‘समाजमा विद्यमान विकृतिको अन्त्य हुनेगरी संघ, संस्थाहरुको स्थापना गरिनुपर्छ’

डिसी नेपाल
१२ असोज २०७६ १८:१४

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाजमा विद्यमान विकृतिको अन्त्य हुनेगरी सामाजिक संघ, संस्थाहरुको स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।

वरिष्ठ नेता नेपालले नेपालमा अझै पनि महिला हिंसा, बाल विवाह, जातीय छुवाछुतजस्ता सामाजिक विकृति र विसंगति कायमै रहेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि सामाजिक संस्थाहरुको स्थापना गरी अघि बढनुपर्नेमा जोड दिए।

सामाजिक विकृतिविरुद्ध जनचेतना फैल्याउने तथा त्यसको अन्त्यका लागि सरकारलाई खवरदारी गरिरहन पनि सामाजिक संस्थाहरुको स्थापनाको जरुरी रहेको नेता नेपालको भनाई थियो।

राष्ट्रिय दलित पत्रकार संघले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले जातीय छुवाछुत तथा सामाजिक विकृतिको अन्त्य गर्ने कुनै पनि अभियानमा आफ्नो पार्टीको सदा साथ रहने प्रतिवद्धता पनि व्यक्त गरे।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले समाजमा पिछडिएका क्षेत्रको उत्थानका लागि नेपाल पत्रकार महासंघले पनि सरकारलाई दवाव दिने प्रतिवद्धता व्यक्त गरे। उनले समाजमा हुने कुनै पनि खालको विकृति अन्त्यका लागि कडा निगरानी राख्ने काममा पनि संचार क्षेत्र क्रियाशील रहने बताए।

अध्यक्ष आचार्यले समाजको सबै क्षेत्रमा हुने विभेद अन्त्यका लागि नेपालका संचार क्षेत्रले उल्लेख्य योगदान पुर्याउँदै आएको दावी पनि गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *