नेपालगञ्ज सीमानाकामा दशैँ-तिहार मनाउन घर फर्किनेको घुइँचो

डिसी नेपाल
१७ असोज २०७६ १०:४५

राँझा। भारतमा रोजगारी गरी दशैँ–तिहार मनाउन घर फर्किने नेपालीको नेपालगञ्ज सीमानाकामा घुइँचो लाग्ने गरेको छ। भारतका विभिन्न शहरमा रोजगारीको लागि पुगेका नेपाली नेपालगञ्ज नाका भएर अहिले दैनिक एक हजारभन्दा बढी नेपाल फर्किने गरेको इलाका प्रहरी कार्यालय जुमनहाका प्रमुख प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले बताए।

उनका अनुसार, सीमावर्ती भारतीय बजार रुपैडिहाबाट बिहानैदेखि घर फर्किने नेपालीको लर्को लाग्ने गरेको छ। उनीहरु टाँगा, रिक्सा र पैदल हिँड्दै पनि नेपाल भित्रिने गरेका छन्। यसबाहेक भारतका विभिन्न शहरबाट नेपालमा सञ्चालन भइरहेका सीधा बस सेवामा समेत घर फर्किने यात्रुको चाप रहेको छ।

नेपालगञ्जबाट दिल्लीको लागि नेपाल–भारतमैत्री बस सेवा सञ्चालन गर्दै आएको भेरी यातायात प्रालि नेपालगञ्जका अध्यक्ष राजेन्द्र गिरीले अहिले दिल्लीबाट नेपाल फर्किने बस यात्रुले भरिभराउ हुने गरेको बताए। भारतका अन्य शहरबाट नेपालको दाङ, कपिलवस्तु, बुटवललगायतका स्थानमा सञ्चालन हुने सीधा बस सेवामा समेत अहिले यात्रुको चाप बढिरहेको उनको भनाइ छ।

नेपाल प्रहरीले भारतबाट घर फर्किने नेपालीको सहयोगका लागि जमुनाहा नाकामा सहायताकक्ष स्थापना गरेको छ। भारतीय सवारी साधनबाट रुपैडिहा आइपुगेका नेपालीको सहयोगका लागि सादा पोशाकका प्रहरी परिचालन गरिएको प्रहरी नायब निरीक्षक रिजालले जानकारी दिए।

घर फर्किने नेपालीहरु रिक्सा, टाँगावालाबाट ठगिन नदिन नेपालगञ्ज बसपार्कसम्म सुरक्षितरुपमा पठाउने व्यवस्था मिलाइएको उनको दाबी छ। होटलमा ठगिन र लुटिनसक्ने सम्भावनालाई दृष्टिगत गर्दै परामर्शसमेत दिने गरेको रिजालको भनाइ छ। भारतको सिमलाबाट घर फर्किदै गरेका सल्यान बनघार कुपिण्डे नगरपालिकाका नरबहादुर सुनारले सीमानाकामा नेपाली प्रहरीले राम्रो व्यवहार गरेको बताए। आफूहरु सजिलैसँग नेपालगञ्ज पुगेको उहाँले जानकारी दिए।

रोजगारीका लागि भारतका विभिन्न शहरमा पुगेका नेपाली दशैँ पर्व मनाउन घर फर्कने गरेका छन्। दशैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सिमानानाका जमुनाहमा लर्को लाग्ने गर्दछ। आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकका काम गर्नुपर्ने, औषधिमुलोसमेत राम्रो नपाइने भएपछि प्रदेश नं ५ र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ।

दशैँको बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने भएकाले त्यस्ता घटना हुन नदिन सुरक्षाकर्मीलाई सजक बनाइएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए। भारतबाट घर फर्किने नेपालीलाई सीमामा लुटपाट र दुःख दिने कार्य रोक्न भारतीय सुरक्षा अधिकारीको ध्यानाकर्षण गराइएको समेत उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *