राष्ट्रियसभा अध्यक्षद्वारा लामो पुलको निरीक्षण

डिसी नेपाल
११ कार्तिक २०७६ २०:४५

गलकोट। रााष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बागलुङ–पर्वत जोड्ने मुलुककै लामो झोलुङ्गे पुलको आज निरीक्षण गरेका छन् । निर्माणाधीन नेपालकै लामो पुलको अवस्था बुझ्नका लागि आज बागलुङ आएका अध्यक्ष तिमिल्सिनाले पुलको निर्माण प्रगतिको बारेमा बुझेका थिए ।

उबले निर्माण कम्पनीले पाएको समयभन्दा अगावै पुल सम्पन्न गर्ने गरी काम गरेको भन्दै त्यसको प्रशंसासमेत गरेका थिए । पर्वत र बागलुङका जनतालाई सहज हुने गरी निर्माण थालिएको उक्त पुलको दुवैतर्फ भौतिक संरचना निर्माणको काम लगभग सकिएको र लठ्ठा तान्ने काम शुरु भएको भन्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा पनि तोकिएको समयअगावै काम सम्पन्न हुन्छ भन्ने उदाहरण निर्माण कम्पनीले देखाएको बताए ।

अध्यक्ष तिमिल्सिनाले पुल निर्माणसँगै पर्वत र बागलुङका जनतालाई उत्पादनशील वस्तु आयात निर्यातमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उनले पुललाई आउजाउका लागि मात्र नभएर कृषिजन्य उत्पादन साटासाटका लागि समेत प्रयोग गर्न सकिने धारणा राखे ।

निरीक्षणकाका क्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुल निर्माणका लागि आवश्यक लठ्ठा तान्ने मेसिन चीनबाट आइसकेकाले छोटो समयमै निर्माणको काम सम्पन्न हुने जानकारी गराएका थिए । पौडेलले दुवैतर्फ भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगी लठ्ठा तान्न बाँकी रहेको भन्दै करीब रु ६० लाख लागतमा लठ्ठा तान्ने मेसिन आइसकेकाले कामले तीव्रता पाएको बताए ।

सो अवसरमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल तथा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले दुवै नगरपालिका मिलेर उक्त पुललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । नगर प्रमुखद्वयले उक्त पुललाई आकर्षक बनाउन बत्ती जडानदेखि सम्पूर्ण कामहरु दुवै नगरपालिका मिलेर गर्ने बताउनुभयो ।

बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्ला कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भइरहेको झोलुङ्गे पुल ५६७ मिटर लामो र १३८ मिटरको उचाइको रहेको निर्माण कम्पनीले जनाएको छ । सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले रु छ करोड ९१ लाखको लागतमा ठेक्कामार्फत थानी, बिएलटी र हिमशिखर जेभी निर्माण कम्पनीले संयुक्तरूपमा पुल निर्माणको जिम्मा पाएको थियो । विसं २०७५ चैत्र ९ गते शिलान्यास भएको पुलको २०७७ असार मसान्तसम्म सक्नुपर्ने सम्झौता भए पनि शुरु गरेको एक वर्षमै सकिने गरी कामले तीव्रता पाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *