हाइब्रिड जातको धानमा कालोपोकेको समस्या

डिसी नेपाल
११ कार्तिक २०७६ ९:४३

पर्वत। कुस्मा नगरपालिका–९ कटुवाचौपारीका कृषक हरि अधिकारीलाई अहिले हाइब्रिड जातको धान लगाएकामा पछुतो भएकोे छ। थोरै जमीनमा पनि धेरै उत्पादन हुने आशामा वर्णशङ्कर जातको धान लगाएका  उनको धानका बालामा कालो पोके नामक ढुसीको प्रकोप फैलिएको छ।

उनले भने,“धेरै फल्छ भनेर छिमेकीका अरूले झै मैले पनि अघिल्लो वर्षदेखि नै हाइब्रिड जातको बीउ लगाउँदै आएको थिएँ तर अहिले धानको बालामा कालो पोके मात्र छ।” कुटवाचौपारीका हरिजस्तै हाइब्रिड जातको धान लगाउँदै आएका जिल्लाका धेरै कृषक निराश छन्।

धान थन्क्याउने बेला हुनै लाग्दा यस्तो प्रकोप बढेपछि समस्या भएको फलेवास नगरपालिकाका कृषक विष्णुप्रसाद उपाध्यायले बताए। जिल्लाका विभिन्न स्थानका कृषकले धानमा सङ्क्रमण देखिएको भन्दै जानकारी गराएकाले कालो पोकोको सङ्क्रमण जिल्लाभर नै रहेको हुनसक्ने उनको भनाइ थियो।

उक्त नगरपालिकाको कटुवाचौपारी, वितलव, पकुवा, चुवा, आर्थरका साथै फलेवास नगरपालिकाको मुडिकुवा, देवीस्थान, शङ्करपोखरी जलजला गाउँपालिकाको मल्लाज, खनियाघाट, लेकफाँट मोदी गाउँपालिकाको तिलाहार, डिमुवा, गिजानलगायत अन्य गाउँपालिकामा पनि कालो पोकेको सङ्क्रमण देखिएको छ।

कृषि प्राविधिकका अनुसार यस वर्ष सबैजसो जातका धानमा कालो पोकेको सङ्क्रमण देखिए पनि यसबाट बढी असर परेकोे धानको जात चाँही वर्णशङ्कर हो। कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले आफूले कृषकको खेतमै गएर कालो पोकेको प्रकोपबारे अवलोकन गरेको बताए। “कृषकलाई मैले पटकपटक हाइब्रिड जातको पछाडि दगुर्नु राम्रो होइन, यहाँको वातावरणले त्यो जातलाई असर गर्छ भन्दै आएको थिएँ ।” उनले भने, “हाइब्रिडमध्येको वर्णशङ्कर जातमा सङ्क्रमण बढी देखिएको छ।

हाइब्रिड जातको धानको लागि आवश्यक पर्ने माटोको गुण, तापक्रम र अन्य वातावरण पर्वत जिल्लामा नभएको बताउँदै उनले आधुनिक तरिकाले स्थानीय बीउलाई नै मुख्य बालीका रूपमा लिन सुझाउनुभयो । हाइब्रिड जातले केही समय राम्रै उत्पादन भएको जस्तो देखिए पनि त्यसका लागि चाहिने वातावरण नमिल्दा कृषकलाई ठूलो मार पर्ने प्रमुख रेग्मीको भनाइ थियो।

प्राय युएस ३१२, एआरआइ जेडइ ६४४४, राधा डीवाइलगायत उन्नत जातमा पनि कालो पोकेको सङ्क्रमण देखिएको उक्त कार्यालयले तथ्याङ्कमा उल्लेख छ । स्थानीय रूपमा पाइने जेठो बुढो, पहेँले, एक्ले, गुडुरा, कनजिरा, विरम्फुलेलगायत जातमा भने यस्तो समस्या देखिएको छैन।

प्राविधिकका अनुसार स्थानीय हावापानी, माटो र तापमान सहन नसक्ने भएकाले उन्नत जातको धानमा यो रोग बढी मात्रामा लाग्ने गरेको छ । रात र दिनको तापक्रममा धेरै फरक हुने, पसाउने बेलामा वर्षा भइरहने र रासायनिक मलको बढी प्रयोगलगायत कारण यस्तो समस्या देखिने गरेको छ । कालो पोकेबाट सङ्क्रमित धान र पराल दुवै विषाक्त हुने भएकाले यस्तो धानको चामल खाएमा ‘फुड पोइजन’, झाडाबान्ता, पेट दुख्नेजस्ता समस्या हुनाका साथै पराल, ढुटो र कनिका खुवाएका पशुमा पनि पेटसम्बन्धी समस्या देखिने पशु चिकित्सक विमल पौडेलले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *