पार्टीभित्र अराजकता बढेको छः मुख्यमन्त्री शाही

डिसी नेपाल
४ असोज २०७६ १७:२५

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टीभित्र अराजकता बढेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल निर्माण व्यवसायी सङ्गठनको प्रदेशस्तरीय कमिटी गठन तथा शपथग्रहण कार्यक्रमलाई शनिबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै उनले पार्टीका जिम्मेवार नेता÷कार्यकर्ताहरुले भेटेर सुझाव दिनुको साटो सामाजिक सञ्जालमा सरकारको विरोध गर्ने गरेकोप्रति गुनासो गरे।

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री शाहीले पार्टी नेताहरुमै अराजक प्रवृत्ति हाबी भएकाले लगाम कसले लगाउने ? भनी प्रश्न गरे।

“नेकपा अनैतिक व्यक्तिको जमघट गर्ने थलो होइन, घोषणापत्रअनुसार काम नभएको भए पार्टीले फिर्ता गर्नुपर्छ”, उनले भने, “पार्टीका नेता÷कार्यकर्ताले सरकारलाई सकारात्मक सुझाव दिनुपर्छ, सरकार नेकपाकै हो, सरकारको मात्रै असफलता हुँदैन, यसमा पार्टी पनि भविष्य जोडिएको छ ।”

मुख्यमन्त्री शाहीले विगतमा जस्तो बजेट बाँड्ने तर काम नहुने प्रथाको अन्त्य गर्न जरुरी रहेको बताए ।

नेकपा कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले समृद्ध कर्णालीका लागि हातेमालो गर्न निर्माण व्यवसायीलाई आग्रह गरे। नेकपा निकटका व्यवसायीले राज्यले दिएको जिम्मेवारी छिटो र गुणस्तरीय ढङ्गले सम्पन्न गरेर पार्टीको शाख बचाउनुपर्ने उनले सुझाव दिए।

प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीले आफ्नो डेढवर्षे कार्यकालमा ३०० योजनाको बोलपत्र तथा रु सात अर्ब बराबरको ठेक्का स्वीकृत गरिएको जानकारी दिए।
भेलाले जुम्लाका निर्माण व्यवसायी अशोक श्रेष्ठको संयोजकत्वमा ४३ सदस्यीय तर्दथ समिति गठन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *