दशैंमा मासु खाँदा यी कुरामा ध्यान दिनुहोस्

डिसी नेपाल
२० असोज २०७६ ११:१८

काठमाडौँ। नेपालीलाई राम्रैसँग दशैं लागि सकेको छ। महाअष्टमीको दिनदेखि मिलेसम्म घरमै खसी काट्ने नभए छिमेक या बजारबाट मासु ल्याउने काम समेत भइरहेको छ। रातो टिका र जमराको पर्व भनेर चिनिने दशैं मासु बिना टार्न हत्तपत्त नेपालीको मन मान्दैन।

तर धेरै मासु खाँदा केही कुरामा भने ध्यान पुर्याउन जरुरी छ। हुनत दसैँमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु धेरै छन्। तर दसैँमा मासु र अन्य खानेकुरा खाँदा होस नपुर्याए रमाइलो गर्न छोडेर अस्पतालको बासमा समेत पुग्नु पर्ने हुनसक्छ। खानपिनमा ध्यान नदिँदा धेरै सर्वसाधारण दशैंको बेला समयमा अस्पतालमा पुग्ने गरेको डाक्टरहरु बताउँछन् ।

खानपिनमा सामान्य ध्यान नदिँदा दशैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्राइटिसका बिरामीको संख्यामा उल्लेख्य वृद्धि हुने गरेको छ।

एकै पटक मनग्ये मासु पकाएर धेरै दिनसम्म खाँदा रोगलाई बढावा दिने सम्भावना हुन्छ । रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरालाई बढाउख्छ । दशैंमा मासु खाँदै नखानु भनेर रोक्न सकिँदैन, तर खाँदा सावधानी भने अपनाउनुपर्छ। बासी नखाने, सागसब्जी, गेडागुडी पनि खानामा समावेश गर्ने बरु कुखुरा, माछाको मासुलाई प्राथमिकता दिँदा राम्रो हुन्छ ।

क्यान्सरका बिरामीले खसीको मासु खाँदा हल्का उसिन्दै पकाएको थोरै मात्र खाने एवं पोलेको, डढेको वा धेरै भुटेको मासु खाँदै नखान डाक्टरहरु सल्लाह दिन्छन्। मधुमेह रोग विशेषज्ञ पनि दशैं त हो नि भनेर खसीको धेरै मासु एकै पटक नखान सल्लाह दिन्छन्।

एक छाकमा तीनरचार टुक्रा मात्र मासु खान, कोक, फेन्टाजस्ता पेय पदार्थ भन्दा पानीलाई प्राथमिकता दिन एवं हरियो तरकारीलाई खानामा समावेश गर्न डाक्टरको सुझाव हुन्छ । अनियन्त्रित खानपानले शरीरमा अतिरिक्त बोसो जम्मा भई मधुमेह मात्र नभई अन्य रोगलाई पनि बढावा दिने खतरा हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *