किन बयान फेरिन महराको यौन दुव्र्यबहारका विषयमा पीडित महिलाले?

डिसी नेपाल
१५ असोज २०७६ ७:२२

काठमाडौं। यौन दुर्व्यवहारको आरोपमा मुछिएपछि प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । संविधानको धारा ९१ को उपधारा ६(ख) अनुसार उनले राजीनामा दिएका हुन् र उनको राजीनामासँगै सभामुख पद रिक्त भएको छ ।

संसद् सचिवालयमा कार्यरत रोशनी शाहीलाई आइतबार राति उनकै डेरामा गई यौन दुर्व्यवहार गरेको विषय विभिन्न सञ्चार माध्यममा आएपछि सभामुख महराले नैतिकता देखाउँदै पदबाट राजीनामा दिएका हुन् । सो घटनापछि मंगलबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले महरालाई सभामुख र सांसदबाट राजीनामा दिन आग्रह गर्न निर्णय गरेको थियो ।

पार्टीको निर्णयसँगै सभामुख महराले आफूलाई आरोप लागेकाले छानबिनलाई सहज बनाउन नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । महरा तत्कालीन नेकपा माओवादी केन्द्रबाट सभामुखमा निर्वाचित भएका थिए । अहिले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको छ ।

सभामुख महराले आफ्नो राजीनामापत्र निवासबाट नै उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई पठाएका थिए । मिडियामा समाचार आइसकेपछि महराका स्वकीय सचिव सागर केसीले सिंहदरबार पुगेर उपसभामुख तुम्बाहाम्फेलाई राजीनामापत्र बुझाएका हुन् । उनले राजीनामा दिनुको कारण पत्रमा स्पष्ट उल्लेख गरेका छैनन् ।

सभामुखको लेटर प्याड भएकाले सभामुखबाट राजीनामा दिएको स्वतः बुझिन्छ । तर, सांसदबाट भने उनले राजीनामा दिएका छैनन् । पत्रमा सांसदबाट राजीनामा दिएको कहीँकतै उल्लेख छैन ।

महरा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । नेकपाको सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवैबाट राजीनामा दिन भनेको थियो । राजीनामापत्रमा उनले छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको व्यहोरा लेखेका छन् ।

तर, राजीनामा दिइसकेपछि त्यो छानबिनबाट प्रमाणित भए पनि नभए पनि उनी स्वतः पदमा फर्किने बाटो छैन । सभामुखको राजीनामा स्वीकृत भएपछि प्रतिनिधिसभाले चुनावबाट नयाँ सभामुख चुन्नेछ ।

नेकपाले सांसदबाट पनि राजीनामा दिन भने पनि उनले सांसद पदबाट राजीनामा नदिएकाले उनको सांसद पद भने कायमै हुने व्यवस्था छ । उपसभामुखलाई मंगलबार बुझाएको राजीनामापछि उनी सभामुख पदबाट मुक्त भएका छन् । महराले सांसद पदबाट मुक्त हुन फेरि अर्को राजीनामा दिनुपर्दछ । सभामुख पदको राजीनामा कसैले स्वीकृत गर्न नपर्ने भए पनि सांसदको राजीनामा उपसभामुखले स्वीकृत गर्नुपर्ने हुन्छ ।

संविधान र प्रतिनिधिसभा नियमावली २०७५ अनुसार सभामुखले उपसभामुखसमक्ष राजीनामा दिनुपर्ने हुन्छ । नियमावलीको दफा २११ मा सभामुखले उपसभामुखसमक्ष लिखित राजीनामा दिएपछि पद खाली हुने व्यवस्था छ ।

संविधानमै सभामुखले उपसभामुखलाई राजीनामा बुझाउने व्यवस्था छ । लिखित राजीनामापत्र बुझाएपछि स्वतः पद रिक्त हुने संवैधानिक व्यवस्था छ । सभामुख महराले भने राजीनामापत्रमा ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु,’ भन्ने उल्लेख गरेका छन् । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *