‘गुजारामुखी नभई समृद्धिका लागि कृषि’

डिसी नेपाल
१८ असोज २०७६ १६:१२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रविधियुक्त कृषि प्रणालीले मुलुकको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन्।

बर्दिवास नगरपालिकाअन्तर्गतको कृषि विकास बोर्डले नमूना कृषि गाउँ (मोडल एग्रो भिलेज) मा आयोजना गरेको वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै उनले अबको कृषि गुजारामुखी नभई विकास र समृद्धि प्राप्त गर्ने उद्देश्यको हुनुपर्ने बताए।

‘अब केही मन कोदो, केही धान वा केही अन्य बाली उब्जाएर गुजारा गर्ने कुराले दिन चल्दैन”, मन्त्री पोखरेलले भने, ‘विकास र समृद्धिको यात्रामा अघि बढ्न किसानले अब अत्याधुनिक कृषि प्रविधि अपनाउनुपर्छ।’

स्थानीय, प्रदेश र सङ्घीय सरकारका सारा प्रयत्न अहिले विकास र समृद्धिसँग जोडेर अघि बढाइएको उनको भनाइ छ।

उनले प्रत्येक काममा जनसहभागिता बढाउन नगरपालिका नेतृत्वसँग आग्रह गरे। ‘जनताको सहभागिता नभएका कार्यक्रम जतिसुकै राम्रा भनेर प्रचार गरिए पनि फ्लप हुन्छन्’, मन्त्री पोखरेलले भने, ‘त्यसैले योजना छनोट गर्दा होस् वा कार्यसञ्चालनमा होस् जनसहभागिता जुटाउन भरमग्दुर प्रयत्न गर्नुहोस्।’

वडा नं ६ किसाननगरमा पर्ने पश्चिमी रातु नदी उकास जग्गामा नगरपालिकाले कृषि कार्यक्रमअन्तर्गत नमूना कृषि गाउँ निर्माणको काम थालेको छ।

सो गाउँमा दुई हजार २०० आँप र लिचीका बिरुवा रोपिएका छन्। आज रोपिएका बिरुवामा रोप्नेको नाउँ लेखेर टाँसिएको छ। जुनसुकै बेला नमूना कृषि गाउँमा आइपुग्दा आफूले रोपेको बिरुवा रोप्ने आफैँले हेरचाह गर्न पाउन् भन्ने उद्देश्यले त्यस्तो गरिएको बर्दिवास कृषि विकास बोर्डका अध्यक्षसमेत रहेका नगरप्रमुख बिदुरकुमार कार्कीले बताए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *