२ लाख ४० हजारको मंगलसूत्र साँढेले खाइदिएपछि…

डिसी नेपाल
२ असोज २०७६ ११:३०

काठमाडौं। बहुमूल्य गहना साँढेले खाइदिएपछि एक दम्पतीले निकै सकस व्यहोर्नुपरेको छ । यी दम्पतीसँग भएको घटना अहिले चर्चामा छ । यी दम्पती भारतको महाराष्ट्रका हुन्, जसले पोला पर्वमा साँढेको पूजा गर्दै थिए । यहाँ पोला पर्वमा साँढेको पूजा गर्ने हो भने इच्छा पूरा हुने विश्वास गरिन्छ । यसरी साँढेलाई पूरजा गर्दा गहना पनि लगाइदिने गरिन्छ ।

महाराष्ट्रको अहमदनगर जिल्लाको रायटे वाघापुर गाउँका यी दम्पतीले पनि पोला पर्वमा साँढेको पूजा गर्दै थिए । पत्नीले पूजा गर्ने क्रममा आफ्नो डेढ लाख भारु (२ लाख ४० हजार नेपाली रुपैयाँ) मूल्य पर्ने सुनको मंगलसूत्र साँढेको टाउकोमा लगाइदिइन् । त्यसपछि उनले त्यो मंगलसूत्र निकालेर थालिमा राखिन् । त्यही थालिमा साँढेलाई खुवाउन भनेर बनाइएको प्रसाद रोटी पनि थियो ।

त्यही बेला अचानक बिजुली गयो र उनी मैनबत्ती लिनका लागि घरभित्र गइन् । जब उनी मैनबत्ती बालेर साँढे भएको ठाउँमा आइन् तब उनको होसहवास् उड्यो । किनकि उनले मंगलसूत्र राखेको प्रसादको थाली रित्तै थियो ।

उनी आत्तिइन् र आफ्नो श्रीमानलाई चिच्याएर बोलाइन् । उनका पति आएर हेर्दा त उक्त मंगलसूत्र साँढेले चपाइरहेको थियो । उनले जब मंगलसूत्र निकाल्न सकिन्छ कि भनेर साँढेको मुखभित्र हात हाल्ने प्रयास गरे, त्यसबेलासम्म ढिला भैसकेको थियो । मंगलसूत्रको आधा हिस्सा त साँढेले चपाएर निलिसकेको रहेछ ।

बल्लतल्ल साँढेको मुखबाट आधा मंगलसूत्र निकालेपछि साँढेले निलेको आधा मंलसूत्र खोज्न उनीहरुलाई कम्ता सकस परेन । उनीहरुले हरेक दिन साँढेले दिसा गरेको गोबरमा मंगलसूत्र खोज्ने अभियान नै चलाए ८ दिनसम्म । तर मंगलसूत्र गोबरमा फेला परेन । उनीहरु पशु चिकित्सकहाँ पुगे । पशु चिकित्सकले जाँच गर्दा मंगलसूत्रको आधा भाग साँढेको पेटको आमासयमा अड्किएको पत्ता लगाए । साँढेको शल्यक्रिया गरी उसको पेटबाट मंगलसूत्र निकालिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *