गण्डकी प्रवद्र्धन अभियान काठमाडौँमा

डिसी नेपाल
१६ असोज २०७६ २३:०७

काठमाडौं । गण्डकी प्रदेश सरकारले गण्डकी प्रवद्र्धनका लागि भन्दै शुरु गरेको चार प्रदेशको भ्रमण सम्पन्न गरेको छ।

असोज ९ गतेदेखि ‘आन्तरिक पर्यटन वर्ष, २०१९–२२’ सफल पारौँ’ नारासहित गरेको सो अभियान बुधबार काठमाडौँमा सम्पन्न भएको हो।

चार प्रदेशको भ्रमणका क्रममा त्यहाँका मुख्यमन्त्री तथा पर्यटनमन्त्रीलाई गण्डकी घुम्ने निम्तो दिइएको थियो। पहिलो चरणको प्रवद्र्धन अभियान सम्पन्न भएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिए।

बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई गण्डकी प्रदेशमा घुम्नका लागि निमन्त्रणा पत्र प्रदान गरी पहिलो चरणको कायक्रम सम्पन्न भएको मन्त्री लम्सालले बताए।

असोज ९ देखि १६ गतेसम्म प्रदेश घुम्न पाहुनालाई निमन्त्रणा गर्ने योजनासहित सरकारी अधिकारी, पर्यटन व्यवसायी, कलाकार र सञ्चारकर्मीसहित ७० जनाको प्रवद्र्धन टोली पोखराबाट भैरहवा गएको थियो।

अभियानका क्रममा प्रदेश नं १, २ र ३ मा मुख्यमन्त्री तथा प्रदेश नं ५ मा पर्यटनमन्त्रीलाई भेटेर गण्डकी घुम्ने निम्तो दिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन महाशाखा प्रमुख कीर्तनराज पौडेलले जानकारी दिए।

यस्तै भैरहवा, बुटवल, विराटनगर, जनकपुर, विरगञ्ज, हेटौँडा र काठमाडौंँमा व्यवसायी, सरकारी अधिकारी, निजी क्षेत्रलगायतसँग अन्तक्र्रिया कार्यक्रम गरी गण्डकीमा घुम्नका लागि निम्तो दिइएको थियो।

समृद्धिको प्रमुख आधार पर्यटनलाई मानेको गण्डकी प्रदेशले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्षका रुपमा मनाउँदै १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।

गत वर्ष फागुन ९ गते पर्यटन वर्ष घोषणा गरेको सरकारले पर्यटन वर्ष सकिन तीन महीना बाँकी छँदा सबै प्रदेशमा पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गर्न लागेको हो।

बाँकी दुई प्रदेशमा पुनः अभियान सञ्चालन गरिनेछ । सो अभियानका क्रममा प्रदेशको पर्यटन प्रवद्र्धनसम्बन्धी श्रव्य दृश्य सामग्री प्रस्तुति, प्रदेशका आकर्षक ११० पर्यटकीय गन्तव्यको तस्बिर प्रदर्शनीलगायत कार्यक्रम गरिएको थियो।

मन्त्री भट्टराईबाट घुम्न आग्रह

गण्डकी प्रदेशका पर्यटनमन्त्री लम्सालबाट गण्डकी घुम्ने निम्तो लिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले गण्डकी नेपालकै उत्कृष्ट गन्तव्य भएको भन्दै सबैलाई घुम्न आग्रह गरे।

उनले गण्डकी प्रदेश सरकारले आफ्नो प्रदेशको प्रवद्र्धन गर्न लागेकामा खुशी व्यक्त गर्दै गण्डकी प्रवद्र्धनबाट नेपाल भ्रमण वर्ष, २०२० लाईसमेत सहयोग पुग्ने बताए।

मन्त्री भट्टराईले नेपालमा पर्यटन भित्र्याउने मुख्य आधार नै हवाई मार्ग भएको भन्दै आन्तरिक तथा अन्तरराष्ट्रिय विमानस्थललाई व्यवस्थित गरिएको जानकारी दिए।

सन् २०२१ मा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि पोखरामा थप पर्यटक भित्र्ने भन्दै उहाँले पोखराबाट सातै प्रदेशमा समेत उडान गर्ने तयारी भइरहेको बताए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *