नौबिसे-नागढुङ्गा सडक अष्टमीका दिन मर्मत गरिने

डिसी नेपाल
१८ असोज २०७६ १२:३७

चितवन। उच्च सवारी चापका कारण मर्मतसम्भार गर्न कठिन भएको त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको गणेश मन्दिर क्षेत्रमा आइतबार अष्टमीका दिन मर्मतसम्भार गरिने भएको छ। असोजको पहिलो साता तीन दिन दैनिक एक घण्टा एकतर्फी सवारी रोकेर मर्मतसम्भार गर्दा पाँच दिनसम्म सडक प्रभावित बनेको थियो।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार एकतर्फी सवारी रोकेर कालोपत्रे दबेको ठाउँमा भरेर कालोपत्रे गरिँदै छ। यसअघि अन्य क्षेत्रमा मर्मतसम्भार भइसकेको उनले बताए। वर्षभरिमा सबैभन्दा कम सवारी चाप दशैँका दिनमा हुने अनुमान गर्दै अष्टमीका दिन काम गर्न लागिएको हो।

सवारी चाप बढी भएर यात्रुलाई मर्का पर्ने अवस्था आएमा भने काम रोकिने छ। अधिकारीले यात्रुलाई प्रभावित नपार्ने गरी दबेको सडक मर्मत गर्न लागिएको बताए। निकै दिनको प्रयास पछि मजदूरको व्यवस्थापन गरिएको उनले बताए। सो सडकखण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुङ्गा सडकखण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौंले हेर्ने गर्दछ।

अधिकारीले सो सडकखण्ड मर्मतसम्भार गर्न निकै कठिन हुने गरेको बताए। सडक मर्मत नगर्दा पनि नहुने र गर्दा पनि जस नपाइने गुनासो उनको छ। अन्य समयमा १० मिनेट सडक रोक्दा तीन किलोमिटरसम्म सडक जाम हुने गरेको अधिकारी बताउछन्। सो क्षेत्रमा छदेखि सात मिटरमात्र सडक चौडा छ। सोही सडक हुँदै दैनिक १४ हजार हाराहारी सवारीसाधन राजधानी प्रवेश र बाहिरिने गर्दछन्।

सो खण्डमा मर्मतसम्भारका लागि गत वर्ष बोलपत्र आह्वान गरिए पनि कसैले पनि बोलपत्र समावेश गरेनन्। यस वर्ष पनि पहिलो बोलपत्र कसैको पनि नपरेको अधिकारीको भनाइ छ। काम गर्न नसक्ने भए पछि ठेकेदार कम्पनीले मुग्लिनदेखि पिप्लामोडसम्मनै मर्मतका लागि बोलपत्र समावेश नगर्ने गरेको उनले बताए।

असुरक्षित वन्दै पैदलयात्री

गएका दुई महीनामा जिल्लाका विभिन्न सडकमा पैदल हिँडिरहेका ११ जनाको सवारीसाधनको ठक्करबाट मृत्यु भएको छ। सवारीकै ठक्करले नौ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार गत आर्थिक वर्षमा पैदल हिँड्दै गरेका ४१ को सवारीको ठक्करबाट मृत्यु भएको थियो। त्यस वर्ष ७९ घाइते भएका थिए।

यात्रीको आफ्नै कारण, चालकको लापरवाही र साँघुरा सडकका कारण पैदलयात्री असुरक्षित हुने गरेका गिरिको ठम्याइ छ। मदिरा सेवन गरेरबीच सडकमा हिँड्ने र जेब्राक्रसबाट बाटो नकाट्ने बढी दुर्घटनामा पर्ने गरेका छन्। यसैगरी मदिरा सेवन गरेर सवारी चलाउने चालक र मदिरा सेवन नगरेकै भए पनि जथाभावी सवारी हाक्नेका कारणले पैदलयात्री असुरक्षित बनेको गिरी बताउछन्।

साँघुरा सडकमा मानिस नदेखिएका कारण सवारीको ठक्करबाट मृत्यु भएको पनि पाइएको छ। गिरीका अनुसार पैदलयात्रा गर्दा मृत्यु हुनेमा धेरैजसो वृद्धवृद्धा हुने गरेका छन्। चालक र पैदलयात्री दुवै सचेत नभएसम्म यस्ता घटना रोक्न नसकिने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *