जुवाडेले हालेको बन्दी प्रत्यक्षीकरणको रिट काम लागेन, तिहारमा हिरासतमै बस्नुपर्ने

डिसी नेपाल
११ कार्तिक २०७६ १७:३१

काठमाडौं। शनिबार राति महाराजगञ्जको एक घरबाट जुवा खेल्दाखेल्दै पक्राउ परेका ६ जनाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा भाईटीकाको भोलिपल्टमात्र सुनुवाई हुने भएको छ । सोमबार दिउँसो ३ बजेसम्म प्रहरीले उनीहरुलाई सर्वोच्च अदालतमा उपस्थित नगराएपछि अदालत बन्द भई सुनुवाई बुधबारका लागि सरेको हो ।

सोमबार अदालत बन्द हुने समय ३ बजेसम्म प्रहरीले बन्दीलाई उपस्थित गराउन नसकेका कारण सुनुवाई नभएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । उनका अनुसार अब पर्सी सुनुवाई हुनेछ ।

महाराजगञ्जको होटल साम्बलाको पछाडिको घरबाट जुवाडेको एक समूह पक्राउ परेको थियो । पक्राउ परेका जुवाडेमध्ये क्यासिनो किङका रुपमा चिनिने गुण्डा नाइके बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने बिक्रम गौतम र मुक्ति लामाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

उक्त रिटमाथि आइतबार सुनुवाई गर्दै सर्वोच्चले २४ घण्टाभित्र बन्दीलाई उपस्थित गराउन प्रहरीलाई आदेश दिएको थियो । तर सोमबार प्रहरीले अदालतको समय घर्किसकेपछि मात्र बन्दीलाई अदालत पुर्‍याएको हो । अब पक्राउ परेकाहरु भाइटीकाको दिन प्रहरी हिरासतमै रहने भएका छन् ।

शनिबार राति प्रहरीले २५ जना जुवाडे पक्राउ गरेको थियो । उनीहरुको साथबाट प्रहरीले २ करोड, ६७ लाख रुपैयाँ नगद, बैंक अफ काठमाण्डूको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *