लक्ष्मी पूजाको दिन हिलापोखरीमा बिजुली बल्यो, स्थानियवासीमा खुसियाली

डिसी नेपाल
११ कार्तिक २०७६ ११:२२

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ हिलापोखरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र उक्त गाउँपालिकाको सहयोगमा हिलापोखरीमा विद्युत पु¥याइएको हो । साविक ताकम गाविसको वडा नं ७ मा पर्ने हिलापोखरीका ६५ घरमा आइतबार साँझदेखि बिजुली बलेको टोल सुधार समितिका अध्यक्ष राम्जी मल्लले जानकारी दिए ।

“लक्ष्मी पूजाको दिनमै बिजुली बाल्न पाउँदा खुशियाली छाएको छ”, मल्लले भने, “बिजुलीले गाउँ झिलीमिली भएको छ ।”
उज्यालोका साथै विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्न, मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, कम्प्युटर, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको छ । यसअघि हिलापोखरीमा इन्धनबाट जेनेरेटर चलाएर फर्निचर उद्योग सञ्चालन गरिएको थियो ।

स्थानीयवासीले खाना पकाउन दाउराको विकल्पमा विद्युतीय उपकरण प्रयोग गर्न थालेका छन् । यसअघि उनीहरूले उज्यालोका लागि पेल्ट्रिक सेट, सोलार र मट्टितेलको टुकी प्रयोग गर्दै आएका थिए । गत महीना साविक ताकम गाविसको ३, ४ र ५ नम्बर वडाका २२० घरमा बिजुली बलेको थियो । ताकम विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष प्रगति कार्कीका अनुसार साविक ६, ८ र ९ नम्बर वडाका थप ३०० घरमा तिहारलगत्तै विद्युत पु¥याउने तयारी भएको छ । धारापानीका २०१ घरमा गत वर्ष विद्युत पुगेकोे थियो ।

विद्युत् प्राधिकरणले केन्द्रीय लाइन विस्तार, पोल गाड्ने ट्रान्सफर्मर जडाने र ढुवानीको काम गरेको थियो । गाउँपालिकाबाट गत आर्थिक वर्षमा बिनियोजन भएको रु ८० लाखमध्ये ५७ लाख खर्चेर उपभोक्ता समितिले ८८ किलोमिटर तार खरीद गरेका थिए ।

उक्त गाउँपालिकामा विद्युत उपलब्ध गराउन सङ्घीय सरकारले गत वर्षरु चार करोड ५० लाख उपलब्ध गराएकामा ताकम, हिलापोखरी, शिवाङ, काफलडाँडा र मच्छिममा ४१७ वटा पोल गाड्ने, पाँच थान ट्रान्सफर्मर ढुवानी र करिब ६७ किलोमिटर मुख्य तथा सहायक लाइनको तार तानिएको प्राधिकरणको बेनी वितरण केन्द्रका इञ्जिनीयर हेमराज चापागाईंले बताए । ताकमका साथै मुना हँुदै लमसुङ र मुदी गाउँ नजिकैसम्म केन्द्रीय लाइनको पोल गाडेर तार तानिएको छ । यस वर्ष प्रदेश सरकारले उक्त गाउँपालिकाका लागि रु दुई करोड ८१ लाख विनियोजन गरेको थियो । मराङको ७५ घरमा पनि गत हप्ता उपलब्ध गराइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *