जिम्बाबेमाथि सिंगापुरको रोमाञ्चक जित

डिसी नेपाल
१२ असोज २०७६ २१:५४

काठमाडौं। सिंगापुरमा जारी त्रिकोणीय टि ट्वान्टी क्रिकेट सिरिजमा आइतबार टेष्ट राष्ट्र जिम्बाबेलाई घरेलु टिम सिंगापुरले ४ रनले पराजित गरेको छ। १८२ रनको लक्ष्य पाएको जिम्बाबेले निर्धारित १८ ओभरमा ६ विकेट गुमाएर मात्र १७७ रन बनायो।

जितका लागि जिम्बाबेलाई अन्तिम ओभरमा १० रन आवश्यक थियो। तर, सिंगापुरका सिद्धान्तको बलमा जिम्बाबेका ब्याट्सम्यानले आवश्यक रन बनाउन सकेनन्। सिंगापुरले जिम्बाबेमाथि रोमाञ्चक जित हात पार्दा नेपालसमेत सहभागी प्रतियोगिताको फाइलन दौड खुला भएको छ। तीनै टिमले २–२ खेल खेल्दा एक एक जित हात पारेका छन्।

आइतबार सिंगापुरको इण्डियन एसोसिएशन मैदानमा टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो। लक्ष्य पछ्याएको जिम्बाबेका लागि कप्तान सन विलियम्सनले विष्फोटक ३५ बलमा ६६ रन बनाएपछि टिमलाई जित दिलाउन सकेनन्। जिम्बाबेका अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन्।

उता सिंगापुरका लागि टिम डेबिड र मनप्रित सिंहले समान ४१–४१ रन बनाएपछि उसनले चुनौतीपूर्ण स्कोर खडा गरेको थियो।

जारी प्रतियोगितामा जिम्बाबेलाई सिंगापुरले पराजित गरेको छ भने सिंगापुरलाई नेपालले पराजित गरेको छ। यस्तै नेपाललाई जिम्बाबेले पराजित गरेको छ। अब तीनै टीमले एकअर्का विरुद्ध एक एक खेल खेल्नेछन्। शीर्ष दुई टिम फाइनलमा पुग्नेछन्। मंगलबार नेपाल र जिम्बाबेबीच खेल हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *