष २०२० प्रदेश नं ५ को प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको सोमबार बसेको पहिलो बैठकमा भ्रमण वर्षका कार्यक्रमहरुलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरियो।

बैठकमा प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिका सहसंयोजक पर्यटन व्यवसायी माधव नेपालले नेपाल भ्रमण वर्ष २०२० का कार्यक्रमहरुको प्रभावकारी सञ्चालन र पर्यटकीय गन्तब्यको रुपमा प्रदेशको पहिचान बनाउन गरिने कार्यक्रमका बारेमा अवधारणा प्रस्तुत गरे।

उनका अनुसार प्रदेश नं ५ मा पर्यटन उद्योगको पूर्ण विकास र विस्तारका लागि प्रमुख हतियार बजार प्रवद्र्धन हो र यसका लागि प्रदेश नं ५ का आकर्षक गन्तव्यहरुको भरपर्दो सूचना प्रवाह, पर्यटकलाई सुरक्षाको प्रत्याभूतिको सन्देश, आवास तथा खानपिनका उचित सेवा र सुविधाको सुनिश्चितता गरेर नै प्रदेशका पर्यटकीय गन्तब्यहरुमा पर्यटक ओइरो लाग्ने वातावरण बन्न सक्छ।

उनको विचारमा प्रदेशका मुख्य पर्यटकीय गन्तब्यका रुपमा रहेका लुम्बिनी, स्वर्गद्धारी र ठाकुरद्वारालाई केन्द्रित र लक्ष्यित गरेर रौराहा, ढोरपाटन र मुक्तिनाथ जस्ता आसपासका अन्तर्राष्ट्रिय स्तरमै चर्चित गन्तब्यहरुको एकीकृत ब्रान्डिङ गरी पर्यटकीय गन्तब्यको रुपमा प्रवद्र्धन गर्नु नितान्त आवश्यक छ।

भ्रमण वर्षलाई सफलतापूर्वक सम्पन्न गर्न प्रमुख रुपमा निजी क्षेत्रकै महत्वपूर्ण भूमिका रहनेमा कुनै सन्देह छैन। सरकारले पर्यटन पूर्वाधारमा जोड दिएर निजी क्षेत्रले प्रवद्र्धन र बजारीकरणमा योगदान गर्न सके भ्रमण वर्ष अभियान सफल र सार्थक बन्छ नै।

प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि पुराना पर्यटकीय गन्तव्यहरुको विस्तार र प्रचारप्रसारका कामसँगै नयाँ पर्यटकीय गन्तब्यहरुको खोजी र पहिचान भइरहेको छ। पर्यटनसँग सम्बन्धित सरकारी, निजी तथा व्यावसायिक सङ्घ संस्थाहरुसँग हातेमालो गर्दै पर्यटकीय गतिविधिहरु अघि बढाउने कामसँगै होटल व्यवसायीहरुले आफ्ना सेवाहरुलाई विस्तार र सुविधायुक्त बनाउँदै गएको नेपालले उल्लेख गरे।

प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि मेला र महोत्सवहरु भइरहेका छन्। ग्रामीण पर्यटनका निम्ति गाउँघरमा स्थानीय पर्वहरुमा मेलाको सञ्चालन र होमस्टेको शुरुआत गरिएको छ।

पर्यटन प्रवद्र्धन र विकासका निम्ति प्रभावकारी स्थानीय समितिहरुको गठन भएका छन् भने गौतमबुद्ध विमानस्थलको निर्माणको काम अन्तिम चरणमा पुगेको छ। प्रचारप्रसारका लागि पुस्तिका प्रकाशन गरिएका छन्। विभिन्न स्थानमा होर्डिङ्ग बोर्डहरु टाँगिएका छन् र आन्तरिक पर्यटन प्रवद्र्धनका स–साना टुर प्याकेजसमेत बनाइएका छन्।

प्रदेशमा पर्यटन प्रवद्र्धन गर्न प्रदेश नं ५ मा रहेका पर्यटकीय गन्तब्यहरुलाई पहिचान गरी सूचना र सन्देश प्रवाह गरिनुपर्ने खाँचो छ। आन्तरिक एवं बाह्य पर्यटकलाई प्रदेशमा ल्याउन सरकारी नीति तथा नियमहरुलाई फराकिलो तथा खुकुलो बनाइनुपर्छ।

पर्यटकलाई सुरक्षाको प्रत्याभूतिसम्बन्धी सन्देश सम्बन्धित सुरक्षा निकायहरुको समन्वय र सहकार्यमा प्रवाह गर्नुपर्ने आवश्यकता पनि छ।

यस्तै, आन्तरिक पर्यटक केन्द्रित टुर प्याकेज बनाउनुपर्ने, पाहुनाहरुका निमित्त कोशेली घरको स्थापना गर्नुपर्ने, हवाई सेवा सञ्चालकहरुको समन्वयमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने जस्ता कार्यक्रम बनाइनुपर्ने सुझावहरु पनि आएका छन्।

देशमा समृद्धि ल्याउने गतिलो माध्यम पर्यटनलाई उद्योगको रुपमा विकास गरी आमनागरिकको जीवनमा खुशी र उमङ्ग ल्याउन पर्यटनसम्बन्धी सरोकार राख्ने विभिन्न सरोकारवाला सरकारी, निजी तथा सामुदायिक सङ्घ संस्थाहरुबीच दिगो सहकार्य हुनुपर्ने आवश्यकता औँल्याइएको छ।

बैठकमा प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिका प्रमुख संरक्षक मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय संस्कृति र खानालाई प्रर्दशनमुखी बनाउन र पर्यटनसँग जोड्न सुझाव दिए।

आन्तरिक भ्रमण संस्कृतिको विकास र आर्थिक गतिविधिले पर्यटकीय क्षेत्रको पूर्वाधार विकास हुने भएकाले भ्रमण संस्कृतिको विकासका लागि कार्यक्रम बनाउनुपर्ने उनको सुझाव छ।

पर्यटकलाई होटलभन्दा बाहिर समय बिताउने वातावरण निर्माण गर्न सकिए स्थानीय संस्कृति र परिकारको पनि प्रवद्र्धन हुने उनी बताउँछन्।

मुख्यमन्त्री पोखरेलको विचारमा प्रदेश ५ मा प्रमुख पर्यटकीय गन्तब्य लुम्बिनी र बर्दिया राष्ट्रिय निकुञ्ज नै हो। यद्यपि धार्मिक पर्यटकीय गन्तब्यको रुपमा नेपालगञ्जदेखि स्वर्गद्वारी, दाङ, अर्घाखाँची, गुल्मी र पाल्पासम्मलाई जोड्न सकिने सम्भावना पनि छ।

नेपाल भ्रमण वर्ष प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिका संयोजक तथा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले लुम्बिनी भ्रमण वर्षसँगै नेपाल भ्रमण वर्षसम्ममा प्रदेश सरकारले पर्यटनका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरिसक्ने विश्वास व्यक्त गरे।

प्रदेश सरकारका प्रमुख सचिव तथा समितिका सहअध्यक्ष तोयनारायण ज्ञवालीले स्थानीय रुपमा उत्पादित कच्चा पदार्थलाई पर्यटन उत्पादनसँग कसरी जोड्ने भन्ने विषयमा ध्यान जानुपर्ने बताए।

पर्यटनविज्ञ सूर्य थापा प्रदेशहरुमा पर्यटन प्रवद्र्धनका लागि प्रशस्तै बजेट भए पनि पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार र गन्तब्य निर्माणको अभाव देख्छन्।

पर्यटकीय गन्तब्यको बजारीकरण, रोजगारी सिर्जना र व्यवसाय गरेर प्रतिफल लिने गरी पर्यटकीय क्षेत्रले काम गर्नुपर्नेमा उनको जोड छ।

बैठकमा सहभागीहरुले नेपाल भ्रमण वर्ष २०२० लाई प्रदेश नं ५ मा प्रभावकारी बनाउन र पर्यटक रमाउने वातावरण बनाउन पर्यटकीय पूर्वाधारको विकास र पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारमा जोड दिए।

त्यसैगरी, पर्यटकलाई अर्थतन्त्रसँग जोडेर प्याकेज बनाउनुपर्ने र व्यवसायीहरुले निश्चित छुटसहितका प्याकेज बनाउनुपर्ने सुझाव पनि उनीहरुले दिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *