काँग्रेसले भन्यो : मण्डले शैलीमा आक्रमण गर्न खोजियो

डिसी नेपाल
१२ असोज २०७६ १९:०१

काठमाडौं। काँग्रेस नेता डा. मिनेन्द्र रिजाललाई आइतबार सत्तारुढ दल नेकपाका कार्यकर्ताले तनहुँमा बाटो अवरोध गरेकोमा नेपाली काँग्रेसले आपत्ति जनाएको छ। काँग्रेसले नेकपा कार्यकर्ताहरुको हर्कत अधिनायकवादी रहेको भन्दै भत्सर्ना गरेको छ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले आइतबार साँझ विज्ञप्ति जारी गर्दै यस्तो आपत्ति जनाएका हुन्। काँग्रेसले तनहुँको रिसिङ गाउँपालिकामा गाउँपालिकाको भवन शिलान्यास गर्न गएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं प्रतिनिधिसभाका सांसद डा. मिनेन्द्र रिजाल, तनहुँका कार्यवाहक सभापति लगायत पार्टीका साथीहरुलाई नेकपाका कार्यकर्ताहरुले बाटोमा रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै खुकरी, भाला, लाठी, ढुंगा, वियरका बोतल सहित मण्डले शैलीमा आक्रमण गर्न खोजेको बताएको छ।

गाउपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको शिलान्यास डा मिनेन्द्र रिजालबाट गराउने निर्णय गरेकोे थियो । कार्यक्रमको विषयमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले वेवास्ता गर्नु चिन्ताको विषय भएको काँग्रेसले जनाएको छ। फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने नेकपाका कार्यकर्ताको अधिनायकवादी चरित्र घोर निन्दनीय र आपत्तीजनक रहेको काँग्रेसले प्रतिक्रिया दिएको छ ।

सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले एकपछि अर्को घटनाहरु दोहोर्याउँदै व्यक्तिकोे अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै गई रहेको घटनाप्रति सतर्क रहन काँग्रेसले आग्रहसमेत गरेको छ। काँग्रेसले मण्डले शैलीमा हुने यस्ता गतिविधि नियन्त्रण नगरे अधिनायकवादी सरकारका विरुद्ध नेपाली कांग्रेस आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *