उपनिर्वाचनमा अन्तर्घात भए असह्य हुने– सभापति देउवा

डिसी नेपाल
११ कार्तिक २०७६ २२:२०

भक्तपुर। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने बताएका छन् । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आज दूधपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले गत चुनावमा जस्तो आगामी उपनिर्वाचनमा पनि पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने बताए ।

उनले पार्टी अब गुट उपगुटबाट माथि उठेर एकजुट हुनुको विकल्प नभएको बताए । आगामी उपनिर्वाचनलाई ‘मिनी जनमत’ सङ्ग्रहको सङ्ज्ञा दिँदै उनले जनमत काङ्ग्रेसतर्फ मोडिएको छ भन्ने सन्देश दिन र पार्टी एकताको सन्देश भक्तपुरबाट दिन कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा सभापति देउवाले जिल्ला कार्यसमितिले प्रकाशन गरेको ‘जय नेपाल स्मारिका २०७६’ को विमोचन गरे । पार्टीका जिल्ला सभापति दुर्लभ थापाले भक्तपुरमा पनि विकासका नाममा डोजर आतङ्क चलाइएको बताउँदै जनप्रतिनिधि जग्गा दलाल र भूमाफियासँग मिलेर धनी बन्ने अभियानमा लागेको आरोप लगाए ।

उपसभापति हरि नेपाल, सचिव निशान ढुङ्गेल, नेता मदनकृष्ण श्रेष्ठ, केदार खड्का, क्षेत्रीय सभापतिद्वय जीवन खत्री र नारायणभक्त खायमलीलगायतले आसन्न उपनिर्वाचनमा जित काङ्ग्रेसको पक्षमा ल्याउन सबै नेता कार्यकर्ता जनतासँग घुलमिल हुनुपर्नेमा जोड दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *