संगीतका तारिफयोग्य कार्यक्रमहरू र ‘पलेटी’

कपिल लोहनी
२३ साउन २०८३ ७:५१

गत हप्ता पलेटीको नियमित सांगीतिक प्रस्तुतिको क्रममा काठमाडौँमा वरिष्ठ गायक तथा हास्य कलाकार मदनकृष्ण श्रेष्ठको एकल कार्यक्रम प्रस्तुत गरिएको थियो। नेपाली समाजमा मदनकृष्ण श्रेष्ठ एक हास्य कलाकार वा गायक मात्र नभई समाज सुधारका प्रणेता र करोडौँ नेपालीका हौसलाका स्रोत पनि हुन्।

हाल उनी पार्किन्सन्स रोगसँग लडिरहेका भए पनि हिँड्दा होस् वा बोल्दा, कुनै पिर नमानी सकारात्मक सोचका साथ हामीलाई मुस्कुराउन बाध्य बनाउने अचम्मका मानिस हुन्। उनको जीवनको कलायात्रा गीत-संगीतबाटै सुरु भएको हुनाले उनी अझै पनि यो विधालाई निकै माया गर्छन्।

पिताबाटै गीत-संगीतमा लाग्ने प्रेरणा पाएका र युवावस्थादेखि काठमाडौँका डबली र रेडियो नेपालमा नेवारी गीत गाउन थालेका उनी केही समयअघि मात्र एक निकै मार्मिक गीत गाएर श्रोताहरूमाझ पुनः लोकप्रिय हुन पुगेका छन्।

पलेटी कार्यक्रमका सञ्चालक तथा वरिष्ठ संगीतज्ञ र गायक आभासका अनुसार निकै पहिले पनि मदनकृष्ण श्रेष्ठले पलेटी कार्यक्रममा गीत गाएका रहेछन्। यसपालि भने उनको उमेर र बिरामीका कारण छोरा यमनले उनलाई साथ दिएका थिए।

उनको कार्यक्रम हुने सूचना सार्वजनिक हुनेबित्तिकै पहिलो दिनको टिकट पूरै बिक्री भइसकेको थियो। मैले पनि बल्लतल्ल दोस्रो दिनको टिकट हात पार्ने मौका पाएँ।

केही वर्षपहिले यस्तो वृद्धावस्थामा अर्धाङ्गिनी गुमाउनुपरेको भए पनि मदनकृष्णले आफूलाई निकै सक्रिय राखेर र सकारात्मकताको प्रतीक भई खुसीसाथ नै जीवनयापन गरिरहेका छन्।

आजको समयमा विदेशमा बस्ने छोराछोरीहरूमध्ये अधिकांशले नेपालमा भएका वृद्ध बाबुआमाप्रतिको माया एकाध कमीज, स्विटर, जुत्ता र केही रकम पठाएर दर्साउने अनि बाबुआमाको अन्तिम स्वास निस्कने बेलामा वा यो जीवनबाट मुक्त भएपछि मात्र आएर विलाप गर्ने प्रवृत्ति छ।

तर मदनकृष्ण श्रेष्ठका छोराछोरी भने आमा बिरामी हुनेबित्तिकै नेपाल फर्केर आमाको स्याहारमा जुटे। यतिसम्म कि छोरा यमन र बुहारीले त १३ वर्ष बिताएको र कर्मथलो बनाएको अमेरिकालाई ‘बाइबाइ’ नै गरेर नेपालमा रहेका बुबाको रेखदेख र खुसीका निम्ति यतै बस्ने निधो गरे। उनका छोरा र छोरी दुवै जना सानैदेखि गीत-संगीत रुचाउने र यसैमा रमाउने खालका थिए।

यसपालिको कार्यक्रममा यमनले बुबासँगै झन्डै डेढ दर्जन गीत गाएर दर्शकहरूलाई सुनाए। मदनकृष्णले कुरा गरेजस्तै गरी निकै सहजताका साथ धेरै गीतहरू गाए। ती गीत र जीवनका अनुभवबारे आभासका प्रश्नहरूको निकै रोचक तवरले उत्तर दिए।

वरिष्ठ कलाकार नीर शाहले मदनकृष्णलाई उनकी पत्नी यसोदा सुवेदी श्रेष्ठलाई गुमाए पनि एक्लो जीवनयापन गर्ने इच्छा भएकाले सोही कुरालाई दर्शकसामु पुर्‍याउने एक ज्यादै रोचक र मार्मिक गीत रचना गरिदिएका रहेछन्।

मदनकृष्णले त्यो गीत गाउँदा उपस्थित सबै दर्शक स्तब्ध भएर सुनिरहे। झन् मजस्ता श्रीमती गुमाएर पनि एकल जीवनयापन गर्ने व्यक्तिलाई त त्यो गीतले भित्रैसम्म छोएको थियो।

यमनले विदेशमा बस्ने मानिसहरूले त्यहाँ गर्नुपर्ने रातदिनको मिहिनेत र कर्मबारेको निकै मर्मस्पर्शी गीत प्रस्तुत गरे। त्यस्तै मदनकृष्णले शब्द कोरिदिएको एक गीत सुन्दा सबै दर्शकको हाँसोको फोहरा बेस्सरी छुटेको थियो, साथै हामी नेपालीको कुरा काट्ने ज्यादै नराम्रो बानीमाथि गहिरो व्यङ्ग्य र प्रहार पनि थियो त्यो गीत। मदनकृष्ण श्रेष्ठले गाएका सयौँ गीतहरूमध्येका केही गीत त्यो कार्यक्रममा सुन्न पाउँदा उपस्थित सबै मन्त्रमुग्ध हुन पुगेका थिए।

हामीले सानैदेखि चिनेको सानो केटो यमन आज अर्धवैंशै भएर आफ्ना बुबाजस्तै प्रतिभावान् र स्थापित गायक तथा संगीतकार बनेको अनि बुबाले गीत गाउँदा, खोक्दा, भावुक हुँदा निकै माया र हेरविचारको भावले बाबातिर हेरिरहेको देख्दा मलाई आफ्ना त्यस्तै असल र ममतामयी छोराछोरीको याद आयो। मेरो छोरा कृपेश त त्यतिबेला मदनकृष्ण श्रेष्ठको कार्यक्रममा नै निकै दक्षताका साथ गिटारवादन गरिरहेको थियो।

नेपालमा आज भइरहेको भाँडभैलो र ‘भाइ फुटे गवाँर लुटे’को अस्तव्यस्त अवस्थामा मदनकृष्ण श्रेष्ठजस्ता अति नै आदरणीय र प्यारा व्यक्तिहरूको अभिभावकत्व नेपाली जनताले पाउनु ठूलो भाग्यको कुरा हो। कला र संगीतका भरमा जीवन बिताउने र अरूलाई खुसी तुल्याउने मानिस ईश्वरसरह नै हुन्छन्।

नेपालमा आजको दिनसम्म आइपुग्दा गीत-संगीतको विधाले ठूलै फड्को मार्न सफल भएको छ। खास गरी वि.सं. २००७ सालपछिको नयाँ युगको प्रारम्भसँगै नेपाली गीत-संगीतले निकै नै विकास गर्ने मौका पाएको हो। राणाशासनताका संगीत दरबारको पेवाजस्तो मात्र थियो।

वीरशमशेरले भारतका विभिन्न ठाउँहरूबाट गवैयाहरू बोलाएर संगीतको ठूलै महफिल आयोजना गरेका थिए र उत्कृष्ट कलाकारहरूलाई आकर्षक पुरस्कार पनि दिएका थिए।

राणाशासनको समय र त्यसपछि पनि लामो समयसम्म नेपालका विभिन्न मठ-मन्दिरमा हुने भजन-कीर्तनमा सहभागी भएर धेरै राम्रा कलाकारहरूले लोकप्रियता हासिल गरेका थिए।

प्रजातन्त्रको उदयसँगै रेडियो नेपाल सशक्त हुँदै गयो भने रेडियोमार्फत आफ्ना प्रतिभा उजागर गर्न चाहनेहरूको संख्या पनि बढ्न थाल्यो। विभिन्न स्थानका लोकगीत संकलन गरेर रेडियोमा गाउने, भजन, आधुनिक गीत र राष्ट्रिय गीतहरूको रचना गर्ने, संगीत भर्ने र गाउने कार्यले पनि त्यसपछि तीव्रतातका साथ अघि बढ्ने अवसर पायो।

संभ्रान्तदेखि गीत-संगीतप्रेमीहरूले विभिन्नथरी गीतहरूको रचना गर्ने कामलाई तीव्रता दिए। त्यस्तै सुरुमा भारतमा प्रचलित पूर्वीय संगीतबाट बढी प्रभावित नेपाली संगीतमा नेपालकै मौलिक धुन तथा आफ्नै प्रकारको संगीत सिर्जना गर्ने काम पनि हुन थाल्यो।

विभिन्न प्रकारका संगीतको अध्ययन र श्रवण गरेकाहरूले त पूर्वीय, नेपाली मौलिक र पश्चिमा संगीतबाट पनि नेपाली संगीतलाई मलजल गरे। नेपालकै स्रष्टाका साथै नेपाली गीत-संगीतको विकासमा भारतका दार्जिलिङ र आसामजस्ता कलाका धनी क्षेत्रमा बस्ने प्रवासी नेपालीको पनि ठूलो योगदान रहेको छ।

एफ.एम. रेडियो, टेलिभिजनका विभिन्न च्यानलहरू तथा युट्युबजस्ता विद्युतीय सामाजिक सञ्जाल, साना-ठूला सांगीतिक कार्यक्रम, स्वदेश तथा विदेशमा हुने सांगीतिक भ्रमण र विभिन्न रेकर्डिङ स्टुडियोहरूले पनि नेपाली संगीतको विकासमा निकै मद्दत पुर्‍याएका छन् भने कलाकारको जीवनस्तर पनि उत्तिकै उठ्दै गएको छ।

संगीतको इतिहासमा बढी घोत्लिनुभन्दा पनि यो पटक हामी हाल आएर नेपाली गीत-संगीतलाई बढावा दिइरहेका केही संस्था र त्यहाँ आयोजना भएका केही कार्यक्रममा नै केन्द्रित रहौँ जस्तो लागेको छ।

केही दशकअघिसम्म सांस्कृतिक संस्थान र तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले संगीतको विकासमा निकै योगदान पुर्‍याएका थिए। प्रज्ञा-प्रतिष्ठानले प्रत्येक वर्ष गीत-संगीत, नाट्य र नृत्य विधामा पारिश्रमिक उपलब्ध गराउँदै तालिम दिने पनि गरेको थियो।

मैले पनि वरिष्ठ संगीतकार अम्बर गुरुङ र दीपक जंगमसँग प्रज्ञा-प्रतिष्ठानमा दुई वर्ष गीत-संगीतको प्रशिक्षणमा बस्ने र पछि पनि अम्बर गुरुङको चेलाका रूपमा सिक्ने मौका पाएको थिएँ।

तर २०४६ सालको प्रजातान्त्रिक जनआन्दोलनपछि भने हल्का रूपमा कार्यकर्ता भर्तीकेन्द्र बन्दै गएर दोस्रो जनआन्दोलनपछि त यी संस्थाका उच्च ओहदामा समेत अधिकांश बेकम्मा झोलेहरू आसिन हुन पुगे।

अनि गीत-संगीत र अन्य कलाको विकासमा यी संस्थाको देन कम हुँदै नगण्य नै हुन गयो। हाल हलको भाडा पनि निकै महँगो गरेर यी संस्था व्यावसायिकतामा बढी केन्द्रित भएका छन्। तर यी संस्थाले मुनाफा कमाए पनि देखाउने गरेका छैनन्; आम्दानी जति बाँडीचुँडी भागबन्डा हुन्छ होला।

२०४० को दशकमा रत्न रेकर्डिङ संस्थानले आयोजना गर्ने ‘प्रतिभाको खोजी’ र नेपाल टेलिभिजनले आयोजना गर्ने ‘प्रतिभाको डबली’ले पनि धेरै नयाँ अनुहारहरू नेपाली गीत-संगीतको क्षेत्रमा जन्माउन सफल भएका थिए।

त्यस्तै विभिन्न टेलिभिजन र सञ्चारमाध्यमले आयोजना गर्ने गायन र संगीतका राष्ट्रिय प्रतियोगिताहरूले पनि नयाँ प्रतिभाहरू जन्माएका छन्। त्यतिबेला र हाल पनि पुरस्कृत भएका तथा लोकप्रिय हुन सफल भएका कलाकारहरू निकै स्थापित भएका छन्।

एकल साँझको आयोजना गरेर पनि विभिन्न ठूला कलाकारका जीवनभरको मिहिनेतलाई प्रस्तुत गर्ने अवसर प्रदान भइनै रहन्छ। २०४० को पूर्वाद्र्धमा आयोजित नारायण गोपालको एकल प्रस्तुतिको साँझले प्रज्ञा भवन निकै गुञ्जायमान भएको थियो भने नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको सोही कार्यक्रमपछि त्यतिबेलाका युवाहरू र नारायण गोपालका लाखौँ फ्यानहरू-जसले उनको गायकी प्रत्यक्ष देख्न पाएका थिएनन्-ती सबै ज्यादै खुसी भएका थिए। यसरी नारायण गोपालको लोकप्रियता झन् बढेको थियो।

त्यस्तै समयतिर नेपाल टेलिभिजनको एक वार्षिकोत्सवमा सिंहदरबार परिसरमा अरुणा लामाको पनि एकल गायन कार्यक्रम आयोजना भएको थियो। त्यो कार्यक्रम पनि अविष्मरणीय नै रह्यो। दुर्भाग्यवश, यी कार्यक्रम नै यी स्रष्टाहरूका अन्तिम कार्यक्रम हुन पुगे।

त्यसरी नै प्रसिद्ध गायक फत्तेमानले पनि आफ्नो एकल कार्यक्रम भव्य रूपमा प्रस्तुत गरेपछि उनको निधन हुन पुगेको थियो। भनाइको तात्पर्य, जीवनभरको मिहिनेतको प्रस्तुति गर्न पाएर नै यी कालजयी गायकहरूले मोक्ष प्राप्त गरेका थिए।

बेलाबेलामा आयोजना हुने यस्ता एकल कार्यक्रमहरूले गर्दा नेपालको गीत-संगीत क्षेत्रको विकासमा ठूलो योगदान पुग्दै आएको छ। तर हिजोआज यस्ता कार्यक्रमको आयोजना गरिदिने आयोजकहरूको ज्यादै कमी भएको महसुस भएको छ।

सरकारी स्तरबाट कार्यक्रमहरू आयोजना हुन छोडिसकेको र निजी तवरले गर्न ठूला हलहरू र अन्य प्रचारप्रसारका माध्यमहरू महँगिँदै गएकाले जोकोही संस्थाले यस्तो काममा हात हाल्न नसक्ने अवस्था सिर्जना भएको छ। संगीतकै नाममा खुलेका संस्थाका कतिपय मानिसहरू व्यक्तिगत तवरले पैसा कमाउने उद्योगमा नै तल्लीन छन्।

हालै स्थापित मीरा राणा क्यान्सर समाजले भने क्यान्सरबाट पीडित कलाकारहरूको सहयोग गर्ने हेतुले एक बृहत् कोषको स्थापना गर्नका निम्ति केही समयपछि प्रज्ञा भवनमा ‘मीरा राणा एकल साँझ’को आयोजना गर्न लागेको छ।

केही समयअघि पनि नेपालका ख्यातिप्राप्त गायिकाहरू तारा थापा, ज्ञानु राणा, तीर्थकुमारी, गायक दीपक खरेल आदिका एकल प्रस्तुति भव्यताका साथ आयोजना भएका थिए।

गायकहरूको साझा संस्था ‘समसामयिक गायक समाज’को स्थापना भएको केही वर्ष भयो। यो संस्थामा म अध्यक्षका रूपमा र गायिका लोचन भट्टराई उपाध्यक्षका रूपमा कार्यरत छौँ। नेपालका ख्यातिप्राप्त कलाकारदेखि नयाँ कलाकारसम्म यो संस्थामा आबद्ध हुँदै सदस्य हुने क्रम जारी छ।

छोटो समयमा पनि यो संस्थाले आर्थिक रूपमा कमजोर हुँदाहुँदै समेत धेरै स्रष्टाहरूलाई सम्मान र अभिनन्दन गर्नुका साथै विभिन्न सांगीतिक कार्यक्रमहरूको आयोजना गरिसकेको छ।

हालै एक जना पुस्तक प्रकाशक, कवि, रचनाकार, रेडियो कार्यक्रम उद्घोषक तथा संगीतका पारखी युवा भूपेन्द्र खड्काले आफ्नो पहलमा एक मासिक सांगीतिक कार्यक्रमको सुरुवात गरेका छन्।

आफ्नै हलको बन्दोबस्त हुन बाँकी भए पनि उनले हालै शिल्पी थिएटरमा दीप श्रेष्ठको एकल गायन कार्यक्रम आयोजना गरे र यो महिना सत्य-स्वरूप आचार्यको कार्यक्रम आयोजना गर्न लागेका छन्।

भूपेन्द्रले नारायण गोपालको जीवनबारेको यथार्थ पुस्तक ‘स्वरसम्राट’ पनि प्रकाशन गरेका छन्। यसरी विभिन्न कालजयी स्रष्टाहरूको जीवनबारे ज्ञानवर्द्धक पुस्तक बजारमा आउन थालेका छन्।  केही समयअघि नेपालको सर्वाधिक चर्चित ब्यान्ड ‘नेपथ्य’बारेको पुस्तक नेपालय प्रकाशन गृहले बजारमा ल्याएको छ।

तर एकाध अल्पशिक्षित तर कुरा गर्न खप्पिस तथाकथित लेखकहरूले नारायण गोपाललगायत केही नामुद स्रष्टाका बारेमा कपोलकल्पित कुरा लेखेर तथा त्यस्ता भौतिक रूपले परलोक भइसकेका अमर स्रष्टा आफ्ना मित्र भएको झुटा कुरा प्रसार गर्दै पुस्तक प्रकाशन गर्ने र अन्तर्वार्ता दिने गरेको देख्दा कहिलेकाहीँ कस्तो समाजमा जन्म लिइएछ-जहाँ जसले जे बोले/गरे पनि हुने र समाजका अधिकांश सोझा मानिसहरूले जे पनि पत्याउने भनेर दिक्क लाग्छ।

विगत २१-२२ वर्षदेखि राजधानीको एक कला तथा संगीतप्रेमी संस्था विभिन्न लोकप्रिय कलाकारका गीत-संगीतको प्रस्तुति गर्दै लोकको प्यास मेटाउन लागिपरिरहेको छ। माथि उल्लेख गरिएजस्तै ‘पलेँटी’का नामले चर्चित सांगीतिक कार्यक्रमको प्रस्तोता ‘आर-शाला’ले प्रत्येक महिना दुई दिनसम्म गीत-संगीत क्षेत्रका हस्तीहरूको एकल कार्यक्रमको आयोजना आफ्नै व्यवस्थित परिसरमा गर्दै आएको छ।

अब त यही संस्थाले कवि तथा साहित्यकारका रचनाबारे प्रत्येक महिना चर्चा र अन्तर्क्रिया गर्ने कार्यक्रम पनि सुरु गरेको छ। एउटै छातामुनि ‘नेपालय’ नामक पुस्तक प्रकाशन गृह, ‘आर-शाला’ नामक गीत-संगीतको उत्थान गर्ने संस्था र नेपालको सबैभन्दा ठूलो सांगीतिक ब्यान्ड ‘नेपथ्य’लाई नेपालका कुनाकाप्चाका मौलिक गीतहरू खोजेर त्यसमा पूर्वीय र पश्चिमा धुन अनि बाजाको सम्मिश्रण (फ्युजन) गरी विश्वभर प्रचारप्रसार गर्ने संस्थाका रूपमा विकास गर्ने निकै प्रशंसायोग्य काम भइरहेको छ।

यो कार्यमा धेरै स्रष्टा तथा विशेषज्ञता प्राप्त व्यक्तिहरूको सहभागिता रहेको भए पनि मुख्य नेतृत्व प्रदान गर्ने भूमिका भने प्रतिष्ठित व्यावसायिक घरानामा जन्मे-हुर्केका प्रखर व्यक्ति किरणकृष्ण श्रेष्ठको रहेको छ।

पूर्वको इटहरीमा संगीतकार राजु केसीको पहलमा ‘संगीत साधना प्रतिष्ठान’को स्थापना भएदेखि सो भेगका स्कुले विद्यार्थीदेखि युवाहरूसम्मलाई संगीतको प्रशिक्षण दिने र नियमित रूपमा गीत-संगीतको कार्यक्रम आयोजना गरिरहने काम भइरहेको छ। यस्तै प्रतिष्ठानहरू मुलुकका अन्य ठाउँहरूमा पनि छन्।

गीत-संगीतको विकास र कलाकारको हितमा विनास्वार्थ काम गर्ने यस्ता संस्थाको जन्म मुलुकभर नै हुनु जरुरी छ। यसरी व्यक्तिगत फाइदाबाट टाढा रहेर स्रष्टा, समाज र राष्ट्र सबैको हितमा काम गर्ने सबै व्यक्ति तथा संस्थालाई सलाम छ!

(लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज र समसामयिक गायक समाजका अध्यक्ष हुन्।)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *