मौसमका कारण बारा पुग्न नसकेपछि राष्ट्रपतिद्वारा फोनबाटै गढीमाई मेलाको उद्घाटन

डिसी नेपाल
१२ असोज २०७६ २२:२५

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले गढीमाई मन्दिरको उचित संरक्षण एवं सम्बर्धनका लागि राज्यको ध्यान जान जरुरी रहेको बताएकी छन्।

गढीमाई पञ्चवर्षीय मेलाको शोभायात्रा तथा उद्घाटन कार्यक्रमलाई टेलिफोनमार्फत सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गढीमाई नेपालीका लागि मात्र नभई विश्व मानचित्रमा अङ्कित भइसकेको हुँदा यसको विकासका लागि सबै अग्रसर हुनुपर्नेमा जोड दिइन्।

खराब मौसमका कारण पूर्वनिर्धारित कार्यक्रममा उपस्थित हुन नसकेपछि टेलिफोन सम्बोधनमार्फत राष्ट्रपति भण्डारीले मेलालाई सभ्य, भव्य र स्वच्छ रुपमा मनाउन सबैलाई आग्रह गरिन्। सहमति, सहकार्य र एकताको मिलनविन्दुलाई शिरोधार्य गर्दै विवाद रहितरुपमा मेला सम्पन्न गर्न सबैको सहयोग, समर्थन हुने विश्वास उनले व्यक्त गरिन्।

गढीमाई मन्दिर आफैँमा ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्व बोकेको हुँदा यसको पहिचान विश्वसामु अझै परिचित गराउन कुनै कसर बाँकी राख्न नहुने बताइन्। गढीमाई मन्दिर क्षेत्रमा एउटा सुविधासम्पन्न अस्पतालको आवश्यकता रहेको हुँदा यसका लागि आफूले सक्दो सहयोग गर्ने पनि राष्ट्रपति भण्डारीले बताइन्।

मन्दिर दर्शनका लागि आउने भक्तजनको सुविधाका लागि सुलभ शौचालय, शुद्ध खानेपानी, बिजुलीबत्ती र सडक यथाशीघ्र निर्माण गर्न आफूले पहल गरिरहेको पनि राष्ट्रपति भण्डारीले जानकारी दिइन्।

राष्ट्रपतिले कृषिका लागि सिंचाइ, डुबान नियन्त्रण गर्नका लागि अल्पकालीन र दीर्घकालीन व्यवस्था गरिनुपर्ने बताउँदै बारा जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र जलजङ्गललाई प्राथमिकताका साथ अगाडि बढाउन सके अर्थतन्त्रमा पनि यसले फड्को मार्ने विश्वास व्यक्त गरिन्। बाराको बरियारपुरमा आगामी मङ्सिरमा गढीमाई मेला लाग्दैछ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *