काठमाडौं आउनुअघि चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्री मोदीबीच के कुरा भयो?

डिसी नेपाल
२५ असोज २०७६ १६:५३

तमिलनाडु (रासस/एएनआई) । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच शुक्रबार भेटवार्ता भएको छ । भारतको चेन्नाईमा भएको दुई पक्षीय शिखर बैठकमा उहाँहरुबीच दुई पक्षीय व्यापार प्रबद्र्धनका बारेमा कुराकानी भएको अधिकारीले जनाएका छन् ।

दुई नेताको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा भारतका विदेश सचिव विजय गोखलेले उनीहरुबीच सरकारका प्राथमिकता र राष्ट्रिय दृष्टीकोणका बारेमा वार्ता भएको जानकारी दिए । उनले मोदी र सि बीचमा आर्थिक तथा व्यापारिक विषयमा पनि कुराकानी भएको बताए । उनीहरुले विकासका अन्य प्राथमिकताका विषयमा पनि छलफल गरेको विदेश सचिव गोखलेले जानकारी दिए । “व्यापारसम्वन्धी विषयमा उहाँहरुले छलफललाई बढी केन्द्रीत गर्नुभएको थियो,” उनले भने । दुई देशका लगानीका क्षेत्रको पहिचान गर्ने र लगानी प्रेरित गर्ने बारेमा उनीहरुले कुराकानी गरेको विदेश सचिव गोखलेले बताए ।

दोस्रो कार्यकालका लागि हालै प्रधानमन्त्रीमा पुनःनिर्वाचित भएका प्रधानमन्त्री मोदीले यो अवधिमा आपसी सम्वन्ध र सहकार्यलाई थप प्राथमिकतामा राख्ने पनि बताएको जनाइएको छ । “राष्ट्रपति सि चिनफिङसँग प्रधानमन्त्री मोदीले आफ्नो आगामी साढे चार बर्षको अवधिमा सबै विषयमा अझ नजिक रहेका काम गर्न चाहेको बताउनु भयो,” सचिव गोखलेले पत्रकारसँग भने ।

भारत भ्रमणका क्रममा चेन्नाइ पुगेका चीनका राष्ट्रपति चिनफिङले शुक्रबार स्थानीय सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक स्थलको अवलोकन गरेका छन् । धार्मिक तथा संस्कृतिक महत्वका स्थलमा उनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गराएका थिए । उनीहरुले पञ्चरथ, कृष्ण मख्खन पर्खाल, अर्जुनले तपस्या गरेको ठाउँ र शोर मन्दीरको भ्रमण गरेका थिए । शोर मन्दीरमा उनको स्वागतार्थ सांस्कृतिक कार्यक्रमसमेतको आयोजना गरिएको थियो । ती स्थलहरुको भ्रमणका क्रममा उनीहरुले अनौपचारिक कुराकानी गर्नुका साथै संयुक्तरुपमा फोटो पनि खिचाएका थिए ।

आफुले घुमाएका सांस्कृतिक तथा धार्मिक ठाउँहरुको बारेमा राष्ट्रपति चिनफिङ्लाई प्रधानमन्त्री मोदीले नै व्याख्या गरेर सुनाएका थिए भने भाषा अनुवादकले उनीहरुलाई सहयोग गरेका थिए ।

भ्रमणका क्रममा राष्ट्रपति चिनफिङ सेतो कमिज र कालो पाईन्टमा देखिएका थिए भने प्रधानमन्त्री मोदी स्थानीय तमिल नाडुको परम्परागत पोशाकमा थिए । तमिलनाडु दक्षिण भारतकै प्रमुख सांस्कृतिक, आर्थिक तथा शैक्षिक केन्द्र मानिन्छ । चेन्नाइ भारतीय राज्य तमिलनाडुको प्रान्तीय राजधानी हो । भेटवार्ता सकेपछि उनले नेपाल प्रस्थान गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *