कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य

डिसी नेपाल
१० असोज २०७६ २१:१३

सुर्खेत। कर्णाली प्रदेशसभाको चौथो अधिवेशनको ३३औं बैठक भएसँगै वर्षे अधिवेशन अन्त्य भएको घोषणा गरिएको छ । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले वर्षे अधिवेशन अन्त्यका लागि दिएको पत्र वाचन गर्दै शुक्रबार राति १२ः०० बजेदेखि वर्षे अधिवेशन अन्त्य भएको घोषणा गरे।

अधिवेशन अन्त्यको घोषणा गर्दै सभामुख शाहीले अधिवेशनले कार्यसम्पादन गर्दा प्रदेशभाको ३२औं बैठकसम्म ५४ घण्टा ५४ मिनेट ३५ सेकेण्ड समय व्यतीत भएको जनाए।

सभामुख शाहीले प्रदेश सरकारको आव ०७६÷०७७ नीति तथा कार्यक्रम, अधिवेशनले कर्णाली प्रदेश आर्थिक विधेयक २०७६, विनयोजन २०७६, ऋण उठाउने विधेयक २०७६, प्रांगारिक कृषि सम्बन्धी व्यस्था गर्न विधेयक २०७५ कर्णाली प्रदेश स्वयमसेवक परिचालन सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७५ कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई पहिलो संशोधन गर्न बनेको विधेयक, प्रदेशमा खेलकूदको विकास सम्बन्धमा बनेको विधेयक २०७५ पारित गरिएको बताए।

प्रदेशसभाको ३३औंँ बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘कर्णाली प्रदेशको आव ०७४÷०७५ को महालेखापरीक्षकको प्रतिवेदन’ सभासमक्ष पेश गरे।

त्यसैगरी कर्णाली प्रदेशसभा नियमावली, २०७४ को दोस्रो संशोधित प्रतिवेदनमाथि सामान्य छलफल भएसँगै थप छलफलका लागि नियमावली संशोधन समितिका अध्यक्ष धर्मराज रेग्मीले समितिमा पठाउन प्रस्ताव गरेसँगै सभाबाट पारित भएको थियो ।

बजेट कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ

कर्णाली प्रदेशसभाका प्रतिपक्ष तथा सत्तापक्षका सदस्यले बजेट कार्यान्वयनमा सरकार गम्भीर हुन आग्रह गरेका छन् । प्रदेशसभा सदस्य यामलाल कँडेलले सरकारले बजेट कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

मौका छोपेर काम गरे आफैँ खुम्चिनुपर्ने व्यङ्ग्य गर्दै सदस्य कँडेलले भने, “कर्णाली प्रदेशका लागि जति बजेट छ, त्यो थोरै छ । जति छ त्यो पनि धेरै छ ।’ प्रतिफल नदेखिने खर्चको औचित्य नहुने भन्दै उनले बजेट कार्यान्वयनको जटिलतामा सरकारलाई संयम हुन आग्रह गरे।

प्रतिपक्षका प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठले अरबौँँ बजेट विनियोजन गरे पनि बेलैमा कार्यान्वयन गर्न नसक्दा सरकारको प्रगति नदेखिएको तर्क गरे। प्रतिपक्षले सरकारलाई सधैँ खबरदारीको साथै मार्गदर्शनमा सहयोग पुर्याएको भन्दै सदस्य श्रेष्ठले प्रदेशको साझा गन्तव्यमा सत्तापक्ष र प्रतिपक्ष एक भएर अघि बढ्नुमा भलाइ हुने बताए।

प्रदेशसभा सदस्य सोशिला शाहीले जनप्रतिनिधिले जनतामा राम्रो छाप छाड्नेगरी काम गर्नुपर्नेमा जोड दिइन्।

प्रतिपक्षको आपत्ति, सत्तापक्षको नियमापत्ति

यही असोज ९ गतेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई आँच आउने गरी सत्तापक्षका सदस्यले बोलेको भन्दै प्रतिपक्ष दलका प्रदेशसभा सदस्य हिमबहादुर शाहीले बैठकको शुरुमा आपत्ति प्रकट गरे। उनले सत्तापक्षका सदस्यले बोलेको संसदीय मर्यादा विपरीत भएको भन्दै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखलाई आग्रह गरे।

यता सत्तापक्षका सदस्य ठम्मर विष्टले प्रतिपक्षको सदस्यले उठाएको कुरामा नियमापत्ति जनाए। उनले प्रतिपक्षलाई आफूले भनेको कुरा भन्दा प्रतिपक्षी दलकै नेताले यसअघि सभाको बैठकमा दिएका अभिव्यक्ति झनै असंसदीय भएको भन्दै उक्त रेकर्ड पनि सचिवालयको रेकर्डबाट हटाउन सभामुख शाहीलाई अनुरोध गरे।

त्यसैगरी प्रदेशसभा सदस्यद्वय सीता नेपाली र गोपाल शर्माले प्रतिपक्षी दलले सभामा बोलेकै दिन नियमापत्ति नजनाउनु र आफ्नो भाषाको ख्याल नगर्नु प्रतिपक्षको कमजोरी रहेको आरोप लगाए। बैठकमा सदस्य अमरबहादुर थापालगायतले बोलेका थिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *