चाडपर्वका बेला नागरिकको सुरक्षार्थ प्रहरी थप सक्रिय हुनुपर्छ : खनाल

डिसी नेपाल
१५ असोज २०७६ २१:५०

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नजिकिँदै गरेको नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली एवम् छठ पर्वको अवसरमा नागरिकको जिउधनको सुरक्षार्थ प्रहरी कर्मचारीहरु थप सक्रिय रुपमा खटिनुपर्ने बताएका छन्।

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहत प्रहरी कार्यालयका प्रमुख र कार्यरत प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन्।

चाड पर्वको अवसरमा हुन सक्ने चोरी, लुटपाट, डकैती लगायत आवाञ्छित गतिविधि नियन्त्रण गर्नकै लागि प्रहरीको आवश्यकता र महत्व हुने चर्चा गर्दै नागरिकहरुको सुरक्षामा कुनै पनि किसिमको त्रुटि र अप्रिय घटना नहुने गरी थप उत्कृष्ट कार्य सम्पादन गर्न प्रहरी महानिरीक्षक खनालले निर्देशन दिए।

समुदाय–प्रहरी साझेदारी अवधारणा अनुसार समुदायसँग समन्वय गरेर प्रहरीले कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरी नमूना संगठन बताउनुपर्नेमा जोड दिए।

हरेक प्रहरी कर्मचारीको बोली, वचन र व्यवहारमा विवेकशीलता झल्कनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले सकारात्मक सोच, गर्वको भावना र उर्जाकासाथ कार्य सम्पादन गरी प्रहरीले राष्ट्र र नागिरकको सेवा गर्न पाएको अवसरको पूर्ण सदुपयोग गर्नुपर्ने उनले बताए।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु लगायत महानगरीय प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख तथा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो।

साथै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयबाट १, २ र ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा ३१ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसँग नजिकै आउँदै गरेका चाडबाडका बेला शान्ति सुरक्षासँग सम्बन्धित कामहरु एवं समसामयिक विषयमा बुधबार भिडियो कन्फ्रेन्सद्वारा निर्देशन दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *