अफगानिस्तान द्वन्द्वको कहालीलाग्दो तस्बिरः प्रतिदिन ७४ जना मारिन्छन् – Dcnepal

अफगानिस्तान द्वन्द्वको कहालीलाग्दो तस्बिरः प्रतिदिन ७४ जना मारिन्छन्

बीबीसी । अफगानिस्तानमा महिला र बालबालिकासहित औसतमा दैनिक ७४ जना मानिसहरू अगस्ट महिनामा मारिएको बीबीसीको खोजले देखाएको छ।

अमेरिकाले १८ वर्षको लडाइँपछि आफ्ना सेना फर्काउन वार्ता गरिरहेको बेला यो खोजले अफगानिस्तानमा अन्त्यहीन जस्तो देखिने हिंसाको प्रभावमा कमी नआएको देखाएको छ।

बीबीसीले छ सय ११ वटा घटनामा २३ सय सात जनाले ज्यान गुमाएको पुष्टि गरेको छ। तालिबान र अफगान सरकार दुवैले बीबीसीको तथ्याङ्कको वैधानिकतामाथि प्रश्न गरेका छन्।

मारिनेहरूमा अधिकांश लडाकूहरू छन्। त्यसमा तालिबान लडाकूहरूको सङ्ख्या सोचेभन्दा बढी रहेको छ। ज्यान गुमाउने पाँच मध्ये एक जना गैरसैनिक रहेका छन्। बीबीसीको खोजले १९ सय ४८ जना घाइते भएको पनि देखाएको छ।

तालिबान र अफगान रक्षा मन्त्रालय दुवैले ती सङ्ख्या अस्वीकार गरेका छन्। तालिबानले आफ्ना लडाकूसँग सम्बन्धित सङ्ख्यालाई अफगान सरकारले दैनिक फैलाएको मिथ्या प्रचारमा आधारित भएको आरोप लगाएको छ। बीबीसीको खोजले देखाएका आँकडा अफगानिस्तानको अवस्थाको एउटा चित्रणमात्रै हो।

तर यसले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विदेश नीतिको एउटा प्रमुख लक्ष्य पुरा गर्न अमेरिकी फौजलाई फिर्ता गर्ने चाहना व्यक्त गरिरहँदा अफगानिस्तानको नाजुक अवस्था देखाएको छ।

अगस्ट महिनाको पहिलो हप्ता भएका हिंसापछि तालिबान र सरकारी फौजहरूले ईद उल अज्हाका लागि तीन दिने अघोषित युद्धविराम गरे। तर बीबीसीले उक्त अवधिमा अगस्ट १० को साँझदेखि अगस्ट १३ मा सूर्यास्त नहुन्जेलसम्म ९० जनाले हिंसाका कारण ज्यान गुमाएको पुष्टि गरेको छ।

सबैभन्दा उच्च सङ्ख्यामा हताहत भने अगस्ट २७ मा भएको थियो जसमा १६२ जनाले ज्यान गुमाएको र ४७ जना घाइते भएका थिए। हवाई हमलाको उक्त हमलामा मर्ने अधिकांश तालिबानहरू रहेका थिए।

तर गैरसैनिकहरूका लागि सबैभन्दा घातक दिन अगस्ट १८ रह्यो। त्यो दिन ११२ जनाले ज्यान गुमाए। अधिकांशको मृत्यु एउटै घटनामा भएको थियो। त्यो घटनामा आत्मघाती हमलाकारीले काबुलको विवाह उत्सवमा विस्फोट गराएका थिए जसमा ९२ जना मारिएका र १४२ जना घाइते भएका थिए।

एक जना दर्जी मिरवाइसले आफू बेहुला बन्ने दिनका लागि संघर्ष गरेर धेरै बचत गरेका थिए। त्यो उनको सबैभन्दा खुसीको दिन बन्ने थियो। तर उनले आफ्ना कैयौँ नजिकका साथीहरू गुमाए। उनकी दुलहीले आफ्ना कैयौँ नातेदार र दाजु गुमाइन्।

मिरवाइस भन्छन् उनलाई आफ्नो बिहेको लुगा र त्यसबेला खिचेका फोटोको एल्बम जलाइदिन मन लागेको छ। उनले बीबीसीसँग भने, ‘मेरा सबै आशा र खुसीहरू एक पलमा समाप्त भयो।’ इस्लामिक स्टेट समूहले उक्त आक्रमण आफूले गराएको भन्दै जिम्मेवारी लिएको छ।

तालिबानहरू सन् २००१ यता यति शक्तिशाली कहिल्यै पनि थिएनन् तर बीबीसीले अगस्ट महिनामा पुष्टि गर्न सकेका मृत्युमध्ये झण्डै आधा सङ्ख्या उनीहरूका लडाकूहरूको छ।

यसलाई आश्चर्यका रूपमा लिइएको छ। तालिबानहरूले शान्ति वार्ताको समयमा आक्रामक गरेको र त्यसको जवाफमा अमेरिकी नेतृत्वको फौजले हवाई हमला र रातको समयमा गरेका आक्रमणका कारण धेरै तालिबान र गैरसैनिकले ज्यान गुमाएका हुनसक्छ।

हालकै वर्षमा तालिबानका कति लडाकूहरू मारिए भन्ने जानकारी छैन्। तर उनीहरूका हतियारसहितका लडाकूको सङ्ख्या करिब ३० हजार रहेको ठानिएको छ। एउटा विज्ञप्तिमा तालिबानले अघिल्लो महिनामा आफ्ना एक हजार लडाकू मारिएको भन्ने विवरणलाई कडा रूपमा अस्वीकार गर्दै त्यो आधारहीन रहेको प्रतिक्रिया दिएको छ।

उसले मुजाहिद्दिन अफ इस्लामिक इमिरेटले त्यो तहमा क्षति बेहोरेको भन्ने पुष्टि गर्ने कुनै दस्तावेज नरहेको पनि उल्लेख गरेको छ। तालिबानले बीबिसीको समाचार काबुल प्रशासनका आन्तरिक सुरक्षा र रक्षा मन्त्रालयका दैनिक मिथ्या प्रचारहरूमा आधारित रहेको पनि बताएको छ।

अफगान सुरक्षा फौजले बेहोरेको क्षतिलाई अति गोप्य राख्ने गरिएको छ। त्यसकारण बीबीसीले अगस्टमा गरेका गणना वास्तविकताभन्दा कम पनि हुनसक्छन्। ज्यानुअरीमा राष्ट्रपति असरफ गनीले सन् २०१४ यता ४५ हजार सुरक्षा फौजका सदस्यहरू मारिएको बताएका थिए।

अफगान रक्षा मन्त्रालयले बीबीसी तथ्याङ्कको गम्भीर पुनरावलोकन हुनुपर्ने भन्दै धरातलीय यथार्थमा आधारित अझै गम्भीर अनुसन्धानको आवश्यक रहेको प्रतिक्रिया दिएको छ। बीबीसीले अगस्ट महिनामा चार सय ७३ गैरसैनिक मारिएको र सात सय ८६ जना घाइते भएको पुष्टि गरेको छ।

अफगानिस्तानस्थित राष्ट्रसङ्घीय मिसनका लागि मानवअधिकार प्रमुख फियोना फ्रेजर भन्छिन्, ‘राष्ट्रसङ्घको तथ्याङ्कले के स्पष्ट सङ्केत गर्छ भने सशस्त्र द्वन्द्वका कारण मारिने वा घाइते हुने गैरसैनिकको सङ्ख्या अफगानिस्तानमा संसारको अन्य कुनै ठाउँ भन्दा बढी रहेको छ।’

अमेरिकी र अफगान सैनिकहरूले नियमित रूपमा सर्वसाधारण मारिएको अस्वीकार गर्छन अथवा त्यसबारेका विवरण उपलब्ध गराउँदैनन्। उत्तरी शहर कुन्दुजमा भएको लडाँइ वा काबुलको विवाहमा भएको बम आक्रमणजस्ता ठूला घटनाहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा शीर्षक बन्छन्।

तर अफगानिस्तानको द्वन्द्व निरन्तर चलिरहेको छ र ससानो घटनाहरूका लागि अफगान सुरक्षा फौज र तालिबानबीचको द्वन्द्व जिम्मेवार छ। बीबीसीले अफगानिस्तानका ३४ प्रान्तमध्ये केवल तीन प्रान्तमा भएको मानवीय क्षतिको विवरण पुष्टि गर्न सकेको छैन।

दशमध्ये एउटा मृत्यु अशान्त रहेको तालिबानको केन्द्र पनि भनिने गाज्नी प्रान्तमा भएको थियो। तालिबानको प्रभावका कारण गाज्नी अफगान सैनिक कारबाहीको एउटा मुख्य निशाना हो। गाज्नीमा गरिएका ६६ मध्ये एक तिहाइ आक्रमण सम्भावित तालिबान अखडालाई लक्षित गरिएका हवाई हमला थिए।

अफगानिस्तानका सर्वसाधारणहरू एकदमै अनिश्चियको वातावरणमा बाँच्नुपरिरहेको अनुभव सुनाउँछन्। उरूजगान प्रान्तका मोहिबुल्लाह आफ्ना भाइको कुममा रहेको गोली निकाल्न कान्दहारको एउटा अस्पतालमा आएका छन्।

चिकित्सकहरूले भाइको गोली निकालेपछि आक्रोशित मुद्रामा उनले बीबीसीसँग भने, ‘हाम्रो क्षेत्रमा सुरक्षा कारबाही भएको बेला सर्वसाधारणहरू कतै पनि निस्कन पाउँदैनन।’ ‘यदि निस्कियौँ भने अमेरिकी वा अफगानी फौजले उनीहरूलाई गोली हानिदिन्छन्।’

‘उनीहरूलाई जहाँ मन लाग्यो त्यही बम खसाल्छन्। हाम्रो छेउछाउका सबै घरहरू ध्वस्त भएका छन्।’ अफगानिस्तानमा चार दशकदेखि द्वन्द्व जारी छ र त्यसका कारण बर्षौँसम्म त्यहाँ राजनीतिक गतिरोधको अवस्था छ।

अघिल्लो वर्ष आर्म्ड कन्फलिक्ट लोकेशन एण्ड इभेन्ट डेटा प्रोजेक्टले एसीएलइडीले आफगानिस्तानलाई लडाँइसँग जोडिएका मृत्युका आधारमा विश्वकै सबैभन्दा घातक द्वन्द्वका रूपमा चित्रित गरेको थियो। उनीहरूको तथ्याङ्कले सन् २०१९ मा पनि अफगानिस्तानले त्यही हैसियत कायम रहेको देखाउँछ।

एसीएलइडीको तथ्याङ्क अनुसार अगस्टमा अफगानिस्तानमा भएका क्षति त्यही अवधिमा सिरिया वा यमनमा भएका क्षतिभन्दा तीन गुणा बढी हो। र सन् २०१९ मा विश्व शान्तिको मापन गर्ने ग्लोबल पिस इन्डेक्सले अफगानिस्तानलाई विश्वकै सबैभन्दा कम शान्त स्थानका रूपमा प्रस्तुत गरेको थियो।

बीबीसीले सन् २०१९ अगस्टको १ देखि ३१ बीचमा अफगानिस्तानमा भएका १२ सय भन्दा बढी हिंसात्मक घटनाका विवरण संकलन गरेको थियो। बीबीसी अफगानिस्तानका संवाददाताहरूले प्रत्येक त्यस्ता विवरण आएका घटनालाई पछ्याएका थिए। त्यसमध्ये कैयौँ समाचारको शीर्षक नबनेका वा ठूला आक्रमणका घटना पनि थिए।

त्यसलाई पुष्टि गर्न बीबीसीले आफ्नो स्थलगत टोलीलाई एकभन्दा धैरै सूत्रहरूसँग सम्पर्क गर्न लगाएको थियो जसमा सरकारी अधिकारी, स्वास्थ्य कार्यकर्ता, आदिवासी समुदायका अगुवा, स्थानीय बासिन्दा, प्रत्यक्षदर्शी, अस्पतालको अभिलेख र तालिबान सूत्रहरू रहेका छन्। प्रत्येक घटनालाई पुष्टि गर्न कम्तिमा दुई भरपर्दो सूत्र प्रयोग गरिएको थियो।

अस्पतालको अभिलेखमा राखिएका विवरणलाई भने अर्को सूत्रबाट पुष्टि नगराइ पनि भरपर्दो मानिएको थियो। पुष्टि भएको सबैभन्दा कम सङ्ख्यालाई मात्रै अभिलेखिकरण गरिएको थियो।

एकभन्दा धेरै सूत्रहरूले एक अर्कासँग बाझिने सङ्ख्या उपलब्ध गराएको अवस्थामा सबैभन्दा भरपर्दो न्यूनतम सङ्ख्यालाई समावेश गरिएको थियो।त्यही भएर यो तथ्याङ्कमा सैयौँ विवरणहरूलाई समावेश गरिएको छैन र आक्रमण र क्षतिको वास्तविक संख्या अझ धेरै हुनसक्छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो