दुई शिक्षकको सरुवा गर्दा कटहरिया नागरपालिकामा ताण्डव

डिसी नेपाल
१६ असोज २०७६ १२:०४

काठमाडौं। दुई शिक्षकको सरुवालाई लिएर रौतहट जिल्लाको कटहरिया नगरपालिकामा तोडफोड गरिएको छ। नगरपालिकाले दुई शिक्षको सरुवा गरेपछि शुक्रबार  नगरपालिका र प्रहरी चौकीमाथि तोडफोड गरिएको हो।

विगत १५ वर्षदेखि प्रावि दरबन्दी भएका शिक्षक राममंगल प्रसाद यादव भसडेवाको मावि प्रधानाध्यापकका रुपमा काम गरिरहेको गुनासो आएपछि शिक्षाको गुणस्तर सुधार्न उनलाई महिला प्रावि भसडेवामा प्रअको रुपमा सरुवा गरेपछि उनी असन्तुष्ट थिए।

प्रावि शिक्षक रहेका उनले १५ वर्षदेखि मावि प्रअका रुपमा काम गरिरहेको र नगरपालिकाले उनलाई प्रावि प्रअ बनाइ सरुवा गरेपछि उनी आक्रोशित भएका थिए। आफ्नो सरुवा भएपछि उनले विगत १५ वर्षदेखि अध्यापन गराइरहेको स्कुलका विद्यार्थीलाई उचाएर नगरपालिका कार्यलय तोडफोड गर्न लगाएको नगरपालिकाका प्रमुख सियाराम प्रसाद कुशवाहले दाबी गरेका छन्।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी नगरपालिका प्रमुख कुशवाहले नगरपालिका कार्यलय भवनबाट करिव ३ सय मिटरको दूरीमा रहेको प्रहरी चौकीबाट घटना हुँदासमेत कुनै हस्तक्षेप नगरेको भन्दै आपत्ति जनाए। ‘घटना लगत्तै प्रहरी घटनास्थल भएपनि तोडफोडबाट जोगाउनुको सट्टा  मुकदर्शक हुनु, कुनै हस्तक्षेप नगरी तोडफोटमा संलग्नतालाई सहजताका साथ तोडफोड गर्न दिने काम भएको ,’ पत्रकार सम्मेलनमा नगरपालिका प्रमुख कुशवाहले भने, ‘अझ भीड नियन्त्रण गरी सुरक्षा दिनु पर्ने प्रहरीले उल्टै घटनाको भिडियो खिच्न व्यस्त रहेको दृष्यसमेत देखियो।’

नगरपालिकामाथि आक्रमण भएपछि बसेको नगर कार्यपालिकाको बैठकले वडा अध्यक्ष एवं प्रवक्ता चन्दन कशवाहको संयोजकत्वमा नौ सदस्यीय छानवीन समिति गठन गरेको थियो। छानवीन समितिले घटनामा सचिन्द्र प्रसाद यादव र राममंगलप्रसाद यादवको संलग्नता देखिएको र तोडफोडमा ३० लाख भन्दा बढीको भौतिक क्षति भएको प्रतिवेदन बुझाएको थियो।

तोडफोटमा संलग्न भएको आरोपमा शिक्षक सचिन्द्र यादवलाई गरुडा प्रहरीले पक्राउ गरेपनि १२ घण्टा नबित्दै दवाब र प्रभावमा छोडिएको नगरपालिका प्रमुख कुशवाहले आरोप लगाएका छन्। पछि छानवीन समितिको प्रतिवेदनलाई आधार बनाएर किटानी उजुरी दिँदासमेत जिल्ला प्रहरी कार्यलयले जाहेरी लिन अस्वीकार गरेको उनले बताएका छन्।

‘उक्त घटनामा प्रहरी मुकदर्शक हुनुमात्रै होइन, भिडियो खिचेर बस्ने, दोषी भनेर पक्राउ गरिएको व्यक्ति २४ घण्टाभित्रै रिहा हुनु, दोषी विरुद्ध किटानी जाहेरी दिन खोज्दा लिन नमान्ने घटनाले नगरपालिका स्तब्ध भएको छ,’ मेयर कुशवाहले भने।

जिल्ला प्रहरी कार्यलयले घटनालाई गम्भीरता पूर्वक नलिएपछि मेयरको टोली काठमाडौं आएको छ। टोलीले गृहमन्त्री रामबहादुर थापा र स्थानीय विकास एवं संघीय मामिला मन्त्री लालबाबु पण्डितलाई घटनाबारे जानकारी गराएको छ।

गृहमन्त्री थापाले घटनामा संलग्न जो कोही भएपनि कानुनी रुपमा कारवाही गर्ने आश्वासन दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *